वाणिज्य बैंकहरुको वितरण योग्य नाफा साढे ४५ अर्ब, कुनको लाभांश क्षमता कति (सूची सहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरु सबैले गत आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरणमा सार्वजनिक गरेका छन् ।

 

सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा व्यापारसँगै मुनाफा पनि बढाउन सफल भएका छन् ।

 

बैंकहरुले निक्षेप संकलन, कर्जा प्रवाह, खुद नाफा, ब्याज आम्दानी, प्रतिसेयर आम्दानी लगायतका महत्वपूर्ण सूचकमा बढोत्तरी गरेका छन् ।

 

गत वर्ष ६५ अर्ब ४४ करोड खुद नाफा आर्जन गरेका वाणिज्य बैंकहरुको केन्द्रीय बैंकले तोकेको शीर्षकहरुमा नियामकीय व्यवस्था अनुसार रिजर्भ राखेपछि वितरणयोग्य मुनाफा भने ४५ अर्ब ४० करोड रहेको छ ।

 

बैंकहरुको लाभांश वितरण गर्ने क्षमता दुईवटा तथ्याकंले निक्र्यौल गर्दछ । पहिलो वितरण योग्य मुनाफा र अर्को सेयर प्रिमियममा रहेको रकमका आधारमा बैंकहरुले अब प्रस्ताव गर्ने बोनस शेयर वा नगद लाभांशको आकार निर्धारण गर्दछ ।

 

सेयर प्रिमियम भनेको बैंकले मर्ज वा एक्वीजीसन गर्दा बाँकी रहेको शेयर प्रिमियर वा प्रिमियममा एफपिओ जारी गर्दा नाफा भएको रकमको जोडलाई मानिन्छ । यस्तो रकममा नेपाल बैंकको ३ अर्ब २६ करोड र एनएमबी बैंकको २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।

 

राष्ट्र बैंकको निर्देशन अनुसार शेयर प्रिमियम रहेको रकम नगद लाभांशकोरुपमा बाँड्न नपाउने व्यवस्था रहेकोे छ । यस्तो प्रिमियमको रुपमा जम्मा भएको रकम बोनस सेयरको रुपमा मात्र बाँड्न पाइनेछ । कति लाभांश प्रस्ताव गर्ने भर्ने सम्पूर्ण अधिकार भने कम्पनीको सञ्चालक समितिमा निहित रहनेछ ।

 

लाभांश क्षमतामा नेपाल बैंक अगाडि

 

सबैभन्दा धेरै लाभांश क्षमता नेपाल बैंकको रहेको छ । बैंकले गत वर्षको नाफाबाटा करीब ३१ प्रतिशत तथा शेयर प्रिमियमबाट ३३ प्रतिशत गरी ६४ प्रतिशतसम्म लाभांश दिने क्षमता रहेको छ ।

 

त्यस्तै दोस्रोमा एनएमबी बैंकको गत बर्षको नाफाबाट १३ प्रतिशत तथा शेयर प्रिमियमबाट २६ प्रतिशत गरि ३९ प्रतिसत सम्म लाभांस प्रस्ताब गर्ने क्षमता रहेको छ ।

 

लाभांश क्षमताको आधारमा सेञ्चुरी र सिभिल बैंक सबैभन्दा कमजोर देखिएका छन् । सिभिलको वितरण योग्य नाफा ५५ करोड रहेको छ भने सेञ्चुरीको साढे ५३ करोड रहेको छ । यसबाट यी बैंकले बैंकले ७% सम्म लाभांश बाँड्न सक्ने क्षमता राख्दछ ।

बैंकको खुद नाफामा २५ प्रतिशतले वृद्धि

 

आर्थिक वर्ष ०७५/७६ को चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले कुल ६५ अर्ब ४४ करोड खुद नाफा आर्जन गरेका छन् । यो रकम आर्थिक वर्ष २०७४/७५ को सोही अवधिको तुलनामा १३ अर्ब ४ करोड (२५ प्रतिशत) ले बढी हो । अघिल्लो आर्थिक वर्षमा यसै अवधिसम्ममा यी बैंकले ५२ अर्ब ३४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।

 

वाणिज्य बैंकहरुले गत वर्ष १७ खर्ब १० अर्ब भन्दा बढी निक्षेप संकलन गरी १४ खर्ब ४० अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन् । बैंकहरुले कर्जा लगानीबाट प्राप्त हुने ब्याजबाट मात्र १ खर्ब २५ अर्ब भन्दा बढी आम्दानी गरेका छन् ।

 

चौथो त्रैमाससम्ममा वाणिज्य बैंकले बैंकहरूको खुद ब्याज आम्दानी २२.६५ प्रतिशत बढेर ५४ अर्ब ८५ करोड ५४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा यी बैंकको ब्याज आम्दानी ४४ अर्ब ७२ करोड ४५ लाख थियो । यो अघिल्लो वर्षको तुलनामा १० अर्ब १३ करोड ९ लाखले बढी हो ।

 

खुद नाफामा एनआइसी एशिया र प्रभुको चमत्कार

 

गत वर्षमा खुद नाफा आर्जनमा एनआसी एशिया र प्रभु बैंकले चमत्कार गरेका छन् । पछिल्लो समय शाखा विस्तार तथा कर्जा लगानीमा आक्रमक बनेको एनआसी एशियाले नाफामा १२९.३२% ले वृद्धि गर्दै ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा १ अर्ब ७२ करोडले बढी हो । बैंकले अघिल्लो वर्षमा १ अर्ब ३३ करोड खुद नाफा कमाएको थियो ।

 

यस्तै प्रभु बैंकले पनि नाफामा ११२.०५% ले नाफा वृद्धि गरेको छ । प्रभुले गत वर्ष २ अर्ब ५ करोड ६ लाख नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा १ अर्ब ८ करोड ३६ लाखले बढी हो ।

 

३ बैंकको नाफामा गिरावट

 

२८ वटा वाणिज्य बैंकहरुमध्ये सरकारी स्वामित्वको नेपाल बैंक र निजी क्षेत्रका नेपाल इन्भेष्टमेन्ट र सेञ्चुरी बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ प्रतिशतले नाफा घटेर २ अर्ब ६१ करोड रुपैयाँमा झरेको छ ।

 

इन्भेष्टमेन्टको नाफा ६.६६ प्रतिशतले घटेर ३ अर्ब ४१ करोड ५६ लाख रुपैयाँमा आएको छ । बैंकले अघिल्लो वर्षको यसैअवधिमा बैंकले ३ अर्ब ६५ करोड ९३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको ३ वटा ठूला कर्जा बिग्रिँदा १ अर्ब ५० करोड रुपैयाँको प्रोभिजनिङ गर्नु परेको छ । यसले गर्दा निक्षेप तथा ऋण लगानीमा उल्लेख्य सुधार हुँदा पनि नाफामा गिरावट आएको हो ।

 

सेन्चुरी बैंककोनाफा ५.६४ प्रतिशतल घटेर ८६ करोड ८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ९१ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

कसको नाफा कति ?

 

रकमका आधारमा सबैभन्दा धेरै नाफा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले कमाएको छ । बैंकले ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १ अर्ब ६७ करोडले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गरेको थियो ।

 

रकमका आधारमा धेरै नाफा कमाउने दोस्रो बैंकमा पनि सरकारी स्वामित्वकै कृषि विकास बैंक रहेको छ कृषिले ४ अर्ब ३५ करोड ३२ लाख ४७ हजार खुद नाफा कमाउन सफल भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ६५ करोड ३५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो

 

यस्तै धेरै नाफा कमाउने बैंकको सूचीको तेस्रो स्थानमा निजी क्षेत्रद्धारा सञ्चालित नबिल बैंक रहेको छ । नबिलले नाफामा ७.८४ प्रतिशतले बढाएर गत वर्ष ४ अर्ब २९ करोड ४१ लाख रुपैयाँ कमाएको छ ।

