काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । यससाता अघिल्ला दुई कारोबार दिनमै ९३ अंकले बढेको नेप्से आज २७ अंकले घटेको हो ।
मंगलबार नेप्से परिसूचक २७.३९ अंकले घटेर २६६३.३२ बिन्दुमा आइपुगेको छ । आज ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर किनबेच भएको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ५० करोड रुपैयाँले घटेर ४ अर्ब ५९ करोड रुपैयँँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबैको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.७६ प्रतिशतले घटेको छ ।
आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक २७ करोड १७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल फाइनान्सको २३ करोड ९७ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये ३५ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २०७ कम्पनीको मूल्य घटेको छ ।
घट्दो बजारमा पनि आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज इस्टर्न हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ८.५० प्रतिशत गुमाएका छन् ।