काठमाडौं । वैदेशिक व्यापार लयमा फर्किएको छ । आर्थिक शिथिलताका कारण २ वर्ष यता खुम्चिँदै आएको वैदेशिक व्यापार चालु आर्थिक वर्षको पुसदेखि लयमा फर्किन थालेको हो ।
पछिल्लो समय आर्थिक गतिविधमा केही सुधार आएसँगै बजारमा उपभोग्य वस्तुको पनि माग बढ्न थालेकाले आयात र निर्यात ह्वात्तै बढेको छ ।
भन्सार विभागले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को आठौं महिना (साउन-फागुन)को वैदेशिक व्यापार तथ्यांकले बजारमा उपभोग्य वस्तुको माग बढेको देखाएको हो ।
चालु आर्थिक वर्षको सुरुदेखि नै आयात खस्किँदो क्रममा थियो तर, मंसिरदेखि लगातार मासिक डेढ खर्बको आयात हुँदै आएको छ । भन्सार विभागका अनुसार फागुनमा महिनामा १ खर्ब ५६ अर्ब ९७ करोड रुपैयाँ बढीको वस्तु आयात भएको हो । यद्यपि, पुस र माघको तुलनामा फागुनमा आयात केही घटेको छ ।
असारमा एक महिनामै डेढ खर्बको वस्तु आयात भएको थियो । त्यसयता लगातार घटेर कात्तिकमा १ खर्ब २३ अर्ब रुपैयँँमा सीमित भएको थियो । मंसिरदेखि बढ्न थालेको आयात फागुनमा पनि डेढ खर्ब नाघेको हो ।
माघको तुलनामा फागुनमा आयात झण्डै ९ अर्ब रुपैयाँ घटेको हो । विभागका अनुसार चालु आवको ८ महिनामा कुल ११ खर्ब ४५ अर्ब ५६ करोड रुपैयाँ बढीको वस्तु आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ११.२० प्रतिशतले धेरै हो । गत वर्ष ८ महिनामा कुल १० खर्ब ३० अर्ब रुपैयाँको आयात भएको थियो ।
पछिल्लो समय आर्थिक गतिविधि बढ्दा बजारमा उपभोग्य वस्तुको माग बढ्न गई आयात पनि बढेको हो । हिउँद लागेसँगै निर्माण गतिविधि बढेका छन् । जसकारण उपभोग्य वस्तु र औद्योगिक कच्चा पदार्थको आयात बढ्दा समग्रमा आयात पनि बढेको हो । अहिले डण्डी, सिमेन्ट लगायत उद्योगहरूले कच्चा पद्धार्थको आयात बढाएको देखिन्छ ।
निर्यात ५७ प्रतिशतले बढ्यो
चालु आवमा निर्यात ह्वात्तै बढेको छ । विभागका अनुसार गत वर्षको तुलनामा यस वर्ष निर्यात ५७.२ प्रतिशत बढेको हो ।
फागुनसम्म नेपालबाट १ खर्ब ५८ अर्ब १७ करोड रुपैयाँको वस्तु विदेशिएको छ । गत वर्ष यही अवधिमा १ खर्ब रुपैयाँ वस्तु निर्यात भएको थियो ।
फागुनमा मात्रै ३० अर्बको सामान निर्यात भएको छ । महिनै पिच्ने निर्यात बढ्दै गएको विभागको तथ्यांक छ । मंसिरमा २१ अर्बको वस्तु निर्यात भएको थियो भने पुसमा २५ अर्ब र माघमा २९ अर्बको विदेशिएको थियो । चालु आवको पहिलो तीन महिना घट्दो क्रममा रहेको निर्यात कात्तिकदेखि भने लगातार बढ्न थालेको हो ।
निर्यात बढ्नुको मुख्य कारण नेपालमा उत्पादित वस्तु नभई विदेशबाट आयात गरी विदेश नै निर्यात गरिने सोयाबिन आयल रहेको छ । चालु आवको कुल निर्यातको एकचौथाई बढी हिस्सा सोयाबिन तेलको छ ।
चालु आवमा ४७ अर्ब ९४ करोड ७१ लाख रुपैयाँ बराबरको २२ करोड ८५ लाख ४८ हजार १९४ किलो सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै, यस अवधिमा सनफ्लावर तेल ७ अर्ब ९८ करोड २३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख लिटर सन फ्लावर तेल निर्यात भएको छ ।
व्यापार घाटा पनि बढ्यो
आयात बढेसँगै व्यापार घाटा पनि बढेको छ । चालु आवको फागुनसम्म गत वर्षको तुलनामा व्यापार घाटा ६.२२ प्रतिशतले बढेको हो ।
समीक्षा अवधिमा व्यापार घाटा ५८ अर्बले बढेर ९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा व्यापार घाटा ९ खर्ब २९ अर्ब रुपैयाँ थियो ।
फागुनसम्म कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५.२९ प्रतिशत धेरै हो ।