नेपालमा व्यापार वृद्धि र लगानीका लागि सहयोग गर्न क्यानडालाई आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र उनकी क्यानडाली समकक्षी मेलानी जोलीबीच बुधबार ओटावामा भेटवार्ता भएको छ ।

त्यस अवसरमा उनीहरूबीच नेपाल-क्यानडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै लगानी एवं साझेदारी प्रवर्धनलगायत विषयमा छलफल भएको थियो ।

ओटावास्थित नेपाली राजदूतावासका अनुसार परराष्ट्रमन्त्री राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानाडाले पुर्याएको सहयोगको सराहना गरिन् । नेपालको संसद्ले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पारित गरेको र त्यसबाट शान्ति प्रक्रियासम्बन्धी बाँकी कामह पूरा गर्न सहज हुने जानकारी उनले दिइन् ।

भूकम्प र कोभिड महामारीको जटिल परिस्थितिका साथै नेपालको सामाजिक-आर्थिक उन्नयनमा क्यानडा सरकारबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै परराष्ट्रमन्त्रीले नेपालमा आफ्नो राजदूतावास स्थापनाका लागि आग्रह गगरिन्। एसियाका दुई ठूला देशका बीचमा रहेको नेपालजस्तो प्रजातान्त्रिक मुलुकमा आफ्नो राजदूतावास स्थापना गर्नु क्यानडाका लागि पनि फलदायी हुने मन्त्री राणाले बताइन् ।

अतिकम विकसित राष्ट्र नेपालका उत्पादनलाई क्यानडाले कर छुट दिएको सन् २०२६ मा विकासशील राष्ट्रमा स्तरोन्नत हुन लागेको आफ्नो देशलाई व्यापार वृद्धि र लगानीका माध्यमबाट सघाउन मन्त्री राणाले आग्रह गरेको उक्त दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । साथै जलविद्युत्का क्षेत्रमा क्यानडाको अनुभव र विज्ञता नेपालको अथाह जलस्रोतमा लगानी गरेर अधिक लाभ लिन आग्रह गरिन् ।

नेपाल र क्यानडाबीच धेरै अन्तरराष्ट्रिय विषयमा समान धारणा रहेको, बहुपक्षीयताका साथै संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ भएका काम, जलवायु परिवर्तन तथा दिगो विकासका लक्ष्य प्राप्तिमा दुवै देशले सहकार्य गर्दै आएका उनको कथन थियो ।

परराष्ट्रमन्त्रीले नेपालका २ हजार ५५४ जना महिला शान्ति सैन्यले राष्ट्रसङ्घको विश्वका विभिन्न द्वन्द्वग्रस्त देशमा सेवा गरिसकेका तथा हाल ६०८ जना महिला रहेका शान्तिसेनामा कार्यरत रहेका जानकारी दिइन् । उनले विदेशमन्त्री जोलीलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिन् ।

आगामी डिसेम्बरमा काठमाडौँमा द्विपक्षीय वार्ता हुने र त्यस क्रममा दुई देशबीच पर्यटन र शिक्षासम्बन्धी समझदारीको आधार निर्धारण गर्ने सहमति भएको छ ।

नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा क्यानाडाले पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै क्यानाडाले अघि सारेको ‘फेमिनिस्ट फरेन पोलिसी’ विषयमा मिलेर काम गर्ने सहमति भएको छ ।

क्यानडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपाललाई सहयोग गर्न आफ्नो देशको सरकार तयार रहेको बताउनका साथै काठमाडौँमा दूतावास स्थापनाको प्रस्तावप्रति सकारात्मक जवाफ दिएकी थिइन् ।

दशैंका लागि अग्रिम टिकट खुलाउने मिति अझै लागेन टुंगो Read Previous

दशैंका लागि अग्रिम टिकट खुलाउने मिति अझै लागेन टुंगो

दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' हेर्न जानेलाई यी १४ ठाउँमा निःशुल्क पार्किङ Read Next

दरबारमार्गमा 'नेसनल डे कन्सर्ट' हेर्न जानेलाई यी १४ ठाउँमा निःशुल्क पार्किङ