सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको छ । त्यसका लागि केही संस्थाहरु खडा गरिएका छन् र केही सामान्य तयारी पनि शुरु भएको छ ।यस्ता भ्रमण वर्षहरुलाई कसरी हेर्ने र यिनले दिर्घकालिन रुपमा पर्यटनको विकासमा उल्लेख्य भूमिका खेल्न सक्लान् वा नसक्लान् भनेर समाजमा चर्चा भइरहेको हुन्छन् ।
एकथरी मानिसहरु यस्ता भ्रमण वर्षलाई फगत ‘नाटक’का रुपमा व्याख्या गर्छन् । र, दीर्घकालिन प्रभावका दृष्टिकोणले यस्ता भ्रमण वर्षहरुलाई निरर्थक ठान्छन् । अर्काथरी मानिसहरु भ्रमण वर्षकै आधारमा पर्यटनको विकास हुने ठान्छन् । र, नेपालको पर्यटनको भविष्यको गोरेटो साँघुरो वा फराकिलो हुनु भ्रमण वर्षको सफलता र असफलतामा निर्भर हुने विश्वास गर्छन् ।
यी दुई विपरित ध्रुवका सोचहरुका अलावा बीच तिरको सोच वा बुझाई पनि कम शक्तिशाली छैन । यस्ता भ्रमण वर्षहरुको अर्थ हुन्छ । तर, सांकेतिक मात्र । यिनले आफैंमा कुनै ठूलो छलाङ लगाउन सक्तैनन् । तर, परिपाटीको शुरुवात भने गर्न सक्छन् । आफैंमा यस्ता भ्रमण वर्षहरुको अस्तित्व हुँदैन तर, निरन्तरतामा भने जीवन्त हुन्छन् ।
उदाहरणको लागि, २०४६ सालको राजनीतिक परिर्वतन पश्चातको छोटो आर्थिक–राजनीतिक रुपले ‘सहजता’ प्राप्त गरेको बखतमा मनाइएको भ्रमण वर्ष १९९८ ले उत्सव र महोत्सवहरुको शुरुवात गर्यो भनिन्छ । आन्तरिक पर्यटनको बिउ पनि यही भ्रमण वर्षले शुरु गरेको मानिन्छ ।
सन् २०११ को भ्रमण वर्षले भने ‘होम स्टे’को चलन शुरु गरेको जानकारहरु बताउँछन् । सन् २०२० को भ्रमण वर्षले चाहीँ नेपाली पर्यटनको सन्दर्भमा के परिपाटी वा संस्कृतिलाई संस्थागत गर्ला भन्ने कुरा अहिले ठोस रुपमा बाहिर आइसकेको छैन ।
मन्त्री भए पश्चात दिएको एक टेलिभिजन अन्तर्वार्तामा योगेश भट्टराईले भनेका थिए, ‘विश्वमा मध्यम वर्ग बढ्दै गएको र उनीहरुमा घुम्ने संस्कृतिको विकास भइरहेको छ । त्यसैले नेपाल अहिले सुन्दर, धार्मिक महत्व आदि भएको देश भएका कारण विश्वको गन्तव्यको रुपमा रहेको छ ।’
पर्यटनको दीर्घकालिन विकासको लागि नेपाल अन्य देश भन्दा सुन्दर छ भन्ने सोच त्याग्दै र अन्य देशभन्दा फरक छ भन्ने सोच अँगाल्दै त्यो फरकपनलाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्दै जानु नेपालको पर्यटन विकासको पहिलो खुड्किलो हो ।
सरोकारवालाहरुदेखि आम नेपालीहरुको बुझाई के छ भने नेपाल अत्यन्तै सुन्दर र विशिष्ट देश हो । नेपाल विश्वकै अनुपम र अदभूत देश हो । यहाँ आएर यसको अदभूत सुन्दरताको रस्वास्वादन नगरे विश्वका अन्य मानिसहरुको एकबारको जुनि नै खेर जान्छ भनेर नेपालीहरुको मन र मष्तिष्कमा कुँदिएको छ । र, यस्तै सोचमा आधारित भएर नेपालको पर्यटनको विकासको आधार खोज्न लागिपरेको देखिन्छ ।
के नेपाल साँच्चै ‘सुन्दर’ देश हो ?
