काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडामा वृद्धि भएको छ ।
वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आज काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको हो । वाग्मती प्रदेशमा १३ जिल्ला छन् ।
काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको वाग्मती प्रदेश सरकारले काठमाडौँ उपत्यकामा भने किलोमिटरका आधारमा भाडा बढाएको हो ।
उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि ५ किलोमिटरसम्म १८ रुपैयाँ, १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडादर कायम गरेको छ ।
यससँगै अब यात्रुले सार्वजनिक सवारीसाधन चढ्ने बित्तिकै १८ रुपैयाँ तिर्नु पर्नेछ । यसअघि, सार्वजनिक यातायातको सबैभन्दा छोटो दूरीको न्यूनतम भाडा १३ रुपैयाँ तोकिएको थियो । यद्यपि, यातायात व्यवसायीले भने १५ रुपैयाँ लिँदै आएका थिए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विसं २०७८ असार २७ को मन्त्रिस्तरको निर्णयानुसार यातायात व्यवस्था विभागबाट विसं २०७८ असार २९ गते अन्तर प्रदेश रुटको भाडा समायोजन गरेर प्रदेशभित्र सञ्चालन हुने छोटो रुटको हकमा प्रदेश सरकारबाट नै भाडा समायोजन गरिनुपर्ने कानूनी व्यवस्था गरेको थियो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक सवारी साधनमा भाडा वृद्धि गरे पनि ट्याक्सीको हकमा भाडा वृद्धि नगर्नु दुःखद् भएको बताएको छ ।