सिद्धबाबाको सुरुङ खन्ने काम आधा सकियो, वित्तीय प्रगति २६ प्रतिशत

काठमाडौं । सिद्धार्थ राजमार्गको पाल्पास्थित सिद्धबाबा सुरुङमार्ग खन्ने काम झण्डै आधा सकिएको छ । आयोजनाले सार्वजनिक गरेको पछिल्लो प्रगति विवरण अनुसार हालसम्म ५४५.५७ मिटर मुख्य सुरुङ खन्ने काम सम्पन्न भएको हो ।

कुल ११२६ मिटर लामो सुरुङमार्ग मध्ये हालसम्म उत्तरतर्फ २३७.८० मिटर र दक्षिणतर्फ ३०७.७७ मिटर गरी कुल ५४५.५७ मिटर खनिसकिएको छ । अब ५८०.७३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

यस्तै, ३ वटा बाइपास खन्ने काम पनि भइरहेको छ । १५२ मिटर लामो प्रथम बाइपासको हालसम्म १३७.२ मिटर खनिसकिएको छ । त्यस्तै, दोस्रो बाइपासको १६१ मिटर मध्ये ११७ मिटर खनिसकिएको छ भने १३० मिटरको तेस्रो बाइपासको १२३.४ मिटर खनिसकिएको आयोजनाले जनाएको छ ।

यसैगरी, दक्षिणतर्फ २ हजार ३०० स्लोप प्रोटेक्सन गर्नु पर्नेमा हालसम्म १ हजार ४९५ वर्गमिटर र ११०० मिटरको उत्तरतर्फ ४९५ वर्गमिटर बराबरको काम सम्पन्न भएको छ । हालसम्म आयोजनाको समग्रमा भौतिक प्रगति २२.८५ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति २६.४ प्रतिशत रहेको छ ।

कुल १ हजार १२६ मिटर लामो यो सुरुङमार्ग इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यस मोडलमा ठेकेदार कम्पनीले नै डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।

सुरुङमार्ग निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ । कम्पनीले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको हो । ठेक्का सम्झौता अनुसार २२ मार्च २०२७ भित्र सुरुङ निर्माण सम्पन्न गर्नुपर्नेछ ।

सिद्धार्थ राजमार्गको बुटवल-तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ ।

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्गका रुपमा रहेको सिद्धबाबा सुरुङमार्गको निर्माण लुम्बिनी प्रदेशसँगै देशको पूर्वाधार विकासका हिसाबले महत्वपूर्ण छ । बाह्रै महिना खस्ने पहिराका कारण धेरै जनधनको क्षति हुने सो ठाउँमा सुरुङ निर्माण गर्न लागिएको हो ।

नेपालमा पहिलो पटक बन्न लागेको ‘रकसेड’ले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने अपेक्षा गरिएको छ । सुरुङ दुई लेनको हुनेछ । यहाँ चल्ने गाडीमध्ये पनि मुख्य सवारीसाधनलाई सुरुङबाट पठाइने र साना र कम क्षमताको सवारीसाधनलाई ‘रकसेड’बाट पठाउने गरी योजना बनाइएको छ । ठेला गाडा, साना टेम्पो कम लोडको रकसेडबाट पठाइने र अरु सवारीसाधन सुरुङबाटै जानेछन् ।

सुरुङमार्गले गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत, बागलुङलगायत दर्जन बढी जिल्लासीलाई सुविधा पुग्नेछ । सुरुङ सञ्चालनमा आएपछि सम्भावित दुर्घटना कम गराउन र यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेप्से पुगेर अर्थमन्त्रीले भने-'परिसूचक ३००० हजारबाट २५०० मा किन आयो ?’ Read Previous

नेप्से पुगेर अर्थमन्त्रीले भने-'परिसूचक ३००० हजारबाट २५०० मा किन आयो ?’

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी Read Next

दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी