विजुली बसः साझाको रहर पुरागर्न ३ अर्व नडुबोस्

सरकारले वातावरण सुधार गर्ने र व्यापारघाटा कम गर्ने भन्दै इलेक्ट्रीक सवारीसाधन खरिद गर्ने निर्णय गरेको करिब ६ महिनापछि विजुली बस किन्न छुट्टाएको ३ अर्ब रुपैयाँ साझा यातायातलाई दिएको छ । उक्त रकमले ३ सय वटा विजुली बस किनेर चलाउने योजना साझाले अगाडि सारेको छ ।

 

सुरुमा सरकारले प्राधिकरण गठन वा अन्य कुनै मोडल निर्माण गरेर यस्ता बस चलाउने भनिएको थियो । तर, पछि साझा यातायातलाई ३ सय विजुली बस किनेर चलाउन दिने निर्णय गरियो ।

 

सरकारले दिएको ३ अर्ब रुपैयाँ साझा सहकारीमा शेयर पुँजीमा गणना हुनेगरि दिइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको भनाई छ ।

 

सरकारले गरेको लगानी अनुसार साझाले प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठेको छ । बैंकको ब्याजको किस्ता, ब्याज तथा ऋण नै तिर्नु नपर्ने साझा यातायात वर्षेनी घाटामा जानुले धेरै प्रश्न उब्जिएको छ ।

 

विजुली बस चलाउनले रहर साझाले पालेको धेरै भइसकेको छ । साझाले एक पटकको रहर पुरा नभएपछि ३ अर्व रमक दिएर दोस्रोपटक रहर पुरा गराउने बाटो रोजेको छ । यसअघि एसियाली विकास बैंकको सहयोगमा भैरहवामा निर्माणधीन अन्तर्राष्ट्रिय एयरपोर्टबाट लुम्बिनिसम्म चलाउन ल्याइएको बस काठमाडौं झिकाएर भब्य उद्घाटन गरेको खासै धेरै समय भएको छैन । लुम्बिनिमा संचालन गर्न ल्याइएको ५ वटा बस मध्ये दुईवटा साझा यातायातले काठमाडौंमा परिक्षणको रुपमा चलाउने भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले बस उद्घाटन गरे ।

 

लुम्बिनि विकास कोषको खर्चमा साझा यातायातको प्राङ्गणमा ठूलै तामझाम भयो । साझा सहकारीका अध्यक्ष कनकमणी दिक्षितलेविजुली बसको राम्रै प्रचार प्रसार गरे ।

 

साझाको कम्पाउन्डमा निकै ठूलो तामझाम सहित बिजुली बसको ढोकामा झुन्डाईएको रिवन काटेका प्रधानमन्त्रीले सरकारले विजुली बसलाई प्राथमिकता दिने नीतिनै बनाईदिए । त्यसको लागि ३०० बिजुली बस किनेर चलाउने निर्णय गरे ।

 

बिहीबार मन्त्रालयको पत्रकार सम्मेलनमा साझा सहकारीका अध्यक्ष कनकमणी दिक्षितले वायु प्रदूषणका कारण मानिसमा क्यानसर समेत हुने भएकाले विजुली बसलाई प्राथमिकता दिने बताए ।

 

साझामा अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको गरेर ९९ प्रतिशत लगानी पुगेको छ । सधै घाटामा गइरहने साझाले पछिल्लो दुई वर्षयता घाटामा गइरहेको देखाएको छ । यसले साझाले विगतको बाटो नसमाउला भन्न सकिने अवस्था छैन ।

 

सरकारले गरेको लगानी अनुसार साझाले प्रतिफल दिन सक्छ कि सक्दैन भन्ने प्रश्न पनि उठेको छ । बैंकको ब्याजको किस्ता, ब्याज तथा ऋण नै तिर्नु नपर्ने साझा यातायात वर्षेनी घाटामा जानुले धेरै प्रश्न उब्जिएको छ ।

 

