काठमाडौं । विश्वव्यापी रुपमै पर्यटन क्षेत्र उच्चतम विन्दुतर्फ अग्रसर भइरहेको छ । सन् २०१८ मा विश्वभर पर्यटनको संख्या १ अर्ब ४० करोड पुगेको छ, अनुमान भन्दा धेरै बढी । त्यसैले यो क्षेत्रबाट अधिकतम लाभ लिनका लागि सरकार र पर्यटन उद्योगले मिलेर काम गर्नुपर्ने देखिएको छ । पूर्वाधार, प्राकृतिक साधनस्रोत र सम्पदाहरुको व्यवस्थापन र जर्गेना आवश्यक छ ।
नेपालमा सन् २०१८ मा ९ लाख ४० हजार २ सय जना अन्तर्राष्ट्रिय पर्यटक आएका छन् । यी पर्यटकबाट नेपालले करिब ६३ करोड अमेरिकी डलर आम्दानी गरेको छ । प्रति पर्यटक नेपालले करिब ७ सय अमेरिकी डलर आम्दानी गरेको छ ।
नेपालको कुल ग्राहस्थ उत्पादनमा यो क्षेत्रको ३.६ प्रतिशत हिस्सेदारी रहेको छ । सन् २०१८ मा यो क्षेत्रले नेपालको कुल ग्रहस्थ उत्पादनमा १ अर्ब डलर भन्दा बढी योगदान पुर्याएको छ । पर्यटन क्षेत्रले नेपालमा ४ लाख ५० हजार भन्दा बढिलाई रोजगारी दिएको छ । यो भनेको नेपालको कुल रोजगारीको २.९ प्रतिशत हो ।
यी सबै तथ्याङ्कको मतलब यो क्षेत्रको महत्व नेपाल लगायत विश्वको सबै देशहरुका लागि उत्तिकै छ । सबै देशहरुले आ–आफ्नो देशमा यो क्षेत्र सम्बन्धित प्रतिस्पर्धात्मक क्षमताको खोजि गरिनै रहेका छन् । अर्थात, विश्वभर मध्यम वर्गको बृद्धि र बढ्दो पर्यटन सँगै प्रतिस्पर्धा पनि उत्तिकै बढ्दै गएको छ ।
नेपालले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । नेपालका सबैजसो सरकार, नेता र सामान्य जनतालाई समेत पर्यटन नेपालको आर्थिक विकासको ढोका खोल्ने दरिलो औजार हो भन्ने लाग्ने गरेको छ ।

त्यसैले यसको प्रर्बद्धनको लागि सरकारहरुले बेलामौका भ्रमण वर्षहरुको आयोजना गर्दै आएका छन् । त्यस्ता भ्रमण वर्षहरुको प्रभावकारीता र सन् २०२० को भ्रमण वर्षको तयारीका बारे चाणक्य पोष्टले विभिन्न सामग्रीहरु प्रकाशित गरिसकेको छ ।
यसै सन्दर्भमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यको अन्तर्वार्ता –‘नेपाल इज चिप प्लेस टु भिजिट भन्ने पहिचान स्थापित गर्नु भएन’ भन्ने शीर्षकको र ‘सरकारको साँघुरो सोच नै पर्यटन विकासको वाधक’ भन्ने शीर्षकको विचार प्रमुख हुन् ।
यो सामग्री भने पर्यटन क्षेत्रको विकासमा नेपालले गरेका कामहरुको प्रभावकारिता र सरकारका कामहरु भन्दा पनि जसलाई लक्षित गरेर नेपालले पर्यटनको विकास र भ्रमण वर्षहरु सफल बनाउने कामना गर्दै आएको छ, उनीहरु चाँही नेपालको पर्यटनलाई कसरी हेर्छन् त ? भन्ने विषयमा केन्द्रित हुनेछ । र, यसको आधार चाँही विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) ले हालै ‘ट्राभल एण्ड टुरिजम कम्पिटेटिभनेश इन्डेक्स २०१९ एडिसन’ शीर्षकमा प्रकाशित गरेको प्रतिवेदन हुनेछ ।
