दशैंका लागि अग्रिम टिकट खुलाउने मिति अझै लागेन टुंगो

काठमाडौं । दशैं नजिकिए पनि सार्वजनिक यातायातको अग्रिम टिकट खुलाउने विषय अन्योलमै रहेको छ । विगतमा दशैं आउनु एक महिना अगावै अग्रिम टिकट खुलाउने गरिए पनि यस वर्ष दुई साता बाँकी रहँदासम्म अझै टिकट बुकिङ खुल्न नसकेको हो ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अग्रिम टिकट बुकिङ खुलाउने बारे यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, उपभोक्ता कर्मी लगायतको बैठक बसे पनि टुंगो लाग्न सकेन । अब टिकट बुकिङ मिति टुंगो लगाइने गरी शुक्रबार बैठक डाकिएको छ ।

सरकारले असोज १० देखि अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । देशभरका मुख्य सडकको अवस्थाको जीर्ण रहेकाले यातायात व्यवसायी चिन्तित छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रुपमा घर पुर्याउने व्यवस्था मिलाउन निर्देशन दिए । सुरक्षित यात्राका लागि सडक सुरक्षा तथा यात्रुको सुविधामा ध्यान दिन उनले निर्देशन दिए । चाडपर्वलाई दुर्घटना रहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको उनले जानकारी दिए ।

टिकट काउण्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध दर्बिलो बनाउन प्रहरी प्रशासनसँग समन्वय गरिएको भन्दै मन्त्री दाहालले भय, त्रास र ठगी रहित यात्राको प्रबन्ध मिलाउन सम्वद्ध सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकमा खाल्डा पुर्ने, सम्याउने, सुरक्षा प्रबन्ध गर्नेलगायत काम भइरहेको बताए । विशेष परिस्थितिबाहेक दुई घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको जानकारी दिए । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको बताए ।

प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले चाडपर्वलाई लक्षित गरी सुरक्षाकर्मी परिचालनलाई सुदृढ पारिएको, आवश्यक स्थानमा जाँचको व्यवस्था मिलाइएको र बढी यात्रुको चाप हुने ठाउँमा सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरलगायत व्यवसायीले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयनमा जोड दिए ।

यातायात व्यवसायीहरूले सडकको अवस्था जीर्ण रहेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका थिए । उनीहरूले तत्कालै सडक मर्मतको माग गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दशैंअघि नै सबै खाल्डाखुल्डी पुरिसक्ने प्रतिबद्धता जनाएको छ । तर, व्यवसायीहरूले भने सडकको अवस्थाकै कारण तोकिएको समयमा गन्तव्यमा पुग्न सक्ने अवस्था नरहेको बताएका छन् ।

चाडपर्वको समयमा ठूलो सङ्ख्यामा यात्रुहरू काठमाडौंबाट बाहिरिने र केही दिन लगत्तै फर्किने भएकाले त्यस्तो समयमा सार्वजनिक यातायात सहज बनाउनु राज्यको दायित्व हो । तर, वर्षेनी सडकका कारण सर्वसाधरणले हैरानी व्यहोर्नुपर्ने बाध्यता छ ।

नेपाल ल्युबको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ? Read Previous

नेपाल ल्युबको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपालमा व्यापार वृद्धि र लगानीका लागि सहयोग गर्न क्यानडालाई आग्रह Read Next

नेपालमा व्यापार वृद्धि र लगानीका लागि सहयोग गर्न क्यानडालाई आग्रह