साझा यातायातले आफू घाटामा जानुको कारण विद्यार्थी, अपांगता भएका र जेष्ठ नागरिकलाई छुट दिएर भनेको छ । कनकमणीले त्यही कार्यक्रममा पनि भनेका थिए, ‘साझाले विद्यार्थी, जेष्ठ नागरिकलाई छुट र ७० वर्ष माथिका र अपांगता भएका नागरिकलाई निःशुल्क यात्रा गराउँछ । त्यसैले घाटामा भएको हो ।’ उनको यो जवाफमा विस्वास गर्न सकिने आधार छैन ।

 

अन्य यातायात व्यवसायीले ७० वर्ष माथिका जेष्ठ नागरिक र अपांगकता भएका नागरिकलाई निःशुल्क यात्रा गराउने बाहेक सबैलाई छुट दिइ, बैंकको व्याज समेत तिरी नाफा कमाउँदै आएका छन् । साझालाई बैंकको व्याज तिर्ने कुनै दायित्व छैन । सबै पैसा शेयर अनुदानमा पाएको छ । यो जत्तिको हास्यास्पद टिप्पणी कुुनै हुँन नसक्ला ।

 

प्राधिकरण मार्फत सरकार आफैले विजुली बस चलाउने निर्णयमा पुगेको सरकार प्राधिकरण गठनको प्रक्रिया रोकेर साझालाई चलाउन दिने प्रस्ताव मन्त्रिपरिषद्मा रातारात पुर्याइएको तथ्य जगजाहेर छ । यसको सांगोपांगो मिलाउने काम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले गरेको बुझ्न गाह्रो नपर्ला ।

 

साझाको आयस्रोत
नेपाल सरकारले ३ अर्व रुपैयाँ आर्थिक वर्ष सकिने अघिल्लो दिन दियो भने विजुली बस खरिद गर्न भन्दै प्रदेश ३ सरकारले पनि साझालाई ३० करोड रुपैयाँ दिने निर्णय गरिसकेको छ । यसै वर्ष साझालाई काठमाडौं महानगरपालिकाले २० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख रुपैयाँ दिएका थिए । हाल साझा यातायातले ७१ वटा बस विभिन्न १८ वटा रुटमा चलाई रहेको छ ।

 

उक्त संख्याको बसबाट साझाले वार्षिक रुपमा ७२ लाख यात्रु बोक्ने गरेको साझाले नै सार्वजनिक गरेको तथ्यांकमा छ । साझा यातायात आर्थिक वर्ष २०७४/०७५ मा १ करोड ७८ लाख ८७ हजार ८ सय ४५ रुपैयाँ घाटा देखिएको छ । त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ को घाटा १ करोड ८२ लाख ६५ हजार ८ सय १० रुपैयाँ छ ।

 

तर, सञ्चालनको पहिलो वर्ष २०७०/२०७१ मा ३ करोड ६९ लाख घाटामा गएको साझाले त्यसपछिका दुई वर्ष लगातार नाफा कमाएको थियो । जब काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकाले शेयर लगानी गरे तब साझा एकाएक घाटामा गयो ।

 

दिक्षित यो मान्न तयार छैनन् । उनको रटान छ संसारभर सार्वजनिक यातायात घाटामा हुन्छ, ठूला र राम्रा बस सहरका श्वभा हुन् । ‘विद्यार्थीलाई छुट दिँदा घाटा भएको हो,’ उनले कार्यक्रम धेरै पटक भने ।

 

२०६७ सालमा साझालाई सहकारीको रुपमा पुनःस्थापना गरेर २०७० वैशाख १ देखि १६ वटा बसमार्फत सेवा सुरु गरिएको थियो । त्यतिबेला वाहावाही पाएको साझा यातायात उसको व्यवहारले बसले फालेको धुवाँ झैं दुर्गन्धित र हानिकारक बन्दै भएको छ । सरकारले विद्युतीय बस किन्न दिएको पैसाको सही सदुपयोग हुनेमा सुरुका दिनमै शंका पैदा भइसकेको छ । यसलाई जोगाउन साझाले अनेक यत्नहरु लगाओस् र वातावरणमैत्री सवारीमा फड्को मारोस् ।

इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन Read Previous

इलाममा भन्दा झापामा आठ गुणा बढी चिया उत्पादन

माग सम्बोधन पछि ढुवानी व्यवसायीको हड्ताल फिर्ता Read Next

माग सम्बोधन पछि ढुवानी व्यवसायीको हड्ताल फिर्ता