सरकारको साँघुरो सोच नै पर्यटन विकासको वाधक

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । त्यसका लागि केही संस्थाहरु खडा गरिएका छन् र केही सामान्य तयारी पनि शुरु भएको छ ।यस्ता भ्रमण वर्षहरुलाई कसरी हेर्ने र यिनले दिर्घकालिन रुपमा पर्यटनको विकासमा उल्लेख्य भूमिका खेल्न सक्लान् वा नसक्लान् भनेर समाजमा चर्चा भइरहेको हुन्छन् ।

 

एकथरी मानिसहरु यस्ता भ्रमण वर्षलाई फगत ‘नाटक’का रुपमा व्याख्या गर्छन् । र, दीर्घकालिन प्रभावका दृष्टिकोणले यस्ता भ्रमण वर्षहरुलाई निरर्थक ठान्छन् । अर्काथरी मानिसहरु भ्रमण वर्षकै आधारमा पर्यटनको विकास हुने ठान्छन् । र, नेपालको पर्यटनको भविष्यको गोरेटो साँघुरो वा फराकिलो हुनु भ्रमण वर्षको सफलता र असफलतामा निर्भर हुने विश्वास गर्छन् ।

 

यी दुई विपरित ध्रुवका सोचहरुका अलावा बीच तिरको सोच वा बुझाई पनि कम शक्तिशाली छैन । यस्ता भ्रमण वर्षहरुको अर्थ हुन्छ । तर, सांकेतिक मात्र । यिनले आफैंमा कुनै ठूलो छलाङ लगाउन सक्तैनन् । तर, परिपाटीको शुरुवात भने गर्न सक्छन् । आफैंमा यस्ता भ्रमण वर्षहरुको अस्तित्व हुँदैन तर, निरन्तरतामा भने जीवन्त हुन्छन् ।

 

उदाहरणको लागि, २०४६ सालको राजनीतिक परिर्वतन पश्चातको छोटो आर्थिक–राजनीतिक रुपले ‘सहजता’ प्राप्त गरेको बखतमा मनाइएको भ्रमण वर्ष १९९८ ले उत्सव र महोत्सवहरुको शुरुवात गर्यो भनिन्छ । आन्तरिक पर्यटनको बिउ पनि यही भ्रमण वर्षले शुरु गरेको मानिन्छ ।

 

सन् २०११ को भ्रमण वर्षले भने ‘होम स्टे’को चलन शुरु गरेको जानकारहरु बताउँछन् । सन् २०२० को भ्रमण वर्षले चाहीँ नेपाली पर्यटनको सन्दर्भमा के परिपाटी वा संस्कृतिलाई संस्थागत गर्ला भन्ने कुरा अहिले ठोस रुपमा बाहिर आइसकेको छैन ।

 

मन्त्री भए पश्चात दिएको एक टेलिभिजन अन्तर्वार्तामा योगेश भट्टराईले भनेका थिए, ‘विश्वमा मध्यम वर्ग बढ्दै गएको र उनीहरुमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । त्यसैले नेपाल अहिले सुन्दर, धार्मिक महत्व आदि भएको देश भएका कारण विश्वको गन्तव्यको रुपमा रहेको छ ।’

 

पर्यटनको दीर्घकालिन विकासको लागि नेपाल अन्य देश भन्दा सुन्दर छ भन्ने सोच त्याग्दै र अन्य देशभन्दा फरक छ भन्ने सोच अँगाल्दै त्यो फरकपनलाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्दै जानु नेपालको पर्यटन विकासको पहिलो खुड्किलो हो ।

 

सरोकारवालाहरुदेखि आम नेपालीहरुको बुझाई के छ भने नेपाल अत्यन्तै सुन्दर र विशिष्ट देश हो । नेपाल विश्वकै अनुपम र अदभूत देश हो । यहाँ आएर यसको अदभूत सुन्दरताको रस्वास्वादन नगरे विश्वका अन्य मानिसहरुको एकबारको जुनि नै खेर जान्छ भनेर नेपालीहरुको मन र मष्तिष्कमा कुँदिएको छ । र, यस्तै सोचमा आधारित भएर नेपालको पर्यटनको विकासको आधार खोज्न लागिपरेको देखिन्छ ।

 

के नेपाल साँच्चै ‘सुन्दर’ देश हो ?

