बैंकमा पैसा थुप्रिएपछि फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता (लगानीयोग्य रकम) थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । आइतबार मात्रै प्रणालीबाट १ खर्ब रुपैयाँ तानेको राष्ट्र बैंकले आज थप ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो । राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम व्यवस्थापन गर्न लागेको हो । उक्त रकमको साँवा र ब्याज भुक्तानी असोज १६ गते गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने छन् । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले कम्तीमा १० करोड र बढीमा ५ करोडले भाग जाने गरी जति रकम पनि बोलकबोल गर्न सक्नेछन् ।

एकोहोरो निक्षेप थपिरहेको तर कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा इतिहासकै धेरै अधिक तरलता कायम भएको छ । हाल प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । यससँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.८७ प्रतिशतमा झरेको छ ।

गत आवको कात्तिक यता ब्याजदर लगातार घट्दो क्रममा छ । राष्ट्र बैंकले पनि एकपछि अर्को लचकता अपनाउँदै आएको छ । तर, अर्थतन्त्रमा आएको मन्दी र व्यवसायीको मनोबल बढ्न नसक्दा कर्जाको माग बढ्न सकेको छैन । जसकारण पैसा बैंकिङ प्रणालीमै थुप्रिरहेको छ ।

धमाधम शाखा विस्तार गर्दै भाटभटेनी, २९औँ स्टोर चितवनको टाँडीमा Read Previous

धमाधम शाखा विस्तार गर्दै भाटभटेनी, २९औँ स्टोर चितवनको टाँडीमा

दशैंका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने Read Next

दशैंका लागि असोज १३ देखि सुकिला नोट साट्न पाइने