काठमाडौं । पछिल्लो समय नेपालमा केबलकार थपिने क्रम बढ्दो छ । हाल ४ वटा केबलकार संचालनमा रहेका छन् भने १ दर्जन बढी निर्माणाधीन् अवस्थामा रहेका छन् । ती मध्ये केही चालु वर्षभित्रै संचालनमा आउने तयारी गरेका छन् ।
नेपालमा केबलकारको संख्या थपिने क्रम बढेसँगै यसको सुरक्षाको समेत गम्भीर प्रश्न उठ्ने गरेको छ । बेलाबेलामा यात्रुसहित चलीरहेको केबलकार रोकिएर मानिसहरू बिचल्लीमा परेका समाचारहरू सार्वजनिक भएका छन् ।
केबलकारको संख्या थपिने क्रम बढे पनि सरकारले हालसम्म नियमन गर्न छुट्टै निकाय गठन गरेको छैन भने नियमावली समेत बनाउन सकेको छैन । नेपालमा नयाँ प्रविधिका धेरै जसो कम्पनीहरू संचालनमा ल्याइसके पछि मात्र सरकारले आवश्यक नियम कानुन बनाउने गरेको छ ।
नेपालमा संचालनमा रहेका ४ केबलकार मध्ये हालै काठमाडौंको चन्द्रागिरिमा संचालित चन्द्रागिरि केबलकारमा समस्या आएर यात्रु बिचमै घण्टौं रोकिएको समाचार बाहिर आएको थियो ।

अझ कतिपय संचार माध्यमहरूलेत केबलकारमा यात्रुहरू अड्किएर नेपाल प्रहरी तथा नेपाल आर्मिलेनै रेस्क्यू गर्नु परेको भन्ने समेत समाचारहरू प्रकाशित गरेका थिए । यसै सन्दर्भमा प्रकाश पार्न आज चन्द्रागिरि हिल्सले पत्रकार सम्मेलन आयोजना गरी घटनाको बारेका प्रकाश पारेको थियो ।
उक्त कार्यक्रममा केबलकार अड्किँदा कसरी रेस्क्यू भएको थियो प्रयोगात्मक समेत रूपमा देखाएको थियो । चन्द्रागिरि केबलकारका इलेक्ट्रीक इन्जिनीयर सरोज चापागाईंका अनुसार चन्द्रागिरि केबलकार कारमा प्रयोग भएको प्रविधि अष्ट्रियाको डोपलमेर कम्पनीको हो । यो अत्याधुनिक तथा पूर्ण स्वचालित प्रविधि हो । विश्वका २० हजार भन्दा धेरै स्थानमा केबुलकार प्राेजेक्टमा यो प्रविधिको प्रयोग भएको छ । यो प्रविधि सतप्रतिशत सुरक्षित प्रविधि हो । तर, कहिलेकाहीँ विद्युत् आपूर्तिमा आउने समस्याका कारण केबलकार रोकिने गरेको उनले बताए ।
विद्युत् आपूर्ति रोकिएपछि व्याकअपको रूपमा १ मेगावाटको जेनेरेटर रहेता पनि बिजुली गएपछि जेनेटर स्टार्ट हुन केही मिनेट भने लाग्ने उनले बताए । तर हालै भएका घटनामा भने बिजुलीको सप्लाई पनि काटिएको र जेनेरेटरले पनि काम नगरेकाले धेरै समय सम्म यात्रुहरू गोन्डलामा रोकिएका हुन् ।
चापागाईंका अनुसार नयाँ प्रविधिको केबलकार भएका कारण यसमा बिजुली बिनानै गोन्डलामा रोकिएका यात्रुहरूलाई बेस स्टेशन सम्म ल्याउनका लागि ‘इमर्जेन्सी ड्राइभ’ सिस्टम समेत रहेको छ । तर, यो सिस्टम अन्तिम विकल्पको रूपमा प्रयोग हुनेहो । इमर्जेन्सी ड्राइभ सिस्टमबाट सबै गोन्डलामा रहेका यात्रुलाई बेसस्टेसन सम्ममा झार्नका लागि भने करिब ४५ मिनेट सम्म लाग्ने सक्छ । त्यसकारण कुनै पनि अवश्थामा लामो समयसम्म केबलकारमै यात्रु अड्किने सम्भावना भने हुँदैन ।

