भीसीटीएस, ढुवानीमा भ्याट, प्यानको विरोध र डिजेलमा भ्याट फिर्ता नदिने निर्णय खारेजीको माग राखेर उद्योगी ब्यवसायीहरु आन्दोलनमा थिए । अर्थमन्त्रालयले छलफलका लागि बोलायो र २ घण्टा छलफल भयो ।
मन्त्रालय जानुअघि उनीहरु आक्रमक थिए । सरकारले ल्याएको कानुन अव्यावहारिक भएको उनीहरुको निष्कर्ष थियो । तर, त्यहाँ पुगेपछि उनीहरुले माथी उल्लेखित सरकारका निर्णयहरु खारेजीको माग राखेनन् । र, आफ्ना आन्दोलनका मागहरुमा अर्थमन्त्री सामु खासै अडिग हुनपनि सकेनन् । बरु, उनीहरुले केही हदसम्म सरकारी निर्णयको प्रशंसा नै गरे ।
यो घटनालाई कसरी हेर्ने ?
सामान्य प्राविधिक ढंगले र ‘सन्तुलित’ भएर विश्लेषण गर्दा नेपालमा सामान्यत राज्यले नीति नियमको तर्जुमा गर्दा सरोकारवाला निकायसँग खासै छलफल गर्दैन । पहिले निर्णय गर्छ अनी त्यसका बहुआयामिक पक्षहरुका बारेमा विवेचना गर्छ र पछि सच्याउँछ । यी माथीका निर्णयहरुको कार्यान्वयनका लागि पनि ब्यवहारिक जटिलताहरु छन् ।
यस्ता जटिलताहरु नफुकाई किन निर्णय गरिहालेको ? उदाहरणको लागि, इन्टरनेटको पूर्वाधार तयार भएको छैन, जसले गर्दा माथीको निर्णय कार्यान्वयन गर्दा समग्र आपूर्ती प्रणाली मै प्रतिकुल असर पर्न सक्छ । अनी दैनिक ज्यालादारीका लागि प्यान लागू गर्नु हास्यास्पद छ । त्यस माथी अर्थमन्त्रीको ‘एरोगेन्ट’ र तुष पाल्ने व्यवहारलाई पनि दोष दिन सकिएला ।
यही घटनालाई सरकारी तर्फबाट हेर्दा उसले अवलम्बन गरेका नीतिहरु सैद्धान्तिक तहमा उपयुक्त छन् । केही व्यवहारिक जटिलता मात्र हुन् । त्यसका लागि त सबै सरोकारवालाहरुले सहयोग गर्नु पर्यो नी । अनी उद्योगी व्यवसायीहरुलाई यदि आफ्नो आन्दोलनको माग सहि लाग्छन् भने त्यसको बचाउ गर्न सक्नु पर्यो नी । बोल्ने ठाउँमा नबोले पछि बाहिर कराउँदैं हिँड्नुको के अर्थ छ ?
