काठमाडौं । नेपालबाट अधिकांश श्रम गन्तव्य मुलुकमा नियमित हवाई उडान खुले पनि छिमेकी मुलुक चीनसहित ४ मुलुकका लागि अझै सुचारु हुन सकेको छैन ।
नेपालमा कोभिड संक्रमण कायम रहेका कारण सम्बन्धित देशहरुले उडानका लागि अुमति नदिँदा नियमित हवाइ सेवा संचालन हुन नसकेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले धेरै आवतजावत हुने चीन, जापान, अस्ट्रेलिया, बंगलादेश, भुटान लगायत देशका लागि नियमित हवाई उडान संचालन हुन सकेको छैन । साथै, ट्रान्टिज भएर जानु पर्ने कतिपय राष्ट्रहरु समेत उडान हुन नसकेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले नेपालको कारण नभई गन्तव्य देशहरुले उडान अनुमति नदिँदा ती दिेशहरुमा नियमित हवाइ उडान सुचारु हुन नसकेको हो ।
उनले नेपालमा ८० प्रतिशत कोभिड खोप नलगाएसम्मका लागि ती देशहरुले नेपालका उडानहरुमा रोक लगाएको बताए । उक्त देशहरुले उडान खुलाउन चाहे जहिले सुकै उडान शुरु गर्न प्राधिकरण तयार रहेको उनले बताए ।
‘हाम्रो कारण अन्तर्राष्ट्रिय उडान रोकिएको हैन, उही देशबाट उडान गर्न नपाउने भनेर उनीहरुले आफैंले उडान रोकेका हुन, उनीहरुले उडान गर्न दिए हामी जुनसुकै बेला उडान सुचारु गर्न तयार छौँ,’ क्षेत्रीले चाणक्य पोष्टसँग भने ।
हाल कुन देशमा कति उडान भइरहेको छ ?
यही सेप्टेम्बरदेखि अधिकांश श्रम गन्तव्य मुलुकमा नियमित उडान भइरहेको छ । प्रवक्ता क्षेत्रीका अनुसार हाल भारतको नयाँ, दिल्ली, हङकङ, दुबई, कतार, साउदी अरब, कुवेत, मलेसिया, टर्कीलगायत प्रमुख गन्तव्यमा नियमित उडान भइरहेको छ ।
प्राधिकरणका अनुसार हाल भारतको नयाँ दिल्लीका लागि सातामा १० उडान भइरहेको छ । नयाँ दिल्लीका लागि नेपाल एयर लाइन्सले दैनिक एउटा र एयर इन्डियाले साताको तीन (आइतबार, मंगलबार र शुक्रबार) उडान गरिरहेको छ ।
यस्तै, एयर अरेबियाले यूएईबाट काठमाडौंका लागि दैनिक ३ उडान गर्ने अनुमति पाएको छ । एयर अरेबियाले सारजहा विमानस्थलबाट दैनिक दुई र आबुधाबीबाट हरेक दिन काठमाडौंका लागि एक गरी तीन उडान गर्नेछ । यस्तै, फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट काठमाडौंका लागि सातामा १० उडान भइरहेको छ ।
हिमालय एयरलाइन्सले काठमाडौंबाट मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सोमबार बाहेक साताको ६ उडान गर्दै आएको छ । यस्तै, हिमालयनले दुबई विमानस्थलमा शुक्रबार बाहेक साताको ६ उडान र कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा सातामा ७ उडान गर्ने प्राधिकरणको तालिका छ ।
यस्तै, जजिरा एयरवेज कुवेतबाट दैनिक एक, कोरियन एयरले दक्षिण कोरियाबाट हरेक बुधबार, मलेसिया एयरलाइन्सले हरेक शनिबार, मालिन्दो एयरले क्वालालाम्पुरबाट साताको चार (सोमबार, बुधबार, शुक्रबार र शनिबार) काठमाडौंका लागि उडान गर्नेछ ।
सलाम एयरले ओमनका लागि उडान गरिरहेको छ । सिंगापुर एयरलाइन्सले सिङगापुरका लागि लगानी दैनिक दुई वटा उडान गरिरहेको छ । श्रीलंका एयरलाइन्सले श्रीकलंका लागि साताका २ वटा उडान गरिरहेको छ । टर्किस् एयरलाइनसले टर्किका लागि दैनिक दुई उडान गरिरहेको छ ।