काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्ड्यन प्राधिकरण कार्यालये यात्रुलाई खादा, माला नल्याउन आग्रह गरेको छ कार्यालयले बिहीबार एक सूचना जारी गर्दै यात्रुलाई लगाएर वा ब्यागमा भुन्ड्याएर खादा, माला नल्याउन आग्रह गरेको हो ।
यात्रुले लगाएको खादा, माला आदिले सुरक्षा जाँचका क्रममा विमानस्थलको जाँच उपकरणहरू एक्सरे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किएर क्षति पुर्याइरहेको कार्यालयले जनाएको छ ।
साथै, कार्यालयले यात्रुलाई आफूले लगाएको खादा, माला जथाभावी छाडेर नजान आग्रह गरेको छ । ‘साथै यात्रुले लगाएको खादा, माला विमानस्थलका विभिन्न भागमा छाडी जानेसमेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको,’ कार्यालयको सूचनामा भनिएको छ ।
खादा, माला आफैंसँग लैजानै परे यात्रुले झोलाभित्र नदेखिने गरी राखेरमात्रै आउन पनि कार्यालयले आग्रह गरेको छ ।