काठमाडौं । दशैं लागेसँगै बजारमा खसीबोकाको बिक्री सूरू भएको छ । सरकारी संस्था खाद्य तथा व्यापार कम्पनी र निजी क्षेत्रका व्यपारीहरुले दशैं लक्षित खसीबोका बिक्री सुरु गरेका हुन् ।
व्यापारीहरुले पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट खसीबोका काठमाडौं उपत्यकामा भित्र्याएका छन् ।
चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ ।
हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।
काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो ७२० रुपैयाँदेखि ७५५, पहाडका खसी ६७० रुपैयाँदेखि ७०५ रुपैयाँ, बोका ६७० रुपैयाँदेखि ७२० सम्म र च्याङ्ग्रा प्रतिकिलो १ हजार ३०० मा बिक्री भइरहेका छन् ।
काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेको अध्यक्ष खत्रीले जानकारी दिए ।
सिङमा हरियो रङ छिटेको हेर्नुस्
यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ ।
टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहेका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्माले रासससँगको कुराकानीमा भने, ‘स्वस्थ खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।’ विभागले स्वस्थ खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाए ।