नेपालकै उच्च स्थानमा रहेको चन्द्रागिरिको जिपलाइन खेल्न कति लाग्छ खर्च ?
चाणक्य पोष्ट
प्रकाशित : 2:44 pm, शुक्रबार, भदौ २५, २०७८

Advertisement Section

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’मा जिपलाइन सञ्चालनमा आएसँगै स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक बढ्दै गएको छ । चन्द्रागिरि हिल्स प्रालिले गत सातादेखि नेपालकै उच्च स्थान चन्द्रागिरिमा जिपलाइन सञ्चालनमा ल्याएको थियो ।

 

नुवाकोटको गेर्खुबाट चन्द्रागिरि घुम्न आएका दिपेश प्याकुरेलले जिपलाइनको मज्जा लिँदा दङ्ग परे । ‘केबलकार त यसअघि पनि चढेको थिए, जिपलाइन सञ्चालन भएको थाहा पाएर पुनः यहाँ घुम्न आएको हुँ ,’ उनले भने।

 

स्याङ्जाका वेदबहादुर कार्कीले पनि पहिलो पटक सो स्थानमा पुगेका थिए । चन्द्रागिरि नगरपालिका–१० सतुङ्गलमा बस्दै आएका उनले यसअघि सो स्थानमा पुगे पनि जिपलाइनको मज्जा लिन दोस्रोपटक आएको जानकारी दिए । ‘यहाँ जिपलाइन सञ्चालन आएको खबर सुने,बिदाका दिनमा यसो घुमौं भनेर आएको हुँ,’ उनले भने ।

 

चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेक विक्रम शाह स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यस्थलका रुपमा चन्द्रागिरिलाई विकास गर्नका लागि जिपलाइन सञ्चालनमा ल्याएको जानकारी दिए । भालेश्वर मन्दिर नजिकदेखि बाल खेल बगैँचासम्म निर्माण गरिएको उक्त जिपलाइनको मज्जा लिनका लागि ४०० रुपैयाँ लाग्नेछ । ‘आन्तरिक तथा वाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने नीति लिएका छौँ,’ उनले भने।

अष्ट्रियाली ‘डोब्बलमेयर’ कम्पनीले निर्माण गरेको चन्द्रागिरि केबलकारको लम्बाइ कूल २ किलोमिटर ४६० मिटर छ । यसका मार्गमा ११ टावर छन् । यात्रु बोक्ने ३८ र समान बोक्ने तीन गरी कूल ४१ गोण्डला छन् । चन्द्रागिरि डाँडोमा पुग्न थानकोट स्टेशनबाट ९ देखि १४ मिनेट लाग्ने छ ।

 

केबलकारको एक डिब्बामा ८ व्यक्ति ओहोरदोहोर गर्न मिल्छ । पछिल्लो समय कोरोनाका कारण विदेशी पर्यटक घटेको चन्द्रागिरिमा आन्तरिक पर्यटक भने बढ्दै गएका छन् । रु ७० लाख लगानीमा निर्माण गरिएको जिपलाइनको लम्बाई १०० मिटर छ ।

 

चन्द्रागिरि हिल्स प्रालिले चन्द्रागिरिमा रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ । अहिले काठमाडौँको व्यस्त दैनिक जीवनलाई केही हदसम्म आराम लिन र हप्ताभरीको थकान भुलाउन आन्तरिक तथा बाह्य पर्यटक रिसोर्ट पुग्ने गरेका छन् । झण्डै ८ महिना बन्द रहेको रिसोर्टले पछिल्लो समय रिसोर्टमा आउने पर्यटकलाई लक्षित गरेर सहुलियत प्याकेज सञ्चालनमा ल्याएको छ ।

 

सहुलियत प्याकेटमा एक जोडीलाई एकरात डिलक्स कोठामा बसेको र बिहानको ‘ब्रेकफास्ट’सहित ९ हजार रुपैयाँ शुल्क व्यवस्था गरिएको महाप्रबन्धक शाहको भनाइ छ । रिसोर्टमा हाल एक रात बसेको ९ हजारदेखि ३० हजारसम्म लाग्ने कोठा छन् । रासस

Advertisement Section