 

सौन्दर्य चेतना भनेको साँस्कृतिक र मनोवैज्ञानिक अवस्थिति हो । कसैलाई हिमाल सुन्दर लाग्ला भने कसैलाई घाँसे मैदान । कोही पहाडको विराट स्वरुपसँग लोभिएलान भने कोही समुद्रको शालिनता सँग । त्यसैले विश्वका सबै देश आ–आफ्नै ढंगले सुन्दर छन् । तर, एक अर्कासँग फरक छन् ।

 

नेपाल अन्य देश भन्दा असाध्यै सुन्दर छ भन्ने छाप सायद कविहरुको कविताबाट परेको हुनसक्छ । उदाहरणको लागि, महाकवि देवकोटाले ‘नेपाल, सुन्दर शान्त विशाल’ शीर्षकको निबन्ध लेखेका छन् । त्यहाँ उनले नेपालको सुन्दरताको वयान गरेका छन् ।

 

यस्तो सुन्दरताको अवधारणालाई सायद संस्थागत गर्ने काम शासकहरुले गरे । त्यसैले सामान्य जनताहरु न्याय, अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, श्वास फेर्ने ताजा हावा, पौष्टिक खानेकुरा आदि केही नपाए पनि नेपाली हुनु प्रति गर्व गरिरहेका भेटिन्छन् ।

 

र, राजनीति गर्नेहरु पनि बारम्बार ‘तिमीहरु पेटभरी खान नपाएर टाक्सिदैं गए पनि के भयो त ? तिमीहरु जन्मेको देश नेपाल संसारकै सुन्दर देश हो, तिमीहरु विश्वकै विशिष्ट जाति हौ’ भनेर अल्मल्याउँदै आएका छन् ।

 

कविहरुको फराकिलो कल्पनाशीलता, गहिरो भावना र भाषाको लालित्यको कुनै जवाफ छैन । उनीहरुको देश प्रेमको तीव्र भावनालाई आधार बनाएर आफ्नो अक्षमता ढाक्ने र त्यसैका आधारमा राजनीतिक, सामाजिक र आर्थिक अवधारणा निर्माण गर्ने भन्ने हुँदैन ।

 

पर्यटनको दीर्घकालिन विकासको लागि नेपाल अन्य देश भन्दा सुन्दर छ भन्ने सोच त्याग्दै र अन्य देशभन्दा फरक छ भन्ने सोच अँगाल्दै त्यो फरकपनलाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्दै जानु नेपालको पर्यटन विकासको पहिलो खुड्किलो हो ।

 

अन्य पर्यटकीय उत्पादनका कुरा

 

चाणक्य पोष्टसँगको पछिल्लो कुराकानीमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालले यो पटक वन्यजन्तुलाई प्रमुख पर्यटकीय उत्पादनको रुपमा अघि सारेको बताए ।

 

ढाका टोपी लगाउने नेपालको सबै जातजातीको संस्कृति होइन । तर, १० वर्ष अघिसम्म पनि नेपालको नागरिक हुनका लागि ढाका टोपी लगाएर खिचिएको फोटोकै आवश्यकता पर्दथ्यो । नयाँ संविधान निर्माण पश्चात् पनि राज्य सत्ता हाँक्ने मानिसहरुमा विविधतालाई हार्दिक रुपले नतमस्तक हुँदै स्वीकार्न सक्ने चेतनाको विकास भइसकेको छैन ।

 

केन्या वा अफ्रिकाका अन्य देशहरुको विशाल घाँसे मैदानमा सिंह वा जेब्राको बथान हेर्न छाडेर गुणस्तरीय पर्यटक चितवनको हात्ती चढेर ‘ब्रोइलर’ गैंडा हेर्न आउलान् त ? भन्ने चाणक्य पोष्टको प्रश्नमा उनले विश्वका लोपोन्मुख जनावरहरु बाघ, रेड पाण्डा र हिउँ चितुवा नेपालमा रेहको बताए । र, नेपालमा चराहरुमा पनि अत्यन्तै धेरै विविधता रहेको दलिल पेश गरे ।

 

तर, समस्या के भइदियो भने वैद्यले भनेका जनावरहरु र चराचुरुङगी नेपालमा छन् तर, पर्यटकीय उत्पादनको रुपमा छैनन् । पर्यटक नेपाल बाघ हेर्न आए भने कहाँ र कसरी हेर्ने त ? वा, कुन मौसममा बाघ चितवन, बर्दिया वा अन्य निकुञ्जहरुमा बढी देखिन्छन् ? बाघको प्रजननको समय कुन हो ? यस्ता प्रश्नहरुको जवाफ खोज्दै बाघ हेर्न आउने पर्यटकहरुलाई कम्तिमा एक पटक बाघ देखाउने बन्दोवस्त त गर्न सक्नैपर्छ ।

 

होइन भने त, छ भनिएको तर, कहिल्यै पनि मुलुकको आर्थिक विकासको लागि काम नआएको तामा, फलाम खानी वा पेट्रोलियम पर्दाथ र बाघका बीच के नै फरक भयो त ? भ्रमण वर्ष मनाउन कस्सिएको सरकार र संयोजक वैद्यले यो प्रश्नको जवाफ खोज्नैपर्छ ।

 

पर्यटन प्रर्बद्धन र साँस्कृतिक विविधता

 