आगामी ५० वर्षका लागि समेत अद्भुत ढंगले ब्यवस्थापनको योजना बनाएका कारण सिङ्गापुरलाई अहिले विश्व कै ‘भविष्यको’ सहर भनिन थालेको छ ।
तर, यो सामान्य प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरु हरेक दिन विभिन्न तह र रुपमा घटित भइरहेका छन् समाजमा, जसले राज्यले नीति नियम तर्जुमा गर्ने सन्दर्भमा देखाउने आधारभूत व्यवहार र उद्योगी व्यवसायीहरुले त्यस प्रति प्रकट गर्ने प्रतिक्रियाको स्वरुपले यी दुवैको चरित्र र हैसियत उजागर गरिरहेका छन् ।
चरित्र र हैसियत एकै रात वा छाकमा विकास वा निर्माण हुने होइनन् । यसको लामो विकास श्रृङखला हुन्छन् । र, त्यस श्रृङखलामा ऐतिहासिक, राजनीतिक, सामाजिक र आर्थिक आयामहरु जोडिएका हुन्छन् ।
नेपाल राज्यको चरित्र
प्रसंग बदलेर एकछिन सिङ्गापुर तर्फ लागौं अनी फेरी नेपाल फर्कौंला ! नेपालले केही दशक अघि सिङ्गापुर जस्तै बन्ने रहर गरेको थियो । सिंगापुर अत्यन्तै सानो भूगोल तर, करिब ५० लाख जनसंख्यालाई हरेक दृष्टिकोणले अदभूत ढंगले ब्यवस्थापन गरेका कारण नेपालका तत्कालिन नेताहरु सिङ्गापुरसँग लोभिएका होलान् ।
आगामी ५० वर्षका लागि समेत अद्भुत ढंगले ब्यवस्थापनको योजना बनाएका कारण सिङ्गापुरलाई अहिले विश्व कै ‘भविष्यको’ सहर भनिन थालेको छ ।
खाली जमिन अत्यन्तै कम र मानिसहरुको आवासको लागि नयाँ संरचनाहरु बनाउने ठाउँ नभएका कारण आवास निर्माणको क्षेत्रमा वैज्ञानिक छलाङ लगाइएका छन् । स्वस्थ र पौष्टिक खानामा आत्मनिर्भर हुनका लागि घाम र माटो बिनै तरकारी र फलफुलहरु उमार्ने प्रविधिको विकास गरिएको छ ।
स्वच्छ पानीको लागि समुद्री नुनिलो पानीको प्रशोधन र आकाशे पानीको संकलनको पनि ब्यवस्था छ । थोरबहुत समुद्र पुर्दै केही खाली जमिन बढाउने प्रयासहरु भएका छन् । र, स–साना केटाकेटीहरुको शारिरिक, मानसिक र शैक्षिक विकासको चुस्त योजनाहरु पनि बनाइएका छन् ।
यो सबै अहिलेको लागि मात्र नभएर आगामी ५० वर्षको लागि समेत हो ! त्यही सिङ्गापुर जस्तै बन्ने रहर पलाएका बेला नेपालमा मेलाम्ची खानेपानी आयोजनाको निर्माण शुरु भएको हो । त्यो अझै काठमाडौं हुल्न सकिएको छैन । यसको मतलब हो, नेपाल देश मात्र हो । सिङ्गापुर चाँहि राष्ट्र पनि हो ।
राष्ट्र बन्नका लागि चाहिने आधारभुत संरचना नेपालमा छैनन् । यसो भन्दा धेरैको कन्सिरी तात्न सक्छ । तर यो विषयमा जमेर बहस गर्दा हुन्छ । अराष्ट्रिय वा अराष्ट्रवादी कहलिन सकिने जोखिम भने मोल्नै पर्छ ।
परराष्ट्र, राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र राजनीतिका क्षेत्रमा नेपालको आफ्नै नीति नै छैनन् । यो मैले मात्र भनेको होइन । माथी उल्लेखित क्षेत्रका विज्ञहरुले नै बारम्बार भनेका हुन् ।
नेपालको परराष्ट्र नीति भनेको कन्दै अङग्रेजी बोलेर विदेशीसँग पैसा माग्नु, राष्ट्रिय सुरक्षा नीति भनेको रासन पानी र सार्वजनिक खरिदमा च्यानल मिलाएर छ्याकन हान्नु, राजनीति भनेको चाकरी र दलाली गर्नु र अर्थनीति भनेको रातो रिबनले बेरेको ब्रिफकेसबाट झिकेर बजेट पढ्नुमै सीमित रहेको छ ।
नीति नै नभए पछि कार्यनीति हुँदैन । कार्यनीति नभई कार्ययोजना हुँदैन । कार्ययोजना नभई गर्ने काम भनेको पिच बाटो खन्ने, पुर्ने, धुलो उडाउने, मानिसहरु आन्दोलनमा आउने, वार्ता गर्ने, पिच गर्ने अनी फेरी खन्ने गरेजस्तै हो ।
देश चलाइरहेको राजनीतिक दलको राजनीतिक सिद्धान्त छैन । प्रमुख प्रतिपक्ष दलका नेताहरु ७० वर्ष अघि सान्दाजुले कोर्नु भएको राजनीतिक सिद्धान्तकै भर परेर बसेका छन् । त्यसको थप विकास गर्नलाई बहस चलाउने ह्याउ कसैमा छैन ।
मुलुक समाजवाद उन्मुख भनिएको छ, संविधानमा । समाजवाद भनेको आर्थिक राजनीतिक र सामाजिक अवधारणा हो । अहिलेको विश्व परिस्थिति र नेपालको सन्र्दभमा समाजवादको ब्याख्या गर्ने बौद्धिक क्षमता यी दलहरुमा छ भन्ने विश्वास गर्न सकिने आधार छैन । त्यो तीनको आचरण र व्यवहारले छताछुल्ल परेको छ ।
अनी कसरी बन्छ देशको समग्र नीति ?
