आफ्ना सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन विकास बैंकहरूको माग

काठमाडौं । विकास बैंकहरूले आफ्ना सहायक कम्पनीलाई पनि सेयर ब्रोकरको लाइसेन्स दिन माग गरेका छन् । डेभलपमेन्ट बैंकर्स संघले बुधबार एक विज्ञप्ति जारी गर्दै सेयर ब्रोकरको काम गर्न अनुमति दिन नेपाल धितोपत्र बोर्डसँग माग गरेको हो ।

 

‘धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ६२ मा ‘बोर्डको सिफारिसमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी प्रचलित कानून बमोजिम स्थापना भएका बैंक वा वित्तीय संस्थाले आफ्नो सहायक कम्पनी मार्फत मात्र धितोपत्र व्यवसाय गर्न पाउने गरी तोकिदिन सक्नेछ’ संघले बोर्डलाई लेखेको पत्रमा भनिएको छ, ‘ सोही ऐनलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकारबाट स्वीकृति लिइ नेपाल धितोपत्र बोर्डले बनाएको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को दफा ७ को १ नं. बुंदामा ‘प्रचलित कानून बमोजिम स्थापना भएको ‘क’ वर्गका बैंक वा विशेष ऐन द्वारा स्थापित वित्तीय संस्थाको कम्तिमा ५१ प्रतिशत स्वामित्व भएको सहायक कम्पनीले बोर्डबाट अनुमतिपत्र प्राप्त गरी धितोपत्र दलाल वा धितोपत्र व्यापारीको कार्य गर्न सक्नेछ ।’

 

विकास बैंकहरूले कम्पनी ऐन २०६३ अनुसार स्थापना भइ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त लिइ बैंकिङ् सेवा प्रदान गर्दछन् ।

 

राष्ट्रिय स्तरका बिकास बैंकहरूको औषत चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँ नाघिसकेको छ । विकास बैंकहरूले हाल १ हजार बढी शाखाबाट करिव ४१ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएका छन् । गत असार मसान्तसम्म विकास बैंकहरूले ४४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३८३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

पहिरोले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध Read Previous

पहिरोले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

अमेरिकाद्धारा अफगानी केन्द्रीय बैंकको सवा ११ खर्ब सम्पत्ति रोक्का Read Next

अमेरिकाद्धारा अफगानी केन्द्रीय बैंकको सवा ११ खर्ब सम्पत्ति रोक्का