यो प्रतिवेदनले विभिन्न सूचकहरुको आधारमा नेपालको पर्यटनको प्रतिस्पर्धात्मक क्षमताको लेखाजोखा गरेको छ । र, सबै सूचकको आधारमा नेपाल पर्यटकिय प्रतिस्पर्धात्मक क्षमताको आधारमा १ सय ४० देशहरुको सूचिमा १ सय २ औं स्थानमा परेको छ । सन् २०१५ मा नेपाल यो सूचीको १ सय २ औं स्थानमा परेको थियो भने सन् २०१७ मा १ सय ३ औं स्थानमा परेको छ ।
नेपालले ओगटेको यो स्थान कत्तिको सन्तोषजनक हो, त्यसको लेखाजोखा गर्ने जिम्मा नेपालका पर्यटन क्षेत्र सम्बद्ध सरोकारवाला निकायहरुकै होला ।

१ लाई सबैभन्दा कमजोर र ७ लाई सबैभन्दा राम्रो मान्दा व्यवसायको वातावरण, सुरक्षा, स्वास्थ्य, श्रम बजार, सूचना प्रविधि आदि सूचकहरुमा नेपालले ३.५ देखि ५.२ सम्म अंक पाएको छ । यी सूचकहरुमा नेपाल सूचना प्रविधिमा सबैभन्दा कमजोर (३.५) र सुरक्षामा सबैभन्दा अब्बल (५.२) देखिएको छ । यी सूचकहरुमा हङकङ, अष्ट्रिया, फिनल्याण्ड, स्वीटजरल्याण्ड जस्ता देशहरु अब्बल देखिएका छन् ।
पर्यटन क्षेत्रका नीति नियमहरु सम्बद्ध सूचकहरुमा पनि नेपाल खासै अब्बल देखिएको छैन । नेपाल अन्तर्राष्ट्रिय खुल्लापनमा धेरै कमजोर देखिएको छ । यो सूचकमा नेपालले २.७ अंकमात्र प्राप्त गरेको छ । यो क्षेत्रमा नेपाल सबैभन्दा अब्बल मूल्यमा मात्र ठहरिएको छ । तर, यसको ठ्याक्कै उल्टो, भ्रमण वर्षको सन् २०२० का संयोजक सुरज वैद्य भने नेपाललाई ‘सस्तो घुम्ने ठाउँ’को रुपमा प्रर्बद्धन गर्न चाहदैनन् ।
यसैगरी, पर्यटन पूर्वाधार सम्बद्ध सूचकहरुमा नेपालको बेहाल नै छ । हवाई, स्थल र अन्य पर्यटन पूर्वाधारका सन्दर्भमा नेपालले ३ अंक पनि प्राप्त गर्न सकेको छैन ।
नेपालका सबै सरोकारवालाहरुले नेपालको प्रतिस्पर्धात्मक क्षमता प्राकृतिक साधन स्रोत र सम्पदाहरुलाई मान्दै आएका छन् ।
तर, दूर्भाग्यवश यस्ता स्रोत र सम्पदाहरुलाई पर्यटकीय उत्पादनको रुपमा प्रर्बद्धन गर्न नसकेकाले होला नेपालले आफूलाई सबैभन्दा अब्बल ठानेको क्षेत्रमै प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाको अध्ययनले अत्यन्तै कमजोर देखाएको छ ।
नेपालको पर्यटन क्षेत्रले समग्रमा ३.३ अंक प्रप्त गरेको छ, १ लाई सबैभन्दा कमजोर र ७ लाई सबैभन्दा राम्रो मान्दा ।
यो नेपालका लागि कत्तिको सन्तोषजनक प्रतिवेदन हो, सरोकारवालाहरुले नै पर्गेल्लान् । तर, भ्रमण वर्षको संघारमा आएर उभिएका बेला अन्तर्राष्ट्रिय संस्थाहरुका प्रतिवेदनले पक्कै पनि आफ्ना कमजोरि पहिल्याउन र क्षमता चिन्न भने मद्दत नै गर्ला ।