काठमाडौं । चन्द्रगिरि हिल्स प्रालिको वित्तीय अवस्थामा सुधार हुँदै गएको छ । लामो समयदेखि घाटामा संचालन हुँदै आएको कम्पनी चालु वर्षदेखि लगातार नाफामा जान थालेको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ५ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार पुससम्म ५ करोड १४ लाख खुद नाफा कमाएको छ ।
जबकी गत वर्ष सोही अवधिमा कम्पनी ५ करोड ८० लाख रुपैयाँ नोक्सानीमा थियो । पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो ।
समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ५१.०३ प्रतिशतले बढेर ३५ करोड ७८ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन आम्दानी २८ करोड ९२ लाख रुपैयाँबाट बढेर ४० करोड ४२ लाख रुपैयाँ पुगेको छ भने अन्य आम्दानी १४०.४४ प्रतिशतले बढेको छ ।
हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३४ करोड २९ लाख रुपैयाँल ऋणात्मक छ ।
नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा चन्द्रागिरिको प्रतिसेयर आम्दानी ३.३६ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ०.३८ रुपैयाँ ऋणात्मक थियो।
कम्पनीको प्रतिसेयर नेटवर्थ ७७.६४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३८८.५४ गुणा छ ।