उद्योगमा तत्काल विद्युत् नियमित गर्न नेपाल उद्योग परिसंघको माग

काठमाडौं । नेपाल उद्योग परिसंघले उद्योगहरूमा लोडसेडिङ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै अहिले दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरूलाई प्रताडित पार्ने काम भएको भन्दै विद्युत् आपूर्ति नियमित गर्न माग गरेको हो ।

‘केही समय अगाडि पनि नेपालका उद्योगहरूमा लोडसेडिङ गर्दै नेपाल विद्युत प्राधिकरणले विद्युत निर्यात गरेको थियो । उद्योगहरूमा विद्युत उपलब्ध नगराइदा उत्पादन लागत बढ्नुका साथै उत्पादनमा गम्भीर असर परेको थियो । उद्योगहरूमा अहिले पुनः दैनिक १२ घण्टासम्म लोडसेडिङ गराएर उद्योगहरूलाई प्रताडित पार्ने काम प्राधिकरणबाट भएको छ,’ परिसंघले भनेको छ, ‘यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भीर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भीर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ ।’

सरकारले स्वदेशी उद्योगहरूको प्रबद्र्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरूमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा सरकारी निकाय विद्युत् प्राधिकरणले स्वदेशी उद्योगहरूमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको परिसंघको भनाइ छ ।

‘मुलुकमा विद्युत बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरेको प्राधिकरणले अहिले फेरि उद्योगहरूमा लोडसेडिङ गराएर देशमा उद्योग नगर्न प्रेरित गरेको त होइन ?,’ परिसंघले भनेको छ, ‘विद्युत कुनै पनि उद्योगहरूका लागि कच्चा पदार्थ हो । कच्चा पदार्थको अभावमा कुनै पनि वस्तु उत्पादन गर्न सम्भव हुँदैन । त्यसैले उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न परिसंघ सरकार एवं सम्बन्धित पक्षसँग अपिल गर्दछ ।’

लयमा फर्कियो वैदेशिक व्यापार, सोयाबिन तेलले उचाल्यो निर्यात Read Previous

लयमा फर्कियो वैदेशिक व्यापार, सोयाबिन तेलले उचाल्यो निर्यात

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ चयन Read Next

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा पुनः सुयोग श्रेष्ठ चयन