आफ्नै संघ/संस्थाका कारण कमजोर हुँदै निजी क्षेत्र

मुलुक संघीय संरचनामा गइसकेपछि नेपालको निजी क्षेत्रले राजनीतिक दलका नेता र सरकारसँग बारम्बार एउटै माग गर्दै आयो, ‘संघीयताको भार निजी क्षेत्रको थाप्लोमा मात्रै नपारियोस् ।’

 

तिनै तहको सरकार गठन हुँदै गर्दा निजी क्षेत्रका छाता संगठनहरूले दोहोरो-तेहोरो कर नउठाउन सरकारहरूलाई सुझाव दिए । तर, स्थानीय सरकारले धमाधम विभिन्नखाले अतिरिक्त कर उठाउन थाले ।

 

सङ्घीय सरकारले चालु आर्थिक वर्ष २०७५/७६ को बजेट निर्माण गर्दैगर्दा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले करका कुनै पनि दर नबढाउन आग्रह गरे । तर, निजी क्षेत्रको माग तथा सुझावको ठीक विपरीत सङ्घीय सरकारले करका दरहरूमात्रै बढाएन, उद्योगले पाउँदैआएको भ्याट फिर्तालाई पनि कटाैंती गरिदियो ।

 

सङ्घीय सरकारको पहिलो सङ्घीय बजेटले उद्योगी/व्यवसायीका मागलाई उपेक्षामात्रै गरेन, सहकारीलाई उच्च प्राथमिकता दिँदै निजी क्षेत्रलाई हतोत्साही पनि गरायो ।

 

पछिल्लो समय सरकारले आर्थिक मुद्दासँग जोडिएका कुनै पनि विषयमा निजी क्षेत्रसँग गम्भीर भएर सल्लाह/सुझाव लिन छाडेको छ । अझ भनौँ, सरकारले निजी क्षेत्रलाई सुन्न छाडेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ को बजेट आईसकेको छ । निजी क्षेत्रले बजेट वाचनको दिन निकै उत्साहका साथ समर्थन गरेको बजेट बिस्तारै आर्थिक अध्यादेशमा भएका व्यवस्था पछि व्यवसायीहरुले ठगिएको महशुस गरे । यद्यपी निजी क्षेत्रका संघ-संस्थाले भने बजेटको सर्मथन गरे ।

 

माथिका दृष्टान्त निजी क्षेत्रका माग र सुझावलाई सरकार र राजनीतिक दलले लत्याएका केही उदाहरणमात्रै हुन् । पछिल्लो समय सरकारले आर्थिक मुद्दासँग जोडिएका कुनै पनि विषयमा निजी क्षेत्रसँग गम्भीर भएर सल्लाह/सुझाव लिन छाडेको छ । अझ भनौँ, सरकारले निजी क्षेत्रलाई सुन्न छाडेको छ । प्रधानमन्त्री र मन्त्रीहरू निजी क्षेत्रलाई मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो त भन्छन्, तर व्यवहारमा त्यस्तो देखिँदैन । आखिर किन ? किन सरकारले निजी क्षेत्रलाई सुन्न छाडेको, किन निजी क्षेत्रका सुझाव र मागलाई लत्याएको ? यसको सजिलो उत्तर छ निजी क्षेत्र कमजोर भएर ।

 

आफैँ भित्रको राजनीति, व्यक्तिगत र समूहगत व्यावसायिक स्वार्थ र बाह्य राजनीतिले निजी क्षेत्रलाई गाजेको छ । ‘निजी क्षेत्र कमजोर भएकै कारण उसका जायज माग तथा सुझावको सुनवाई नभएको हो । अर्को महत्वपूर्ण कुरा निजी क्षेत्रका माग तथा सुझाव पनि संस्था र व्यक्ति नै पिच्छे फरक भएको कारण सरकारले सुन्न र टेर्न छाडेको हो ।

 

नीति निर्मातालाई दिग्भ्रमित बनाउने विषयले अन्तत निजी क्षेत्रलाई नै कमजोर बनाउने छ ।

 

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलोपटक महिला अध्यक्षका रुपमा भवानी राणा, नेपाल चेम्बर अफ कमर्शमा सदावहार नेतृत्वकर्ता राजेशकाजी श्रेष्ठ । सीएनआईको अध्यक्ष सतिश मोर रहेका छन् । तीनवटै छाता संगठन औपचारिकरुपमा महासंघ, चेम्बर र परिसंघ सङ्घीय संरचनामा गएका छन् । छाता संगठनका संरचना र नेतृत्वमा फेरबदल आयो, तर व्यवहार उस्तै । संरचना र संगठनात्मकरुपमा परिवर्तन भएका छाता संगठनहरू व्यवहारमा उस्तै रहे, फेरिएनन्, एक भएनन्, राजनीतिमा गाँजिइरहे, व्यक्ति र समूहगत स्वार्थलाई निरन्तरता दिए, फलस्वरुप निजी क्षेत्र झन् कमजोर हुँदै गएको छ ।

 

एउटै स्वर कहिले ?

हरेक अर्थमन्त्रीले निजी क्षेत्रलाई सामूहिक सुझाव तथा माग पेश गर्न आग्रह गर्ने गरेका छन् । तर, बजेटअघि र पछिका छलफल कार्यक्रममहरू विषय एउटै भए पनि भिन्नभिन्नै संस्थाले भिन्नभिन्नै मिति र स्थानमा गर्ने गर्छन् । जबसम्म निजी क्षेत्रको स्वर एउटै जाँदैन, तबसम्म सुन्ने निकायले त्यसलाई राम्रोसँग ग्रहण गर्दैनन् भन्ने देखिदै आएको छ । यसरी नीति निर्मातालाई दिग्भ्रमित बनाउने विषयले अन्तत निजी क्षेत्रलाई नै कमजोर बनाउने छ ।

 

तथ्यांकको खडेरी

अहिले यो देशमा कतिवटा उद्योग चलिरहेका छन् ? कतिले रोजगारी पाइरहेका छन् ? ती उद्योगको वास्तविक अवस्था के-कस्तो छ ? यस्ता प्रश्नको जवाफ निजी क्षेत्रका कुनै पनि छाता संगठनसँग छैन । सरकारसँग मात्रै होइन, निजी क्षेत्रसँग समेत अद्यावधिक तथ्यांकहरू छैनन् । भोलिका दिनमा के हुनसक्छ ? कस्तो समस्या आउँदैछ ? अनुमान र भविष्यवाणी गर्ने अनुसन्धानसमेत निजी क्षेत्रले गर्ने गरेको देखिँदैन । खासगरी निजी क्षेत्रसँग अनुसन्धान र विकास गर्ने संस्कार नहुँदा निजी क्षेत्रका कतिपय मुद्दा, माग र सुझाव नै फितलो हुने गरेको छ । महासंघ चुनावताका उम्मेदवारहरूले अनुसन्धान र विकासका लागि पहल गर्ने घोषणा गर्छन् तर जितेपछि त्यसमा कुनै चासो हुँदैन ।

 

निजी क्षेत्रको अर्को कमजोरी विज्ञ टिम नबनाउनु हो । त्यसैले निजी क्षेत्रले दिने सुझाव तथा मागलाई सरकारले व्यक्तिगत वा व्यावसायिक स्वार्थका रुपमा लिने गरेको छ । निजी क्षेत्रले भन्दा पनि विज्ञ समूहले दिएका सुझावलाई सरकारले सहजै स्वीकार्न सक्ने सम्भावना रहन्छ । यही कुरालाई मनन गरेर परिसंघले विज्ञ समूह गठन गरेको भएपनि अन्य दुई संस्था महासंघ र चेम्बरसँग यस्तो समुह अहिलेसम्म छैन ।

 

अन्त्यमा

अहिलेसम्म निजी क्षेत्रले आफ्नो आधिकारीक धारण बनाउन नसक्नुले यस्ता संघ संस्थाको हैसियत कमजोर बनाएको छ । बेलाबखत आउने भन्सार, चिनी उद्योग, सुपारी, मेडिकल कलेज, कर, बैंक व्याजदरलगायतका विषयमा तथ्यपरक भएर आफ्नो अडान लिन नसक्दा यी संस्थाहरुको साख बढ्नुको साटो घट्दै गएको छ ।

 

यस्ता थुप्रै अनुत्तरित प्रश्नको तथ्यपरक जवाफ दिनसक्ने भएमा मात्रै निजी क्षेत्र बलियो हुन्छ । यस्ता संवेदनशील विषय, विवाद र चासोलाई तथ्यपरक भएर आफ्नो अडान लिन नसक्ने हो भने निजी क्षेत्र सधैँ कमजोर नै भइरहन्छ ।

सिन्धुलीमा पहिलो वायु–सौर्य उर्जा प्रणालीबाट बिद्युत उत्पादन सुरू Read Previous

सिन्धुलीमा पहिलो वायु–सौर्य उर्जा प्रणालीबाट बिद्युत उत्पादन सुरू

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट Read Next

ओपीसी सिमेन्टमा जमेपछि अर्घाखाँचीले ल्यायो पीपीसी सिमेन्ट