नीति नै नभए पछि कार्यनीति हुँदैन । कार्यनीति नभई कार्ययोजना हुँदैन । कार्ययोजना नभई गर्ने काम भनेको पिच बाटो खन्ने, पुर्ने, धुलो उडाउने, मानिसहरु आन्दोलनमा आउने, वार्ता गर्ने, पिच गर्ने अनी फेरी खन्ने गरेजस्तै हो ।
लेखको शुरुवातमा उल्लेख गरिएको घटनामा देखिएको राज्यको काम र चरित्र यही अनन्त चक्रको पछिल्लो कडी हो । भारित औसतवाला सेयर लाभकर त्यस्तै अर्को कडी हो । अनी, गुठी विद्येयक झन् अर्को ।
नेपालमा अन्य कुनै संरचना नभए पनि जंगबहादुर राणाले बनाएको मुलुकी ऐनमा आधारित जर्बजस्त विभेदकारी सामाजिक संरचना विद्यमान छ, जहाँ मानिसहरु कोही पनि समान छैनन् । एउटा अर्को भन्दा कुनै न कुनै आधारमा ठूलो वा सानो नै हुन्छ ।
राज्यको यस्तो विभेदकारी चरित्र अनी धेरै पढेर राज्यका महत्वपूर्ण निकायहरुमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका मन्त्री ! अनी कसको कुरा सुन्नु ? सबै जानेकै छन् । मन्त्री अथवा राज्यका महत्वपूर्ण अंगमा बस्नेका चरित्र सायद यसैले ब्याख्या गर्छ होला । समग्रमा भन्दा, नेपाल देश मात्र हो । र, यसको आधारभूत चरित्र विभेदकारी छ ।
उद्योगी र व्यवसायीको हैसियत
नेपाली समाज आधारभुत रुपमा पुँजीवादी समाज भइसकेको समाज विश्लेषकहरु बताउँछन् । तर, यो युरोपमा जस्तो पुँजीवादी क्रान्तिको जगमा निर्माण भएको पुँजीवादी समाज होइन । यो अधुरा क्रान्तिको श्रृङखलाबाट निर्माण भएको ठिमाहा खाले पुँजीवादी समाज हो ।
कुनै नयाँ मानिस अर्थमन्त्री बन्यो भने फुलका बुके लिएर भेट्न जाने अनि सार्वजनिक रुपमा प्रशंसा गर्ने, बन्द कोठामा गाली’ यही चरित्र हो व्यवसायीक वृतको ।
त्यसकारण यहाँका पुँजीपतिहरु उन्नत स्तरको पुँजीवादी चेतना राख्दैनन् । आत्मसम्मान, क्षमताको परख गर्ने क्षमता, चाकरी नगरी प्रशंसा गर्न सक्ने योग्यता, उन्नत स्तरको लोकतान्त्रिक चेत आदि यहाँका पुँजीपतिहरुमै छैन ।
यहाँका पुँजीपतिहरु पुरानो सामन्ती समाजको पर्खालहरु भत्काएर भन्दा पनि त्यही पर्खालका धाँजाहरुबाट भित्र पसेका भुईफुट्टा पुँजीपतिहरु हुन् । बाँकी पहिलेको सामन्ती ब्यवस्थाकै बेलाको सम्पत्ति बेचेर उद्योग चलाएर पुँजीपति भएका हुन् ।
