काठमाडौं । नेपाल वायुसेवा निगमले न्यारोबडी जहाजबाट काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।
निगमले दशैंको फूलपातीको दिन (असोज २४ गते) ए ३२० जहाजबाट काठमाडौं-भैरहवा-काठमाडौं उद्दार उडान गर्ने भएको हो ।
निगमले आन्तरिक उडानमा पहिलोपटक न्यारोबडी जहाज उडाउन लागेको हो । चाडपर्वको समयमा राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त हुँदा स्थल आवागमनमा कठिनाई भएकाले यात्रुको सुविधाका लागि न्यारोबडी जहाजबाट भैरहवा उडान गर्न लागिएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार असोज २४ गते बिहान ११ बजे काठमाडौंबाट भैरहवाका लागि जहाज उड्ने छ । सोही जहाज मध्याह्न १२:३० बजे भैरहवाबाट काठमाडौं फर्कने उडान तालिका रहेको छ ।
काठमाडौं-भैरहवाको एकतर्फी भाडादर ७ हजार रुपैयाँ र भैरहवा-काठमाडौंको ३ हजार ८९० रुपैयाँ तोकिएको छ । यात्रुले ३० केजीसम्म लगेज निःशुल्क ल्याउन पाउने निगमले जनाएको छ ।
यात्रुले निगमको आन्तरिक बिक्री कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत अनलाइनबाट टिकट लिन सक्नेछन् ।