एजेन्सी । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको करिब ९.५ बिलियन अमेरिकी डलर (करिब ११ खर्ब २८ अर्ब नेपाली रुपैया) रकम रोक्का गरेको छ ।
यसैसाता तालिबानले अफागानिस्तानको सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्ना बैंकहरूमा रहेको पैसा रोक्का (फ्रिज) गरेको हो । साथै, मुद्रा शिपमेन्ट पनि रोक्ने निर्णय गरेको हो ।
अमेरिकाले रोक्क गरेसँगै अब तालिबानले उक्त रकम प्रयोग गर्न नपाउने अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।
अमेरिकी अधिकारीहरुका अनुसार अमेरिकामा रहेको केन्द्रीय बैंकको सम्पत्ति र रकम तालिबानका लागि उपलब्ध हुने छैन । अफगानिस्तानको ९.५ बिलियन डलर मूल्यको सम्पत्ति अमेरिकाको ट्रेजरी डिपार्टमेन्टको ‘स्यान्कसन लिस्ट’मा रहेको छ ।
‘फ्रिज’ गरिएको अफगानी केन्द्रीय बैंकको रकम न्यूयोर्क फेडरल रिजर्भ र अमेरिकास्थित अन्य वित्तीय संस्थामा राखिएको छ । अफगानी केन्द्रीय बैंकको अधिकांश सम्पत्ति अफगानिस्तान बाहिर रहेको बताइन्छ ।