असोजमा ९ बैंकले घटाए ब्याजदर, १० वटाको स्थिर, कुनको कति ?

काठमाडौं । असोज महिनाका लागि ९ वटा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । त्यस्तै, नेपाल बैंकले बढाएको छ भने १० वटाले भदौकै ब्याजदर स्थिर राखेका छन् ।

गत आर्थिक वर्षको कात्तिकदेखि लगातार महिनैपिच्छे निक्षेपको ब्याजदर घटाउँदै आएका बैंकहरूले असोजमा पनि थप घटाएका हुन् । बैंकिङ प्रणालीमा अधिक लगानी योग्य रकम (तरलता) थुप्रिए पनि कर्जाको माग नबढेपछि बैंकहरूले थप ब्याजदर घटाएका हुन् ।

बैंकिङ प्रणालीमा अहिले झण्डै ७ खर्ब रुपैयाँ तरलता छ । तर, कर्जा लगानी हुन नसकेपछि बैंकहरूले स्थायी निक्षेप सुविधा प्रयोग गर्दै ३ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकमा राखिरहेका छन् । साथै, राष्ट्र बैंकले पनि निक्षेप बोलकबोल मार्फत हप्तैपिच्छे अर्बौं रुपैयाँ खिच्दै आएको छ ।

महँगो ब्याजमा उठाएको निक्षेप राष्ट्र बैंकमा ३ प्रतिशतमै राख्नुपर्ने बाध्यता आएपछि बैंकहरूले आफ्नो लागत घटाउन पनि निक्षेपको ब्याजदर घटाएका हुन् ।

भदौको तुलनामा असोजमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.१३ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.०६ प्रतिशत बिन्दुले घटाएका छन् । भदौमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.५३ प्रतिशत रहेकोमा असोजमा घटेर ६.४० प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर भदौमा ५.२५ प्रतिशत रहेकोमा असोजमा घटेर ५.२० प्रतिशतमा झरेको छ ।

असोजका लागि ९ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जसमा एनएमबी बैंकले सबैभन्दा धेरै व्यक्तिगततर्फ १ प्रतिशत बिन्दु र संस्थागततर्फ ०.९१ प्रतिशत बिन्दुले घटाएको छ । त्यस्तै, कुमारी ०.७ प्रतितश बिन्दु, प्राइम कमर्शियलले ०.५ प्रतिशत बिन्दुले घटाएका छन् ।

त्यस्तै, सानिमा, नेपाल एसबीआइ, नबिल, एनआइसी एशिया, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।

असोजमा नेपाल बैंकले व्यक्तिगत तर्फ ०.७० प्रतिशत र संस्थागततर्फ ०.९५ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ ।

असोजमा कृषि विकास, हिमालयन, माछापुच्छ्रे, स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट मेगा, सिद्धार्थ, सिटिजन्स, लक्ष्मी सनराइज र ग्लोबल आइएमईले भने भदौकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

असोजमा वाणिज्य बैंकहरू बीच निक्षेपको ब्याजदर १.२८ प्रतिशत बिन्दुसम्म फरक भएको छ । एनआइसीले सर्वाधिक ७.१८ प्रतिशत ब्याजदर दिने भएका छन् भने सानिमाले सबैभन्दा कम ५.९ प्रतिशत ब्याज दिने भएको छ । वाणिज्य बैंकहरूले ब्याजदर घटाएको यो लगातार बाह्रौं महिना हो ।

बैंकिङ प्रणालीमा अधिक तरलता हुँदाहुँदै पनि २०८० असोजमा बैंकहरूले अर्को बैंकमा रहेको निक्षेप खोस्न ब्याजदर बढाएका थिए । तर, महँगो ब्याजमा उठाएको निक्षेप कर्जा लगानी गर्न नसकेपछि बैंकको उल्टो लागत बढेको थियो । अर्थतन्त्रमा आएको संकुचनका कारण कर्जाको माग बढ्न नसकेपछि बैंकहरूले बाध्य भएर ब्याजदर घटाउन थालेका हुन् ।

२०८० साउनदेखि नेपाल बैंकर्स संघले ब्याजदरमा रहेको भद्र सहमती तोडेको थियो । त्यस यता बैंकहरूलाई आफूखुसी स्वतन्त्र रुपमा निक्षेपको ब्याजदर तोक्दै आएका छन् । साउनअघि संघले ब्यादरमा हस्तक्षेप गर्दा सबै बैंकको एउटै ब्याजदर हुने गरेको थियो ।

अमेरिकी राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास Read Previous

अमेरिकी राष्ट्रपतिका उमेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा Read Next

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा