काठमाडौं । भाटभटेनी सुपरमार्केट्स आक्रमक रुपमा शाखा विस्तारमा लागेको छ । सोमबार मात्रै पोखराको तालचोकमा नयाँ शाखाको निर्माण थालेको भाटभटेनीले चितवनमा २९औँ स्टोर निर्माण थालेको हो ।
भाटभटेनीले दुई दिन अघि पोखरामा २८औँ स्टोर निर्माणका लागि भूमि पुजन गरेको थियो । आज भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशन मीनबहादुर गुरुङले चितवनको टाँडीस्थित शान्तिचोकमा २९औँ स्टोर निर्माणका लागि भूमि पूजन गरेका हुन् ।
उनले आगामी १ वर्ष भित्रैमा टाँडी स्टोर सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए । केही प्राविधिक कामले ढिलाइ भए १४ महिनाभित्रमा सञ्चालनमा आउने उनले बताए ।
टाँडीमा सञ्चालनमा आउन लागेको स्टोर बेसमेन्टसहित ७ तलाको हुनेछ । एक तलामा ४६ हजार स्क्वायर फिट रहन्छ । चितवनमा नक्सा पासदेखि, कित्ताकाट लगायतका काम तत्कालै भए एक वर्षभित्रै स्टोर सञ्चालनमा आइसक्नेछ । चितवनस्थित नयाँ स्टोरमा करिब ५०० रोजगारी प्राप्त गर्ने जनाइएको छ । चितवनकै भरतपुरमा भाटभटेनीको अर्को स्टोर यसअघि नै संचालनमा ल्याइसकेकाे छ ।
भाटभटेनीले अहिले देशभर २ हजार बढीलाई पूरा समय र ७०० बढीलाई पार्टटाइम काम दिएको छ । १८ देखि २१ वर्ष उमेर समूहका युवायुवतीलाई लक्षित गरेर काम दिइएको छ । आगामी दिनमा कम्तीमा २ हजार जनालाई पार्ट टाइम जब दिइने गुरुङले बताए ।