काठमाडौं । नेपाल राष्ट्र बैंकले बालेटमार्फत हुने कारोबारको सीमा बढाएको छ । राष्ट्र बैंकले दशैं र तिहारलाई लक्षित गर्दै डिजिटल दक्षिणा प्रोत्साहन गर्न वालेट कारोबारको संख्या बढाएको हो ।
भुक्तानी प्रदायकहरूले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्र मार्फत दिएको हो ।
राष्ट्र बैंकका अनुसार दशैं र तिहारको बेला वालेटबाट दैनिक बढीमा ३० पटकसम्म कारोबार गर्न पाइने व्यवस्था गरेको हो । यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।
‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दसैं र तिहारको अवसरमा उल्लिखित मितिभित्र प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्नुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ ।
यो व्यवस्था फूलपातीदेखि कोजाग्रत पूर्णीमा (सम्म असोज २१ देखि कात्तिक १ गते) र तिहार (कात्तिक १५ देखि २२ गते)सम्म लागू हुने राष्ट्र बैंकले जनाएको छ ।
उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमित रुपमा आफूलाई जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।