काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमडाैंको दरबारमार्गस्थित याक एण्ड यती होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
याक एण्ड यतीले ३५ रुपैयाँको पानीको बोत्तल ४३० रुपैयाँमा बिक्री गरेको पाइएपछि विभागले जरिवाना तिराएको हो ।
विभागले आइतबार बजार अनुगमनका क्रममा होटलले ३५ रुपैयाँमा खरिद गरेको पानीको बोत्तल ४३० रुपैयाँमा बिक्री गरेको पाइएको थियो । साथै, होटलले म्याद गुज्रिएको सामान समेत बिक्री गरेको भेटिएको विभागले जनाएको छ ।
त्यस्तै, विभागले ललितपुर महानगरपालिका-१० स्थित थासाङ थकाली किचनलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ ।
त्यसैगरी, विभागले मूल्य सूची तथा दर्ता प्रमाणपत्र नराखेको भन्दै काठमाडौं महानगरपालिका २७ मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई ७५ हजार, ललितपुरको हात्तिवनमा सञ्चालित खरिबोट मिनी स्टोर, भक्तपुरमा रहेको माखा किराना स्टोर, काठमाडौं महानगरपालिका २४ मा सञ्चालित न्यू सिर्जना टेलरलाई २०/२० हजार रुपैयाँ जरिवाना गरेको छ ।