काठमाडौं । विश्व प्रसिद्ध वेलायती लुब्रिकेन्ट ब्राण्ड ‘भिडोल’ को नेपालमै उत्पादन सुरु भएको छ ।
नेपालका लागि भिडोलको आधिकारिक उत्पादक युनाइडेट लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रालिले धनुषाको मिथिला नगरपालिका–३, लालभित्तिमा प्लाण्ट स्थापना गरी भिडोल ब्राण्डको लुब्रिकेन्ट र ग्रिज उत्पादन सुरू गरेको हो ।
युनाइटेड लालभित्तीमा १ लाख ७५ हजार ८७६ वर्गफिट क्षेत्रफलमा ५० करोड लगानीमा प्लाण्ट स्थापन गरी असोज १ गतेदेखि औपचारिक रूपमा उत्पादन थालेको हो । उक्त प्लाण्टबाट यसअघि ‘नेपाल गोल्ड’ ब्राण्डको लुब्रिकेन्ट उत्पादन हुँदै आएको थियो ।
कम्पनीले उक्त प्लाण्ट निर्माण सन् २०२१ मा थालेको थियो भने सन् २०२३ देखि अनौपचारिक रुपमा व्यावसायिक उत्पादन सुरू गरेको थियो ।
विश्वका ७५ भन्दा बढी देशमा उपस्थिति रहेको भिडोल विश्वका १८ वटा स्थानबाट उत्पादन हुँदै आएको छ । अहिले प्लाण्ट विस्तारको क्रममा नेपालमा उत्पादन थालिएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक दीपेन्द्र मिश्रका अनुसार प्लाण्टको लुब्रिकेन्ट उत्पादन क्षमता मासिक १० लाख लिटर रहेको छ । हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट र ग्रिज उत्पादन भइरहेको उनले बताए । प्लाण्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन हुँदै आएको छ ।
यस प्लाण्टबाट मल्टिपल ब्राण्डको लुब्रिकेन्ट उत्पादन गर्न सकिने मिश्रले जानकारी दिए । ‘हाम्रो प्लाण्टबाट अहिले नेपाल गोल्ड ब्राण्डका लुब्रिकेन्टहरू उत्पादन गर्दै आएका छौं, आवश्यकता अनुसार मल्टिपल ब्राण्डको उत्पादन गर्न सक्छौं । सोही अनुसार उपकरण जडान तथा प्लाण्ट निर्माण गरिएको छ,’ उनले भने ।
उनले नेपालमै भिडोलको लुब्रिकेन्ट उत्पादन थालिएसँगै आयातितभन्दा मूल्य १० प्रतिशतसम्म सस्तिने बताए ।
प्लाण्टमा ५ हजार लिटर क्षमताका ३ वटा युनिटबाट आयल ब्लेडिङ हुन्छ भने २० लाख किलोलिटर क्षमताको ट्यांक निर्माण गरिएको उनले बताए ।

उनले प्लाण्टमा प्रयोग गरिने कच्चा पद्धार्थ सम्भव भएसम्म स्वदेशी नै प्रयोग गरिने बताए । साथै, ५० बढी नेपालीलाई रोजगारी दिइएको छ । अहिले भारत र वेलायतबाट आएका प्राविधिकहरूले प्लाण्टका कामदारलाई प्रशिक्षण दिइरहेका छन् । ४० प्रतिशतसम्म भ्यालु एड गर्ने योजना अनुसार काम भइरहेको मिश्रको भनाइ छ ।
बेस आयल र एडिटिप्सको समिश्रण गरी लुब्रिकेन्ट बनाइन्छ । जसमा एडिटिप्सको अनुपात गुणस्तर अनुसार ४ देखि १२ प्रतिशत रहन्छ । उत्पादित लुब्रिकेन्ट स्वचालित प्रणालीबाटै प्याकिजङ हुन्छ । त्यसपछि मिसिनले नै भेडोलको लेबलिङ गर्छ । लेबलिङपछि उत्पादित लुब्रिकेन्ट बजारमा पठाइन्छ । कम्पनीले २५० मिलिमिटरदेखि २१० लिटरसम्मको प्याकिङमा आफ्ना उत्पादनहरू उपलब्ध गराएको छ ।