क्रान्तिको माध्यमबाट उदय भएको वर्ग होइन । पुँजीवादी समाजको आधारभूत क्रान्तिकारी चरित्र उनीहरुसँग छँदैछैन । यस्तो भएपछि गर्ने भनेकै चाकरी हो । ‘कुनै नयाँ मानिस अर्थमन्त्री बन्यो भने फुलका बुके लिएर भेट्न जाने अनि सार्वजनिक रुपमा प्रशंसा गर्ने, बन्द कोठामा गाली’ यही चरित्र हो व्यवसायीक वृतको ।
व्यवसायीक वृतले बनाएका विभिन्न संगठनहरुको हालत पनि त्यस्तै छ । ती संगठन उद्योग व्यवसायको क्षेत्रमा लगानी प्रोत्साहन गर्न, व्यवसायीहरुको सुरक्षा गर्न, सहज र प्रभावकारी कर प्रणालीको लागि पहल गर्न बनेका संगठन होइनन् । ती ठूला पुँजीपतिहरुको भिजिटिङ कार्डको शोभा बढाउन बनाइएका संस्था हुन् ।
नेपाल राज्य चलाउने डाडुपन्यु जसको हातमा पुग्छ उ शिवजी हो । उद्योगी व्यवसायी लगायत अन्य यही माफिकका वर्गहरु नन्दी र भृङगी हुन् ।
अहिलेको नेपाली समाज र त्यसमा आफ्नो हैसियतको बारेमा जब संस्था बनाउनेहरुमै कुनै चेतना छैन भने संस्था कस्तो बन्छ ? त्यसैले नेपालमा विद्यमान उद्योगी व्यवसायीहरुको संस्था कुनै दार्शनिक र सैद्धान्तिक अवधारणामा आधारित भएर बनेका संस्था होइनन् ।
यी संस्थामा कुनै शक्ति छैन । सोच पनि छैन । यी संस्थामा नेपालका तमाम स–साना व्यवसायीहरु अटाउँदा पनि अटाउँदैनन् । त्यसैले यस्ता संस्थाको प्रतिनिधित्व गर्दै सरकारसँग बार्गेनिङमा जाँदा पावर ठ्याम्मै हुँदैन । र, संघसंस्था भित्र ‘राजनीति उद्योग’ सञ्चालन गरेर नाफा कमाउनु उनीहरुको ध्येय रहेको छ ।
नेपाल पशुपतिनाथले चलाएको देश हो भनेर कुनै विद्धानले भनेका छन् । मलाई पनि त्यस्तै लाग्छ । यो लेखको सार पनि त्यही हो । स्वयं त्रिकालदर्शी शिवजीले चलाएपछि देश चलाउने संरचना, संस्था र नीतिहरु चाहिएन । त्यसै चल्छ । बाँकी नन्दी, भृङगीहरुको काम भनेको शिवजीको सेवा गर्ने हो । रिझाउने हो ।
नेपाल राज्य चलाउने डाडुपन्यु जसको हातमा पुग्छ उ शिवजी हो । उद्योगी व्यवसायी लगायत अन्य यही माफिकका वर्गहरु नन्दी र भृङगी हुन् ।
अब भन्नुस्, शिवजी र नन्दीबीच वार्ता हुन्छ ? बार्गेनिङ हुन्छ ? बस् आरती हुन्छ, खटाएको खाइन्छ !