काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाल पौडेलले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पुगेर सेयर बजारमा आएको गिरावटको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
बुधबार राजस्व सचिव दिनेश घिमिरे, नेपाल धितोपत्र बोर्डका कार्यबाहक अध्यक्ष महेश बरालसहित नेप्से कार्यालय पुगेका अर्थमन्त्री पौडेलले बजारमा गिरावट आउनुको कारण खोजी गरेका हुन् ।
उनले नयाँ सरकार आउने बित्तिकै सेयर बजारमा उत्साह देखिएको बताए । तर, भदौ लागेपछि लगातार घट्न थाल्नुको कारण के हो भन्दै नेप्सेका अधिकारीहरुलाई सोधेका छन् ।
‘नयाँ सरकार आउने बित्तिकै नेप्से बढेर ३ हजार बिन्दुमा पुगेको थियो । तर, अहिले एकाएक २५०० मा आएको छ,’ उनले भने, ‘नेप्सेमा यो किन भोलाटायल भयो ? यो प्रश्नको जवाफ खोज्न आएको हुँ । यो जवाफ नपाएसम्म सोधिरहन्छु ।’
राजनीतिक घटना क्रमले बजार तलमाथि हुन्छ भन्ने गरिएको तर, अहिले कुनै परिवर्तन नहुँदा पनि लगातार गिरावट आएको उनले बताए । ३० अर्ब हाराहारीमा पुगेको कारोबार अहिले ५ अर्बमा झरेको उनले बताए ।
अर्थमन्त्री पौडेलले पूँजी बजारको क्षेत्रमा राम्रो गर्न सक्ने सम्भावना रहेको बताए । सरकार र आफूले पूँजी बजारमा समस्या र विकृत्तिलाई गम्भीर रुपमा लिएको बताए ।
पछिल्लो समय सामाजिक संजालमार्फत हुने इन्साइडर ट्रेडिङ, कर्नरिङ बारेमा हुने छलफलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
‘यो विषयलाई मन्त्रालय म आफैँले सिरियस रूपमा लिएको छु,’ उनले भने, ‘पर्दा भित्रबाट कसैले अवाञ्छित गतिविधि गरिरहेका छन् भने आजैदेखि स्थान नपाउने गरी काम गर्न सेबोन, नेप्से र सीडीएसीलाई निर्देशित गर्दछु।’
उनले टीएमएस प्रणलीमा किन पटक पटक समस्या दोहोरिरहेको भन्दै नेप्सेका कर्मचारीलाई प्रश्न समेत गरेका थिए ।