सौन्दर्य चेतना भनेको साँस्कृतिक र मनोवैज्ञानिक अवस्थिति हो । कसैलाई हिमाल सुन्दर लाग्ला भने कसैलाई घाँसे मैदान । कोही पहाडको विराट स्वरुपसँग लोभिएलान भने कोही समुद्रको शालिनता सँग । त्यसैले विश्वका सबै देश आ–आफ्नै ढंगले सुन्दर छन् । तर, एक अर्कासँग फरक छन् ।
नेपाल अन्य देश भन्दा असाध्यै सुन्दर छ भन्ने छाप सायद कविहरुको कविताबाट परेको हुनसक्छ । उदाहरणको लागि, महाकवि देवकोटाले ‘नेपाल, सुन्दर शान्त विशाल’ शीर्षकको निबन्ध लेखेका छन् । त्यहाँ उनले नेपालको सुन्दरताको वयान गरेका छन् ।
यस्तो सुन्दरताको अवधारणालाई सायद संस्थागत गर्ने काम शासकहरुले गरे । त्यसैले सामान्य जनताहरु न्याय, अधिकार, शिक्षा, स्वास्थ्य, रोजगारी, श्वास फेर्ने ताजा हावा, पौष्टिक खानेकुरा आदि केही नपाए पनि नेपाली हुनु प्रति गर्व गरिरहेका भेटिन्छन् ।
र, राजनीति गर्नेहरु पनि बारम्बार ‘तिमीहरु पेटभरी खान नपाएर टाक्सिदैं गए पनि के भयो त ? तिमीहरु जन्मेको देश नेपाल संसारकै सुन्दर देश हो, तिमीहरु विश्वकै विशिष्ट जाति हौ’ भनेर अल्मल्याउँदै आएका छन् ।
कविहरुको फराकिलो कल्पनाशीलता, गहिरो भावना र भाषाको लालित्यको कुनै जवाफ छैन । उनीहरुको देश प्रेमको तीव्र भावनालाई आधार बनाएर आफ्नो अक्षमता ढाक्ने र त्यसैका आधारमा राजनीतिक, सामाजिक र आर्थिक अवधारणा निर्माण गर्ने भन्ने हुँदैन ।
पर्यटनको दीर्घकालिन विकासको लागि नेपाल अन्य देश भन्दा सुन्दर छ भन्ने सोच त्याग्दै र अन्य देशभन्दा फरक छ भन्ने सोच अँगाल्दै त्यो फरकपनलाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्दै जानु नेपालको पर्यटन विकासको पहिलो खुड्किलो हो ।
अन्य पर्यटकीय उत्पादनका कुरा
चाणक्य पोष्टसँगको पछिल्लो कुराकानीमा भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले नेपालले यो पटक वन्यजन्तुलाई प्रमुख पर्यटकीय उत्पादनको रुपमा अघि सारेको बताए ।
ढाका टोपी लगाउने नेपालको सबै जातजातीको संस्कृति होइन । तर, १० वर्ष अघिसम्म पनि नेपालको नागरिक हुनका लागि ढाका टोपी लगाएर खिचिएको फोटोकै आवश्यकता पर्दथ्यो । नयाँ संविधान निर्माण पश्चात् पनि राज्य सत्ता हाँक्ने मानिसहरुमा विविधतालाई हार्दिक रुपले नतमस्तक हुँदै स्वीकार्न सक्ने चेतनाको विकास भइसकेको छैन ।
केन्या वा अफ्रिकाका अन्य देशहरुको विशाल घाँसे मैदानमा सिंह वा जेब्राको बथान हेर्न छाडेर गुणस्तरीय पर्यटक चितवनको हात्ती चढेर ‘ब्रोइलर’ गैंडा हेर्न आउलान् त ? भन्ने चाणक्य पोष्टको प्रश्नमा उनले विश्वका लोपोन्मुख जनावरहरु बाघ, रेड पाण्डा र हिउँ चितुवा नेपालमा रेहको बताए । र, नेपालमा चराहरुमा पनि अत्यन्तै धेरै विविधता रहेको दलिल पेश गरे ।
तर, समस्या के भइदियो भने वैद्यले भनेका जनावरहरु र चराचुरुङगी नेपालमा छन् तर, पर्यटकीय उत्पादनको रुपमा छैनन् । पर्यटक नेपाल बाघ हेर्न आए भने कहाँ र कसरी हेर्ने त ? वा, कुन मौसममा बाघ चितवन, बर्दिया वा अन्य निकुञ्जहरुमा बढी देखिन्छन् ? बाघको प्रजननको समय कुन हो ? यस्ता प्रश्नहरुको जवाफ खोज्दै बाघ हेर्न आउने पर्यटकहरुलाई कम्तिमा एक पटक बाघ देखाउने बन्दोवस्त त गर्न सक्नैपर्छ ।
