एमसीसी पारित गर्न निजी क्षेत्रको माग

काठमाडौं । निजी क्षेत्रका व्यवसायी सङ्गठनले नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू गर्न माग गरेका छन् ।

 

बुधबार संयुक्त विज्ञप्ति जारी गदै नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी पास गर्न माग गरेका हुन् ।

 

‘कोभिड–१९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत् निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसीसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसद्बाट तत्काल एमसीसी पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवाला समक्ष आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

 

दुई देशबीच भएको सम्झौताअनुसार विद्युत् प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अझै अघि बढ्न नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत् प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने विज्ञप्तिमा उल्लेख छ ।

 

‘एमसीसी अन्तर्गतका आयोजना सुरु भएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागिसमेत नमूना बन्न सक्ने छ, युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसीसीअन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ, पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप प्रभावित हुनु हुँदैन भन्नेमा हामी स्पष्ट छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

३० प्रतिशत मात्र बिक्यो बसको अग्रिम टिकट, व्यवसायी भन्छन्- दशैंमा पनि यात्रु नपाइने भइयो Read Previous

३० प्रतिशत मात्र बिक्यो बसको अग्रिम टिकट, व्यवसायी भन्छन्- दशैंमा पनि यात्रु नपाइने भइयो

उपत्यकामा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो, अब चढ्ने बित्तिकै कति तिर्नु पर्छ ? Read Next

उपत्यकामा गुड्ने सार्वजनिक गाडीको भाडा बढ्यो, अब चढ्ने बित्तिकै कति तिर्नु पर्छ ?