कुराकानीको क्रममा वैद्यले नेपालमा साँस्कृतिक र जातिय विविधतालाई पनि नेपालको पर्यटन प्रर्बद्धनका लागि प्रयोग गरिने बताए । पक्कै पनि यति सानो भूगोलमा यति धेरै जात–जाती र विभिन्न साँस्कृतिक पृष्ठभूमिका मानिसहरुको बसोबास हुनु नेपालको बलियो प्रतिस्पर्धात्मक क्षमता हो ।

 

तर, समस्या के छ भने विगत धेरै दशकदेखि एउटै भाषा, एउटै भेष इत्यादीको नाउँमा नेपालका तमाम साँस्कृतिक विविधताहरुलाई र उनीहरुले हजारौं वर्षदेखि आफ्नो जीवन धान्नका लागि प्रकिृतिसँग संर्घष र अन्तरक्रिया गर्दै विकास गरेको संस्कृति राज्यले संस्थागत रुपमै ध्वस्त पार्दै आएको छ ।

 

खानाको पर्यटनमा कति महत्व हुन्छ भन्ने कुरा मानिसहरु इटालीमा पिज्जा वा पास्ता खान र भारत ‘करी’ वा हैदरावादी विरियानी खान आएबाटै पुष्टि हुन्छ ।

एउटा सामान्य उदाहरणले नै यसको पुष्टि गर्छ । ढाका टोपी लगाउने नेपालको सबै जातजातीको संस्कृति होइन । तर, १० वर्ष अघिसम्म पनि नेपालको नागरिक हुनका लागि ढाका टोपी लगाएर खिचिएको फोटोकै आवश्यकता पर्दथ्यो । नयाँ संविधान निर्माण पश्चात् पनि राज्य सत्ता हाँक्ने मानिसहरुमा विविधतालाई हार्दिक रुपले नतमस्तक हुँदै स्वीकार्न सक्ने चेतनाको विकास भइसकेको छैन ।

 

अहिलेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीका केही सार्वजनिक अभिव्यक्तिहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
‘नेपालीले जति खानेकुरा खान कसैले जानेको छैन । दाल, भात, तरकारी, अचार र त्यतिले पनि नपुगे करप्प खुर्सानी टोके पनि भयो । गोरेको त खाए पनि नखाए पनि त्यही पाउरोटी !’

 

उन्नत खाद्य संस्कृति भएका नेवार, थारु, राजवंशी, थकाली आदिको पाककलाको संरक्षण गर्न राज्यले कुनै ठोस कदम चालेको छैन । उनीहरुको पाककलाको विविधता र पहिचान प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिको हिस्सा बन्न सकेको छैन ।

 

दुःखको कुरा, कुनै समय राँगाको शरिरका हरेक भागबाट फरक फरक परिकार बनाउन सक्ने नेवारहरुले त्यो पाककला छोड्दै आएका छन् । नेपाली प्रष्ट बोल्न नजान्दा वा नेवारी लवजमा बोल्नुपर्दा हिनताबोध पाल्न थालेका छन् । तर, हाम्रो पाककला विशिष्ट छ भनेर दावी गर्ने राज्यले यसको जर्गेना गर्न सकेको छैन ।

 

पहाडिया खस आर्यले पहाडमा जमिन कम हुने, तरकारी धेरै नफल्ने र त्यही थोरै तरकारीमा पानी हालेर तिहुन बनाएर थोरै तिहुनमा धेरै भात खानु पर्ने बाध्यताका बेला घाँटीबाट नछिर्दा खुर्सानी टोकेको अवस्थालाई प्रधानमन्त्रीले उन्नत खाद्य संस्कृतिको रुपमा अथ्र्याएका छन् ।

 

खानाको पर्यटनमा कति महत्व हुन्छ भन्ने कुरा मानिसहरु इटालीमा पिज्जा वा पास्ता खान र भारत ‘करी’ वा हैदरावादी विरियानी खान आएबाटै पुष्टि हुन्छ ।

 

अब, हरियो खुर्सानी टोक्न त मान्छे कसरी ल्याउने ? त्यसैले साँस्कृतिक विविधतालाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्ने भन्ने कुराले राज्यको वृहत्तर सामाजिक र राजनीतिक प्रक्रियासँग सम्बन्ध राख्छ ।

 

नेपालमा सबैजातजातीलाई समान हैसियत, समानुपातिक प्रतिनिधित्व र पहचान स्थापित गर्नुपर्ने महशुस गरेरै पहिचान सहितको संघीयताको अवधारणा शुरु भएको पनि हो ।तर, यसको लागि लडेका र हजारौंको ज्यान गुम्ने आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहालले नै सार्वजनिक रुपमै ‘हामीले कस्तो संघीयता रोपेको कस्तो पो जन्मियो’ भनेर निरिहता प्रकट गरेबाट नै सबै कुरा छर्लङ्ग हुन्छ ।

