बाढीले एनटीसी र एनसेललाई २२ करोड क्षति, इन्टरनेट कम्पनीकाे साढे ७ करोड

काठमाडौं । केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैन भने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) र एनसेल आजिअटा लिमिटेड (एनसेल) को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।

‘एनटीसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ,’ प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले भने। इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उनले बताए ।

बाढीपहिरो, डुबान, चट्ङ्याङ लगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ ।

पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उनले जानकारी दिए । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उनले बताए ।

थाइ एयर एसियाले सुरू गर्यो बैंकक-काठमाडौं उडान, भैरहवामा पनि गर्ने Read Previous

थाइ एयर एसियाले सुरू गर्यो बैंकक-काठमाडौं उडान, भैरहवामा पनि गर्ने

यी ८ विमानस्थलमा घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडान हुने Read Next

यी ८ विमानस्थलमा घटस्थापनादेखि पूर्णीमासम्म रात्रिकालीन उडान हुने