 

३ अर्ब रुपैयाँभन्दा धेरै नाफा गर्नेमा एभरेष्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन् । २ अर्ब भन्दा बढी नाफा गर्ने बैंक ९ वटा छन् । यस्तै ११ वटा बैंकले १ अर्ब भन्दा बढी नाफा गरेका छन । सिभिल र सेञ्चुरी बैंक भने अर्बपति क्लबमा पुग्न सकेनन् । रकमका आधारमा सबैभन्दा कम नाफा सिभिल बैंकले ७६ करोड ४ लाख रुपैयाँ कमाएको छ ।

 

नाफाको १९ प्रतिशत हिस्सा सरकारी बैंकको

 

गत वर्ष वाणिज्य बैंकहरुले गरेको कुल नाफाको १८.७८% हिस्सा सरकारी स्वामित्वका बैंकहरुले लिएका छन् । २८ वटा वाणिज्य बैंकले ६५ अर्ब ४४ करोड खुद नाफा गरेका छन् ।

 

जसमा ३ सरकारी बैंकले मात्र १२ अर्ब २९ करोड नाफा आर्जन गरेका छन् । सरकारी बैंकले गरेको यो नाफा निजी क्षेत्रका कम नाफा गर्ने ९ वटा बैंकको नाफा बराबर हो ।

 

 

निजी क्षेत्रका बैंकमा विदेशी लगानीका बैंकको दबदबा

 

निजी क्षेत्रद्धारा सञ्चालन गरिएका २५ वटा वाणिज्य बैंकहरुमध्ये अधिकांश सूचकमा विदेशी लगानीका बैंकहरुको दबदबा रहेको छ । खुद नाफा, ब्याज आम्दानी, निक्षेप संकलन, कर्जा लगानी, प्रतिसेयर आम्दानी लगायतका सूचकमा यी बैंकहरुले अग्रता लिएका छन् ।

 

गत वर्ष बैंकहरुले आर्जन गरेको कुल नाफाको २९% हिस्सा विदेशी लगानीका बैंकहरुले लिएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका २८ मध्ये ७ वटा बैंकमा विदेशी लगानी रहेको छ ।

 

स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, हिमालयन, नेपाल एसबीआई, एनएमबी, नेपाल बंगलादेश बैंकमा विश्वका विभिन्न देशका बैंक तथा कम्पनीहरुको लगानी रहेको छ ।

 

प्रतिसेयर आम्दानी कसको बढी ?

 

अन्य सूचकमा जस्तै प्रतिसेयर आम्दानीमा पनि राष्ट्रिय वाणिज्य बैंक नै अग्र स्थानमा रहेको छ । वाणिज्य बैंकको प्रतिसेयर आम्दानी ५९.१७ रुपैयाँ रहेको छ ।

 

प्रतिसेयर आम्दानीकै आधारमा नविल बैंक र कृषि विकास बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । नबिलको प्रतिसेयर आम्दानी ४७.६७ र कृषिको ४४.६७ रुपैयाँ रहेको छ ।

 

यस्तै, एभरेष्टको ३७.९५ रुपैयाँ रहेको छ भने एनआइसी एशिया, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ३० देखि ३५ रुपैयाँको बीचमा रहेको छ । १३ वटा वाणिज्य बैंकको प्रतिसेयर आम्दानी २० देखि ३० रुपैयाँको बीचमा रहेको छ । सबैभन्दा कम प्रतिसेयर आम्दानी सिभिल बैंकका ९.५० रुपैयाँ रहेको छ ।

 

जगेडा कोषमा कुन बैंक बलियो ?

 

जगेडा कोषको आधारमा सरकारी स्वामित्वका बैंकहरु नै बलिया देखिएका छन् । अघिल्लो वर्षको तुलनामा सञ्चित कोषमा १२.३९% ले कमी आए पनि नेपाल बैंकको जगेडा कोष सबैभन्दा धेरै छ ।

 

नेपालको रिजर्भ कोषमा १३ अर्ब ३४ करोड ५३ लाख रुपैयाँ रहेको छ । यस्तै सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकको पनि रिजर्भ कोषमा १३ अर्ब रहेको छ भने कृषिको कोषमा १० अर्ब भन्दा बढी रकम रहेको छ ।

 

निजी क्षेत्रका बैंकहरु मध्येमा जगेडा कोषका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक बलियो रहेको छ । इन्भेष्टमेन्टको रिजर्भमा १० अर्ब ९५ करोड सञ्चित रहेको छ । यस्तै, नबिलको रिजर्भमा ९ अर्ब भन्दा बढी रहेको छ ।

 

यता जगेडा कोषकै आधारमा सेञ्चुरी कमर्सियल बैंक सबैभन्दा कमजोर देखिएको छ । बैंकको कोषमा १ अर्ब ३ करोड रुपैयाँ मात्र सञ्चित छ ।

 

एनसीसीको अझै पुगेन चुक्ता पूँजी

 

आर्थिक वर्षको अन्त्यसम्ममा एनसीसी बाहेक सबैले राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम ८ अर्ब चुक्ता पूँजी पुर्याएका छन् । एनसीसी बैंकले भने असार मसान्त सम्ममा राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पुर्याएको छैन् ।

 

यसको चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख मात्र रहेको । एनसीसी २०७४/७५ को नाफाबाट १५.८९% बोनस सेयर वितरण गरेर चुक्ता पूँजी पुर्याउने घोषणा गरिसकेको छ ।

 

सरकारी स्वामित्व रहेको कृषि विकास बैंकको चुक्ता पूँजी सबैभन्दा १४ अर्ब ४४ करोड ८२ लाख रहेको छ । जसमा सरकारको अग्राधिकार सेयर ५ अर्ब ४३ करोड २७ लाख १२ हजार र सर्वसाधरणको ९ अर्ब १ करोड ५५ लाख २९ हजार रुपैयाँ रहेको छ ।

 

चुक्ता पूँजीकै आधारमा निजी क्षेत्रको इन्भेष्टमेन्ट बैंक दोस्रो स्थानमा रहेको छ । इन्भेष्टमेन्टको आर्थिक वर्षको अन्त्यसम्म १२ अर्ब ८६ करोड रहेको छ । यस्तै, निजी क्षेत्रकै ग्लोबल आइएमई र मेगा बैंकको पनि १० अर्ब भन्दा बढी चुक्ता पूँजी रहेको छ ।

 

राष्ट्रिय वाणिज्य बैंकको नाफा सर्वसाधरणलाई ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’

 

गत वर्ष सबैभन्दा धेरै नाफा कमाएकोे राष्ट्रिय वाणिज्य बैंकको नाफा सर्वसाधरणको लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मत’ जस्तै हो । यस बैंकमा सर्वसाधरणको १ कित्ता पनि सेयर स्वामित्व रहेको छैन ।

 

यो पूर्ण सरकारी स्वामित्वको बैंक हो । वितरण योग्य नाफा ३ अर्ब भन्दा बढी भएतापनि यसबाट सर्वसाधरणले लाभांश पाउने छैनन् ।

 

वाणिज्य बैंकमा सर्वसाधरणको कम्तिमा ३०% सेयर स्वामित्व रहनुपर्ने नियम भएपनि सरकारले यसको सेयर अहिलेसम्म सर्वसाधरणलाई जारी गरेको छैन् । तसर्थ, सर्वसाधरणको लागि वाणिज्य बैंकको लोभलाग्दो प्रगति हेरेर बस्नु सिवाय अरु कुनै विकल्प छैन् ।

 

  • माथि उल्लेखित तथ्यांकहरु बैंकहरुले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार तयार पारिएको हो ।
२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक Read Previous

२ अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइ Read Next

सुदूरपश्चिम प्रदेशमा शत प्रतिशत धान रोपाइ