होइन भने त, छ भनिएको तर, कहिल्यै पनि मुलुकको आर्थिक विकासको लागि काम नआएको तामा, फलाम खानी वा पेट्रोलियम पर्दाथ र बाघका बीच के नै फरक भयो त ? भ्रमण वर्ष मनाउन कस्सिएको सरकार र संयोजक वैद्यले यो प्रश्नको जवाफ खोज्नैपर्छ ।
पर्यटन प्रर्बद्धन र साँस्कृतिक विविधता
कुराकानीको क्रममा वैद्यले नेपालमा साँस्कृतिक र जातिय विविधतालाई पनि नेपालको पर्यटन प्रर्बद्धनका लागि प्रयोग गरिने बताए । पक्कै पनि यति सानो भूगोलमा यति धेरै जात–जाती र विभिन्न साँस्कृतिक पृष्ठभूमिका मानिसहरुको बसोबास हुनु नेपालको बलियो प्रतिस्पर्धात्मक क्षमता हो ।
तर, समस्या के छ भने विगत धेरै दशकदेखि एउटै भाषा, एउटै भेष इत्यादीको नाउँमा नेपालका तमाम साँस्कृतिक विविधताहरुलाई र उनीहरुले हजारौं वर्षदेखि आफ्नो जीवन धान्नका लागि प्रकिृतिसँग संर्घष र अन्तरक्रिया गर्दै विकास गरेको संस्कृति राज्यले संस्थागत रुपमै ध्वस्त पार्दै आएको छ ।
खानाको पर्यटनमा कति महत्व हुन्छ भन्ने कुरा मानिसहरु इटालीमा पिज्जा वा पास्ता खान र भारत ‘करी’ वा हैदरावादी विरियानी खान आएबाटै पुष्टि हुन्छ ।
एउटा सामान्य उदाहरणले नै यसको पुष्टि गर्छ । ढाका टोपी लगाउने नेपालको सबै जातजातीको संस्कृति होइन । तर, १० वर्ष अघिसम्म पनि नेपालको नागरिक हुनका लागि ढाका टोपी लगाएर खिचिएको फोटोकै आवश्यकता पर्दथ्यो । नयाँ संविधान निर्माण पश्चात् पनि राज्य सत्ता हाँक्ने मानिसहरुमा विविधतालाई हार्दिक रुपले नतमस्तक हुँदै स्वीकार्न सक्ने चेतनाको विकास भइसकेको छैन ।
अहिलेका प्रधानमन्त्री खड्ग प्रसाद ओलीका केही सार्वजनिक अभिव्यक्तिहरुलाई उदाहरणको रुपमा लिन सकिन्छ ।
‘नेपालीले जति खानेकुरा खान कसैले जानेको छैन । दाल, भात, तरकारी, अचार र त्यतिले पनि नपुगे करप्प खुर्सानी टोके पनि भयो । गोरेको त खाए पनि नखाए पनि त्यही पाउरोटी !’
उन्नत खाद्य संस्कृति भएका नेवार, थारु, राजवंशी, थकाली आदिको पाककलाको संरक्षण गर्न राज्यले कुनै ठोस कदम चालेको छैन । उनीहरुको पाककलाको विविधता र पहिचान प्रधानमन्त्रीको सार्वजनिक अभिव्यक्तिको हिस्सा बन्न सकेको छैन ।
दुःखको कुरा, कुनै समय राँगाको शरिरका हरेक भागबाट फरक फरक परिकार बनाउन सक्ने नेवारहरुले त्यो पाककला छोड्दै आएका छन् । नेपाली प्रष्ट बोल्न नजान्दा वा नेवारी लवजमा बोल्नुपर्दा हिनताबोध पाल्न थालेका छन् । तर, हाम्रो पाककला विशिष्ट छ भनेर दावी गर्ने राज्यले यसको जर्गेना गर्न सकेको छैन ।
पहाडिया खस आर्यले पहाडमा जमिन कम हुने, तरकारी धेरै नफल्ने र त्यही थोरै तरकारीमा पानी हालेर तिहुन बनाएर थोरै तिहुनमा धेरै भात खानु पर्ने बाध्यताका बेला घाँटीबाट नछिर्दा खुर्सानी टोकेको अवस्थालाई प्रधानमन्त्रीले उन्नत खाद्य संस्कृतिको रुपमा अथ्र्याएका छन् ।
खानाको पर्यटनमा कति महत्व हुन्छ भन्ने कुरा मानिसहरु इटालीमा पिज्जा वा पास्ता खान र भारत ‘करी’ वा हैदरावादी विरियानी खान आएबाटै पुष्टि हुन्छ ।
अब, हरियो खुर्सानी टोक्न त मान्छे कसरी ल्याउने ? त्यसैले साँस्कृतिक विविधतालाई पर्यटकीय उत्पादनको रुपमा विकास गर्ने भन्ने कुराले राज्यको वृहत्तर सामाजिक र राजनीतिक प्रक्रियासँग सम्बन्ध राख्छ ।
