काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । गत आइतबारदेखि ओरालो लागेको नेप्सेले यस सातापनि सोही लय कायम राखेको छ । गतसाता ११२ अंकले घटेको नेप्से आज पनि दोहोरो अंकले घटेको छ ।
गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको थियो । लगानीकर्ताले सेयर धितो कर्जाम लगाइएको १२ करोडको सीमा हटाउन र जोखिमभार घटाउन माग गरे पनि राष्ट्र बैंकले सुनुवाई नगरेपछि नेप्से लगातार घटेको हो ।साथै, पछिल्लो समय देखिँदै गएको राजनीतिक अस्थिरताको परिदृश्यले समेत बजारमा प्रभाव पारेको छ ।
सोमबार नेप्से २३.६० अंकले घटेर २०४६.८१ विन्दुमा आइपुगेको छ । यसदिन २५८ कम्पनीको १ अर्ब ९४ करोड रुपैयाँ बढीको ९० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये व्यापार र म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.३२ प्रतिशतले घटेको छ ।
आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै २१ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, साल्ट ट्रेडिङ ११ करोड र जीवन विकास लघुवित्त ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले घटेको बजारमा आज जीवन विकास लघुवित्तका सेयरधनीले सर्वाधिक ९.१५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, उपकार लघुवित्त ७.२१, हिमालयन डिस्ट्रीलरी ५.२१, वीन नेपाल लघुवित्त ५, समिट लघुवित्त र बाराही हाइड्रोपारको सेयर मूल्य साढे ४ प्रतिशत घटेको छ ।