
काठमाडौं । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा ६०४ वटा उद्योग बन्द भएका छन् ।
मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो ।
आर्थिक मन्दी, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पूँजीको अभावलगायत कारणले उद्योगहरुको लगत कट्टा बढेको कार्यालय प्रमुख रामप्रसाद भुसालले बताए ।
मकवानपुरमा आव २०८०/८१ मा नयाँ उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता घटेको छ । सो आवमा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ गरी ७०१ नयाँ उद्योग दर्ता भएका कार्यालय प्रमुख भुसालले बताए । आव २०७९/८९ मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० गरी १ हजार ९ उद्योग व्यापार दर्ता भएका थिए ।
आव २०८०/८१ मा उद्योगतर्फ ४६ वटा उद्योगको नामसारी, २४ वटा ठाउँसारी, एक हजार १०८ वटा नवीकरण, ४९८ वटाको पूँजी वृद्धि गरिएको थियो । सो अवधिमा वाणिज्यतर्फ १९ वटा उद्योगको नामसारी, ३१ वटा उद्योगको ठाउँसारी, ८५८ वटा उद्योगको पूँजी वृद्धि, एक हजार ४२२ वटा उद्योगको नवीकरण भएको छ ।
नयाँ उद्योग दर्ता, नवीकरण, लगत कट्टालगायत शीर्षकबाट यस अवधिमा रु ३ करोड २२ लाख ४९ हजार ९१० राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए ।