काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ११.५६ प्रतिशतले बढेको छ ।
लघुवित्तले चालु आवको पुस मसान्तसम्ममा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड ७६ लाख रुपैयाँ बढी हो । लघुवित्तले गत वर्षको पहिलो त्रैमासमा ४९ करोड ८४ लाख खुद नाफा कमाएको थियो ।
छिमकले कमाएको नाफा हाल संचालनमा रहेका लघुवित्तमध्ये सबैभन्दा धेरै हो । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा लघुवित्तको नाफामा सुधार आएको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६७ प्रतिशत बढेर १ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १२.६ प्रतिशतले बढेर ७१ करोड १९ लाख पुगेको छ ।
हाल २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको सेयर प्रिमियममा ४ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ७० करोड र जगेडा कोषमा २ अर्ब २८ करोड रुपैयाँ संचित छ । यस अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४३ करोड ३७ लाख रुपैयाँ छ ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४७.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.७२ गुणा र खराब ०.९४ प्रतिशत छ ।