बढ्न थाल्यो कर्जाको माग, भदौ लागेपछि दैनिक डेढ अर्ब ऋण लगानी

काठमाडौं । बैंकहरूमा कर्जाको माग बढ्न थालेको छ । अर्थतन्त्रमा आएको शिथिलताका कारण गत वर्षदेखि नै कर्जाको माग नहुँदा निक्षेप बैंकिङ प्रणालीमै थुप्रिएर बसेको थियो । तर, चालु आर्थिक वर्षको भदौदेखि भने कर्जाको माग केही बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले भदौको तीन सातामा मात्रै ३४ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत साउन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ७१ अर्ब रुपैयाँ रहेकोमा भदौ २३ गते आइपुग्दा बढेर ५२ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ ।

यस आधारमा भदौमा औसतमा दैनिक १ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । जबकि चालु आवको साउनमा बैंक तथा वित्तीय संस्थाहरूले जम्मा २ अर्ब कर्जा लगानी गरेका थिए । भदौको २३ दिनमा ३७ अर्ब रुपैयाँ निक्षेप थपिएको राष्ट्र बैंकको तथ्यांक छ । साउन मसान्तमा ६४ खर्ब ४७ अर्ब रहेको कुल निक्षेप बढेर ६४ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ ।

पछिल्लो समय अर्थतन्त्र क्रमशः चलायमान हुँदै जाँदा कर्जाको माग बढ्न थालेको हो । साथै, नेपाल राष्ट्र बैंकको नीतिगत लचकता र घट्दो ब्याजदरले पनि कर्जाको माग बढाउन सहयोग पुर्याएको छ । अहिले पनि उत्पादनमूलक क्षेत्रमा कर्जाको माग बढ्न नसके पनि अटो कर्जा, सेयर कर्जा, घरजग्गा र व्यापार कर्जाको माग बढेको बैंकरहरू बताउँछन् ।

हालै सम्पन्न नाडा अटो शोमा ४ हजार बढी गाडी बुकिङ भएका थिए । त्यतिबेला गाडी बुकिङ गरेकाहरूले अहिले बैंकबाट ऋण लिन थालेका हुन् ।

त्यस्तै, पछिल्लो समय सेयर बजारले गति लिएको छ । यद्यपि, असार १७ यता डेढ महिनामै १ हजार अंकले बढेको नेप्से भदौ लागेपछि घट्दो क्रममा छ । सेयर कर्जामा राष्ट्र बैंकले संस्थागततर्फको २० करोडको सीमा खारेज गरेपछि ठूला लगानीकर्ताहरूले धमाधम ऋण लिन थालेको बैंकरहरू बताउँछन् । सस्तो ब्याजदर र राष्ट्र बैंकको लचकतासँगै सेयर कर्जाको माग बढेको बैंकरहरूको भनाइ छ । गत वर्षदेखि नै सेयर कर्जाको माग बढ्दो क्रममा थियो । गत आवमा मात्रै सेयर कर्जा लगानी १८ प्रतिशत अर्थात् झण्डै १३ अर्ब रुपैयाँले बढेको थियो ।

त्यस्तै, दशैं, तिहार लगायत ठूला चाडपर्व नजिकिएकाले व्यापार कर्जाको पनि माग बढेको छ । दशैं, तिहारमा अन्य समयकोभन्दा उपभोग्य वस्तुको माग बढ्ने भएकाले व्यापारीहरूले धेरै आयात गर्छन् । जसले बैंकमा ऋणको माग बढाएको देखिन्छ ।

पछिल्लो समय घरजग्गा कर्जाको पनि माग बढ्न थालेको छ । २०७९ जेठमा भूउपयोग नियमावली लागू भएपछि सुस्त रहेको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा केही बढ्न थालेको छ । त्यस्तै, पछिल्लो समय बैंकबाट ऋण लिएर व्यक्तिगत घर बनाउने क्रम पनि केही बढेको छ । यसले पनि बैंकमा कर्जाको माग बढाएको हो ।

घरजग्गा, सेयर, अटो कर्जाको माग बढे पनि अर्थतन्त्र चलायमान बनाउने औद्योगिक क्षेत्रमा भने कर्जाको माग बढ्न सकेका छैन । निर्माण क्षेत्र सुस्त हुँदा सिमेन्ड, डण्डी लगायत वस्तुको माग बढ्न सकेको छैन ।

अहिले बैंकिङ प्रणालीमा साढे ६ खर्ब रुपैयाँ बढी तरलता थुप्रिएको छ । ब्याजदर पनि २ वर्ष यताकै सस्तो भएको छ । तर, उपभोग्य वस्तुको माग र व्यवसायीको मनोवल बढ्न नसक्दा अपेक्षित रुपमा कर्जाको माग बढ्न सकेका छैन ।

आर्थिक संकुचनकै कारण गत वर्ष पनि कर्जा विस्तारको लक्ष्य आधा मात्रै पूरा भएको थियो । राष्ट्र बैंकले गत आव २०८०/८१ मा निजी क्षेत्रतर्फ साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा ५.८ प्रतिशत मात्रै लगानी भएको थियो । थियो । तर, लक्ष्यको आधा मात्रै कर्जा लगानी भएको छ ।

राष्ट्र बैंकको लक्ष्य भेट्टाउन गत वर्ष बैंक तथा वित्तीय संस्थाहरूले ५ खर्ब ६० खर्ब बढी रुपैयाँ कर्जा लगानी गर्नुपथ्र्यो । तर, १ वर्षमा २ खर्ब ७६ अर्ब ९८ करोड रुपैयाँ मात्रै लगानी गरेका थिए ।

चालु आवमा राष्ट्र बैंकले निजी क्षेत्रतर्फ १२.५ प्रतिशतको कर्जा विस्तार लक्ष्य राखेको छ । सो अनुसार ६ खर्ब रुपैयाँ बढी कर्जा लगानी गर्नुपर्छ । लक्ष्य अनुसार कर्जा लगानी गर्न बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि कर्जाको माग बढ्नेमा भने शंका छ ।यद्यपि, बजारमा कर्जाको माग बढाउन राष्ट्र बैंक र सरकारले एकपछि अर्को नीतिगत लचकता अपनाउँदै आएका छन् ।

हिमालय ऊर्जाले साढे १४ लाख कित्ता सेयर लिलामीमा ल्याउने Read Previous

हिमालय ऊर्जाले साढे १४ लाख कित्ता सेयर लिलामीमा ल्याउने

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड Read Next

सुनको मूल्यले बनायो हालसम्मकै महँगोको रेकर्ड