कर्जाको माग नभएपछि बैंकिङ प्रणालीबाट एकैदिन ६० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज थप ६० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

गत साता १ खर्ब रुपैयाँ खिचेको राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन बोलकबोलबाट ६० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी पुस २८ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.६४ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने Read Previous

घोराही सिमेन्टले हकप्रद सेयर निष्काशन गर्ने

ग्रीन भेन्चर्सको लाभांश घोषणा Read Next

ग्रीन भेन्चर्सको लाभांश घोषणा