एकैदिनमा बिक्यो निगमको काठमाडौं-भैरहवा न्यारोबडी उडानको सबै टिकट

काठमाडौं । नेपाल वायुसेवा निगमले दशैंको फूलपाती (असोज २४ गते) को दिन न्यारोबडी जहाजबाट गर्ने काठमाडौं-भैरहवा उडानको सबै टिकट बिक्री भएको छ ।

टिकट बुकिङ खुलाएको करिब १२ घण्टामा सबै टिकट बिक्री भएको हो । निगमका अनुसार हिजो बेलुका १ घण्टा टिकट बुकिङ खुलाएकोमा ७० वटा बिक्री भएको र आज बिहान बाँकी ८८ वटा गरी सबै १५८ वटै टिकट बिक्री भएको हो ।

चाडपर्वको बेलामा राजमार्गहरु बाढीपहिरोले क्षतिग्रस्त हुँदा स्थल आवागमनमा कठिनाई भएकाले यात्रुको सुविधाका लागि निगमले आन्तरिक उडानमा पहिलोपटक न्यारोबडी जहाजबाट भैरहवा उडान गर्न लागेको हो ।

२४ गते भैरहवाको निर्धारित उडानको सबै टिकट बिक्री भइसकेकाले अब अन्तर्राष्ट्रिय उडानलाई असर नपर्नेगरी अर्को पनि उडान गर्ने बारे छलफल भइरहेको निगमले बताएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार असोज २४ गते बिहान ११ बजे काठमाडौंबाट भैरहवाका लागि जहाज उड्ने छ । सोही जहाज मध्याह्न १२:३० बजे भैरहवाबाट काठमाडौं फर्कने उडान तालिका रहेको छ ।

काठमाडौं-भैरहवाको एकतर्फी भाडादर ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौंको ३ हजार ८९० रुपैयाँ तोकिएको छ । यात्रुले ३० केजीसम्म लगेज निःशुल्क ल्याउन पाउने निगमले जनाएको छ ।

मुक्तिनाथमा 'हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा Read Previous

मुक्तिनाथमा 'हाइ अल्टिच्युड’ उपचार केन्द्र सञ्चालनमा

राष्ट्र बैंकले ३ गुणाले बढायो वालेट कारोबारकाे सीमा, दैनिक ३० वटासम्म गर्न पाइने Read Next

राष्ट्र बैंकले ३ गुणाले बढायो वालेट कारोबारकाे सीमा, दैनिक ३० वटासम्म गर्न पाइने