चन्द्रागिरिमा केबलकार लामो समयसम्म रोकिएमा यात्रुहरूलाई बेसस्टेशनसम्म पुर्याउन सकियो तर माथिल्लो बेसमा रोकियका यात्रुुलाई कसरी तलसम्म पुर्याउने भन्ने प्रश्नमा कम्पनीका अध्यक्ष चन्द्र ढकालले भने, ‘हामीसँग माथिल्लो बेसमा रहेका आगन्तुकलाई विभिन्न तीनवटा अप्सन रहेको छ । पहिलो अप्सन त केही समय कुर्ने नै हो । पावर सप्लाइमा ठूलै समस्या आए पनि बढीमा १/२ घण्टामा त बनि नै हाल्छ । दोस्रो हामीसँग गाडिको बाटो पनि छ, जहाबाट यात्रुलाई गाडीमा राखेर तल बेसस्टेशन सम्म पुर्याउन सकिन्छ । तेस्रो तथा अन्तिम विकल्प भनेको चन्द्रागिरि हिल्समा १०० रुम भएको रिसोर्ट पनि रहेकोले गाडीकाे बाटाे पनि पानी परेर बिग्रिएको अवस्थामा तल जान सकिएन भने यही रिसोर्टमै राख्ने प्रबन्ध मिलाउन सकिन्छ । रिसेर्टमै बस्नु पर्ने अवस्थामा खाने बस्ने सबै शुल्क पनि कम्पनीले नै प्रबन्ध गर्नेछ ।’

उनले कुनै पनि अवस्थामा चन्द्रागिरि हिल्समा आएका यात्रुहरू विचल्लीमा नपर्न बताए।
थपिँदै सुविधा
ढकाले चन्द्रागिरि हिल्सले नियमित यात्रा गर्न चाहने यात्रुहरूका लागि मेम्बरसिप कार्ड पनि छिटै लन्च गर्ने जानकारी दिए । उक्त कार्ड जारी भएपछि १ वर्षसम्म जतिपटक केबलकार चढ्न पनि पाइने, रिसोर्टमा निश्चित दिनका लागि सित्तैमा बस्ने तथा जीपलाइन र अन्य सुविधाहरू सित्तैमा प्रयोग गर्न सकिने छ ।
चन्द्रागिरि हिल्सले यही साउनदेखि केबलकार सेवा बेलुका समेत संचालन गरिरहेको छ । बेलुकाको समयमा अफिस छुट्टी भएपछि काठमाडौंको कोलाहलबाट शान्त स्थानमा समय बिताउनुका साथै साथै परिवार, साथिभाइहरूसँग डिनर खान चाहनेहरूका लागि रेष्टुरेन्ट र बार समेत ९ बजेसम्म खुल्लै रहने व्यवस्था गरिएकाे छ । यस अघि बेलुका ६ बजे बन्द हुने केबलकार साउन १ गतेदेखि ९ बजेसम्म संचालनमा रहेको छ ।
यस्तै, चन्द्रागिरि हिल्सका संचालक अम्बिका पौडलले छिट्टै नै माथिल्लो स्टेशनबाट रिसोर्टसम्म चल्ने मिनी केबलकार समेत बनाइने जानकारी दिएका थिए । साथै यही समूहबाट प्रबद्र्धित चितवनको मौलाकालिका र बुटवलमा आगामी माघ १ गते संयुक्त रूपमा नयाँ केबलकार संचालनमा ल्याइने जानकारी दिए ।