काठमाडौं । थाइ एयर एसियाले आज (बुधबार)देखि नेपालमा नियमित उडान सुरु गरेको छ । थाइ एयर आज दिउँसो १५६ यात्रुसहित काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
थाइ एयर एसियाले अब बैंकक-काठमाडौं साताको ४ वटा उडान गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । थाइले सातामा ४ दिन भैरहवा र ३ दिन काठमाडौंबाट उडान गर्ने अनुमति पाए पनि हालका लागि काठमाडौंमा मात्रै नियमित उडान गर्ने भएको छ ।
एयर एसिया समूहको लगानी रहेको थाइ एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान गर्ने अनुमति पाइसकेको छ । त्यहाँ उडानका लागि थाले तयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।
बैंकक–काठमाडौं उडानले दुई देश बीचको कनेक्टिभिटी बढ्ने विश्वास लिइएको छ ।
थाइ एयर एसियाले हाल बैंककबाट भारत, हङकङ, चीन, कम्बोडिया, सिंगापुर, भियतनाम, इन्डोनेसिया, लाओस, श्रीलंका लगायतका एसियाली मुलुकमा उडान गर्दै आएको छ ।