 

समाजमा कुनै पनि क्षेत्रको एकाङकी विकास संभव छैन । विकास समग्रतामै हुन्छ । होइन भने, भ्रमण वर्षको नाममा सामान्य तामझम गरेर ट्रेकिङ गर्न आएका केही तेस्रो मुलुकका विदेशीहरु र खाजा सामल सबै बोकेर ‘जोर से बोलो ! जय माता दि !’ भन्दै आउने भारतीय पर्यटकहरुको गन्ती गरेरै भ्रमण वर्ष सफल भएको र पर्यटनको विकास भएको डम्फु पिटे भैहाल्यो ।

त्यसैले सरकार र वैद्यले नेपालको पर्यटनमा यहाँको साँस्कृतिक विविधतालाई उपयोग गर्ने भन्ने विषय नेपालको पहिचान, सम्मान र प्रतिनिधित्वको सम्रग राजनीतिक र सामाजिक प्रक्रियासँग जोडिएको विषय हो । दुई–चार वटा जातजातीलाई खुल्लामञ्चमा झाँकी देखाउन लगाएर साँस्कृतिक विविधताको प्रर्बद्धन गर्न उनीहरुले खोजेका हुन् भने त्यो हाँस्यास्पद र सतही हुन्छ ।

 

शैक्षिक र स्वास्थ पर्यटनको पनि महत्वपूर्ण हिस्सा हुन्छ आधुनिक पर्यटनमा । नेपालको सार्वजनिक, निजी र विश्वविद्यालय स्तरको शिक्षाको अवस्था बारे खासै टिप्पणी नै गर्न पर्दैन । राम्रो र गुणस्तरिय शिक्षाको लागि नेपालका विद्यार्थीहरु नै सकेसम्म विदेश जान प्रयास गरिरहेको अवस्थामा विदेशी यहाँ पढ्न आउने भन्ने कुरै भएन । विश्वविद्यालयमा नतिजा नै हेरफेर हुने कुरा पुष्टि भैसकेको छ ।

 

थोरबहुत पैसा भएका र आफ्नो गोजीबाट उपचार खर्च जुटाउनु नपर्ने नेताहरु विदेश उपचार गर्न गएबाटै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता उजागर हुन्छ र यसले पनि तत्कालका लागि स्वास्थ्य पर्यटनको ढोका बन्द गर्छ ।

 

लेखको शुरुवातमै भनियो, भ्रमण वर्ष जस्ता कार्यक्रमको सांकेतिक महत्व मात्र हुन्छ । पर्यटनको दीर्घकालिन विकासको ‘आन्द्रा’ भने नेपालको अन्य क्षेत्रको पनि ‘साइमलटेनियस’ (एकसाथ) विकाससँग गाँसिएको छ ।

 

आफ्ना जनतालाई दुई छाक खुवाउन सक्ने, सफा हावामा श्वास फेर्ने बन्दोवस्त मिलाउन सक्ने र रोजगारी दिन सक्ने राज्य त्यसै सुन्दर हुन्छ । बाघ दर्शनलाई प्रभावकारी पर्यटकीय उत्पादन बनाउन सक्ने राज्यले फलाम, तामा र पेट्रोलको पनि उत्खनन गर्न सक्छ ।

 

आफ्ना देशका सबै जातजातीलाई सम्मान गर्न सक्ने राज्यले उनीहरुको मौलीक संस्कृति प्रर्बद्धन गर्न पनि सकिहाल्छ । आफ्ना जनतालाई राम्रो र गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउन सक्ने राज्यले विदेशीलाई पनि त्यही सेवा दिन सकिहाल्छ ।

समाजमा कुनै पनि क्षेत्रको एकाङकी विकास संभव छैन । विकास समग्रतामै हुन्छ । होइन भने, भ्रमण वर्षको नाममा सामान्य तामझम गरेर ट्रेकिङ गर्न आएका केही तेस्रो मुलुकका विदेशीहरु र खाजा सामल सबै बोकेर ‘जोर से बोलो ! जय माता दि !’ भन्दै आउने भारतीय पर्यटकहरुको गन्ती गरेरै भ्रमण वर्ष सफल भएको र पर्यटनको विकास भएको डम्फु पिटे भैहाल्यो ।

एनआईसी एशिया बैंकले ल्यायो 'नयाँ सुपर चमत्कारिक निक्षेप योजना' Read Previous

एनआईसी एशिया बैंकले ल्यायो 'नयाँ सुपर चमत्कारिक निक्षेप योजना'

अब विद्यालयमा हडताल गरे ५० हजार जरिवाना हुने Read Next

अब विद्यालयमा हडताल गरे ५० हजार जरिवाना हुने