नेपालमा सबैजातजातीलाई समान हैसियत, समानुपातिक प्रतिनिधित्व र पहचान स्थापित गर्नुपर्ने महशुस गरेरै पहिचान सहितको संघीयताको अवधारणा शुरु भएको पनि हो ।तर, यसको लागि लडेका र हजारौंको ज्यान गुम्ने आन्दोलनको नेतृत्व गरेका पुष्पकमल दाहालले नै सार्वजनिक रुपमै ‘हामीले कस्तो संघीयता रोपेको कस्तो पो जन्मियो’ भनेर निरिहता प्रकट गरेबाट नै सबै कुरा छर्लङ्ग हुन्छ ।
समाजमा कुनै पनि क्षेत्रको एकाङकी विकास संभव छैन । विकास समग्रतामै हुन्छ । होइन भने, भ्रमण वर्षको नाममा सामान्य तामझम गरेर ट्रेकिङ गर्न आएका केही तेस्रो मुलुकका विदेशीहरु र खाजा सामल सबै बोकेर ‘जोर से बोलो ! जय माता दि !’ भन्दै आउने भारतीय पर्यटकहरुको गन्ती गरेरै भ्रमण वर्ष सफल भएको र पर्यटनको विकास भएको डम्फु पिटे भैहाल्यो ।
त्यसैले सरकार र वैद्यले नेपालको पर्यटनमा यहाँको साँस्कृतिक विविधतालाई उपयोग गर्ने भन्ने विषय नेपालको पहिचान, सम्मान र प्रतिनिधित्वको सम्रग राजनीतिक र सामाजिक प्रक्रियासँग जोडिएको विषय हो । दुई–चार वटा जातजातीलाई खुल्लामञ्चमा झाँकी देखाउन लगाएर साँस्कृतिक विविधताको प्रर्बद्धन गर्न उनीहरुले खोजेका हुन् भने त्यो हाँस्यास्पद र सतही हुन्छ ।
शैक्षिक र स्वास्थ पर्यटनको पनि महत्वपूर्ण हिस्सा हुन्छ आधुनिक पर्यटनमा । नेपालको सार्वजनिक, निजी र विश्वविद्यालय स्तरको शिक्षाको अवस्था बारे खासै टिप्पणी नै गर्न पर्दैन । राम्रो र गुणस्तरिय शिक्षाको लागि नेपालका विद्यार्थीहरु नै सकेसम्म विदेश जान प्रयास गरिरहेको अवस्थामा विदेशी यहाँ पढ्न आउने भन्ने कुरै भएन । विश्वविद्यालयमा नतिजा नै हेरफेर हुने कुरा पुष्टि भैसकेको छ ।
थोरबहुत पैसा भएका र आफ्नो गोजीबाट उपचार खर्च जुटाउनु नपर्ने नेताहरु विदेश उपचार गर्न गएबाटै नेपालको स्वास्थ्य क्षेत्रको क्षमता उजागर हुन्छ र यसले पनि तत्कालका लागि स्वास्थ्य पर्यटनको ढोका बन्द गर्छ ।
लेखको शुरुवातमै भनियो, भ्रमण वर्ष जस्ता कार्यक्रमको सांकेतिक महत्व मात्र हुन्छ । पर्यटनको दीर्घकालिन विकासको ‘आन्द्रा’ भने नेपालको अन्य क्षेत्रको पनि ‘साइमलटेनियस’ (एकसाथ) विकाससँग गाँसिएको छ ।
आफ्ना जनतालाई दुई छाक खुवाउन सक्ने, सफा हावामा श्वास फेर्ने बन्दोवस्त मिलाउन सक्ने र रोजगारी दिन सक्ने राज्य त्यसै सुन्दर हुन्छ । बाघ दर्शनलाई प्रभावकारी पर्यटकीय उत्पादन बनाउन सक्ने राज्यले फलाम, तामा र पेट्रोलको पनि उत्खनन गर्न सक्छ ।
आफ्ना देशका सबै जातजातीलाई सम्मान गर्न सक्ने राज्यले उनीहरुको मौलीक संस्कृति प्रर्बद्धन गर्न पनि सकिहाल्छ । आफ्ना जनतालाई राम्रो र गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध गराउन सक्ने राज्यले विदेशीलाई पनि त्यही सेवा दिन सकिहाल्छ ।
समाजमा कुनै पनि क्षेत्रको एकाङकी विकास संभव छैन । विकास समग्रतामै हुन्छ । होइन भने, भ्रमण वर्षको नाममा सामान्य तामझम गरेर ट्रेकिङ गर्न आएका केही तेस्रो मुलुकका विदेशीहरु र खाजा सामल सबै बोकेर ‘जोर से बोलो ! जय माता दि !’ भन्दै आउने भारतीय पर्यटकहरुको गन्ती गरेरै भ्रमण वर्ष सफल भएको र पर्यटनको विकास भएको डम्फु पिटे भैहाल्यो ।