औसतमै ८ प्रतिशत तल झर्यो बैंकको बेसरेट, कुनबाट ऋण लिँदा सस्तो ?

काठमाडौं । वाणिज्य बैंकहरुको आधारदर (बेसरेट) झण्डै ३ वर्ष यताकै सस्तो भएको छ । निक्षेपको ब्याजदर १ वर्षदेखि लगातार घट्दै जाँदा कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

बैंकहरूले २०८० कात्तिकदेखि महिनै पिच्छे निक्षेपको ब्याजदर घटाउँदा लागत घट्न गई बैंकहरूको आधारदर (बेसरेट) निकै सस्तिएको हो ।

वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको बेसरेट अनुसार औसत बेसरेट ७.९२ प्रतिशतमा झरेको छ । यो पछिल्लो ३३ महिना यताकै सस्तो हो ।

चालु आवको साउनको तुलनामा भदौमा बैंकहरूको बेसरेट औसतमा ०.२५ प्रतिशत बिन्दुले घटेको हो । साउनमा बैंकहरुको औसत बेसरेट ८.१६ प्रतिशत रहेकोमा भदौमा ७.९२ प्रतिशतमा झरेको छ ।

बैंकिङ प्रणलीमा तरलता अभाव हुँदै गएपछि बैंकहरूले निक्षेपको ब्याज बढाउँदा २०७८ असारदेखि बेसरेट महँगिँदै गएको थियो । सो बेला औसतमा ६.८९ प्रतिशत रहेको बेसरेट २०७९ पुसमा बढेर १०.७८ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको बेसरेट अहिले ७.९२ प्रतिशतमा झरेको हो ।

आर्थिक शिथिलताका कारण कर्जाको माग नबढेपछि बैंकहरूले लगातार निक्षेपको ब्याज घटाउँदा ब्याज खर्च कटौती हुन गई बेसरेट सस्तिएको हो । बेसरेट घट्दै गएसँगै कर्जाको ब्याजदर पनि सस्तिँदै गएको हो ।

पछिल्लो १ वर्षको अवधिमै बैंकहरूले निक्षेपको ब्याजदर साढे ४ प्रतिशतसम्म घटाएका छन् भने औसतमै साढे २ प्रतिशतले घटेको छ । जसको सकारात्मक प्रभाव बेसरेटमा देखिएको हो ।

हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये एनआइसी एसयिा बाहेक अरु सबै बैंकको बेसरेट ९ प्रतिशतभन्दा तल झरेको छ । जसमा ८ बैंकको बेसरेट औसतभन्दा पनि कम रहेको छ । अझ ८ बैंकको बेसरेट ७.९२ प्रतिशतभन्दा कम छ ।

२० बैंकमध्ये १९ वटाले चाहेमा १० प्रतिशतभन्दा कम ब्याजदरमा कर्जा दिन सक्ने भएका छन् । बेसरेट ९ प्रतिशतभन्दा तल रहेकाले चाहेमा न्यूनतम १ प्रतिशत मात्रै प्रिमियम जोडर एकल अंकको ब्याजदरमै ऋण दिन सक्ने भएका हुन् । यद्यपि, बैंकहरूले चाहेमा १ प्रतिशतभन्दा कम प्रिमियममा पनि ऋण दिन सक्छन् ।

९ प्रतिशत माथि बेसरेट रहेको एनआइसीले भने चाहेर पनि एकल अंकको ब्याजदरमा ऋण दिन सक्दैनन् । विगतमा महँगोमा निक्षेप उठाएकाले एनआइसीको बेसरेट धेरै घट्न नसकेको हो ।

बैंकहरूले गत कात्तिकदेखि लगातार निक्षेपको ब्याजदर घटाएकाले अहिले आधारदर (बेसरेट) एकल अंकमा झरेको हो । बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम) थुप्रिएपछि बैंकहरूले लागत घटाउन निक्षेपको ब्याजदर घटाउँदै आएका छन् । विगतमा तरलता अभावका कारण बैंकहरूले निक्षेपको ब्याजदर नै १२ प्रतिशतसम्म पुर्याएका थिए । जसकारण बैंकहरूको औसत बेसरेट नै दोहोरो अंकका पुगेको थियो ।

साथै, नेपाल राष्ट्र बैंकले समेत नीतिगत दरहरू घटाउँदा बैंकहरूलाई ब्याजदर घटाउन सहयोग पुगेको छ । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंकदर ७ प्रतिशतबाट ६.५ प्रतिशत, नीतिगत दर ५.५ प्रतिशतबाट ५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दर ३ प्रतिशतमा झारेको थियो ।

बैंकहरूले आफ्नो लागत अनुसार आधारदर तय गर्छन् । आधारदरमा आएको फेरबदल अनुसार कर्जाको ब्याजदर पनि फरक पर्छ । विगतमा १८ प्रतिशतसम्म पुगेको कर्जाको ब्याजदर अहिले अधिकतम १२/३ प्रतिशतमा झरेको छ ।

कुन बैंकबाट पाइन्छ सस्तोमा ऋण ?

कुन बैंकबाट सस्तोमा ऋण पाइन्छ भन्ने कुरा बैंकहरूको बेसरेटमा भर पर्दछ तुलनात्मक रूपमा कम बेसरेट भएका बैंकहरूले सस्तोमा ऋण दिन सक्छन् भने बेसरेट धेरै भएका बैंकको ब्याजदर महँगो हुन्छ ।

अहिले वाणिज्य बैंकहरूले आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण दिँदै आएका छन् । यद्यपि, ऋणको प्रकृति अनुसार बैंकहरूले प्रिमियम दर कम र धेरै जोड्ने गरेका छन् । त्यसैले कर्जाको ब्याजदर ब्याजदर सस्तो र महँगो तय गर्छ ।

हाल विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा सस्तोमा ऋण दिन सक्छ । यस बैंकको बेसरेट ६.२२ प्रतिशत छ । यो हाल संचालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा सस्तो हो । चार्टर्डले बेसरेटमा न्यूनतम १ प्रतिशत प्रिमियम जोडेर न्यूनतम ७.२२ प्रतिशतमै ऋण दिन सक्छ । बैंकले बेसरेटमा ५ प्रतिशत प्रिमियम जोडेर पनि अधिकतम् ११ प्रतिशतमै ऋण दिन सक्छ ।

त्यसैगरी, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यको पनि बेसरेट ७ प्रतिशत कम अर्थात् ६.६६ प्रतिशत मात्र छ । यसले पनि चाहेमा १ प्रतिशत प्रिमियम जोडेर ८ प्रतिशतभन्दा कममै ऋण दिन सक्छ ।

त्यस्तै, एभरेष्ट, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आइएमई, सानिमा, सिद्धार्थ, प्रभु, कृषि विकास र एनमबी बैंकको बेसरेट ८ प्रतिशतभन्दा कम छ । यी बैंकले न्यूनतम ९ प्रतिशत ब्याजदरमै कर्जा दिन सक्छन् ।

कुमारी, प्राइम, हिमालयन, सिटिजन्स, लक्ष्मी सनराइज, नेपाल र माछापुच्छ्रे बैंकको बेसरेट ८ देखि ९ प्रतिशतको बीचमा छ । हाल एनआइसी एशिया बैंकको मात्रै बेसरेट ९ प्रतिशत माथि छ । सबैभन्दा महँगो रहेको एनआइसीको बेसरेट ९.२२ प्रतिशत रहेको छ ।

भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरू Read Previous

भुक्तानी विवाद टुङ्गिएसँगै तनहुँ जलविद्युत् आयोजनाको काम सुरू

भगवती हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ? Read Next

भगवती हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति ?