
काठमाडौं । जीवन बीमा व्यवसायमा गिरावट आएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको साउनमा जीवन बीमा कम्पनीको प्रिमियम संकलन ५.२६ प्रतिशतले घटेको हो ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको साउनमा १४ जीवन बीमा र ३ लघु जीवन बीमा कम्पनीले कुल १८ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्ष साउनको तुलनामा १ अर्ब ३ करोड रुपैयाँ कम हो । गत वर्ष साउनमा जीवन बीमा कम्पनीहरूले कुल कम्पनी १९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ बीमा शुलक संकलन गरेका छन् ।
चालु आवको साउनमा १४ जीवन बीमा कम्पनीले मात्रै १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ र ३ लघु जीवन बीमा कम्पनीले ३ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
साउनमा जीवन बीमा कम्पनीहरूले नयाँ व्यवसाय खासै बढाउन नसके पनि पुरानै पोलिसी नवीकरणले व्यवसाय धानेको देखिन्छ । कुल व्यवसायमा पोलिसी नवीकरणबाट उठेको बीमाशुल्कको हिस्सा ८४.७१ प्रतिशत रहेको छ । नयाँ पोलिसी बिक्रीबाट १५.२९ प्रतिशत मात्रै बीमा शुल्क संकलन गरेका छन् ।
साउन जीवन बीमा कम्पनीहरूले प्रथम बीमा शुल्क बापत २ अर्ब ५९ करोड र नवीकरण शुल्क बापत १५ अर्ब ७३ करोड रुपैयाँ संकलन गरेका छन् ।
जीवन बीमा कम्पनीले साउनमा कुल ५ लाख ६४ हजार ७८३ वटा पोलिसी बिक्री गरेका छन् । उनीहरूले कुल १ खर्ब ३० अर्ब ५८ करोड रुपैयाँ बीमांक बराबरको पोलिसी बिक्री गरेका हुन्। साउनसम्म जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेख संख्या १ करोड ३७ लाख ७ हजार २६५ वटा रहेका छन् ।
चालु आवको साउनमा निर्जीवन बीमा व्यवसाय ८.१७ प्रतिशतले बढे पनि जीवन बीमा व्यवसाय भने खुम्चिएको छ । अर्थतन्त्रमा शिथिलता कायम रहँदा नागरिकको आम्दानी बढ्न नसक्दा नयाँ पोलिसी बिक्री हुन नसकेको देखिन्छ । जसको असर बीमा व्यवसायमा परेको हो । साथै, केही पुराना पोलिसी समेत नवीकरण हुन नसक्दा बीमा शुल्क संकलन घटेको हो ।
आधा बजार ३ कम्पनीको कब्जामा
साउनमा संकलित कुल बीमा शुल्कमध्ये आधा हिस्सा ३ कम्पनीको रहेको छ । साउनमा नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसनले मात्रै १० अर्ब ५ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्को ५४.१२ प्रतिशत हिस्सा हो ।
बीमा शुल्क संकलनमा नेपाल लाइफको वर्चश्व कायमै रहेको छ । कुल बीमा शुल्क मध्ये नेपाल लाइफ एक्लैले झण्डै एकतिहाई बीमा शुल्क संकलन गरेको छ । साउनमा नेपाल लाइफले मात्रै ५ अर्ब ७१ करोड रुपैयाँ संकलन गरेको छ । यो कुल व्यवसायको ३०.७४ प्रतिशत हिस्सा हो ।
त्यस्तै, नेशनल लाइफले २ अर्ब २६ करोड र लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी)ले २ अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । कुल व्यवसायमा नेशनलको हिस्सा १२.१९ प्रतिशत र लाइफ इन्स्योरेन्सको ११.१८ प्रतिशत रहेको छ ।
साविकका ३ कम्पनी मर्ज भई दोस्रो ठूलो जीवन बीमा कम्पनी बनेको हिमालयन लाइफ भने व्यवसायमा चौथो स्थानमा रहेको छ । यसले साउनमा १ अर्ब ९३ करोड बीमा शुल्क संकलन गरेको छ । चुक्ता पूँजी नेपाल लाइफकै हाराहारीमा रहे पनि व्यवसायमा नेपाल, नेशनल र एलआइसीभन्दा पछि परेको हो ।
साउनमा सूर्यज्योतिले १ अर्ब १२ करोड, एसियन लाइफ ९२ करोड, सिटिजन लाइफ ७६ करोड, सानिमा रिलायन्स ६७ करोड, प्रभु महालक्ष्मी ५९ करोड, आइएमई लाइफ ५४ करोड, मेट लाइफ ५० करोड रिलायबल नेपाल लाइफ ५० करोड र राष्ट्रिय जीवन बीमाले ४७ करोड बीमा शुल्क संकलन गरेका छन् । साउनमा सन नेपाल लाइफले सबैभन्दा कम ४५ करोड रुपैयाँ प्रिमियम उठाएको छ ।
लघुबीमाको हिस्सा नगन्य
समीक्षा अवधिमा लघु जीवन बीमा कम्पनीको व्यवसाय भने न्यून रहेको छ । गत वर्षदेखि संचालनमा आएका ३ लघुबीमा कम्पनीले चालु आवको साउनमा कुल ३ करोड ७० लाख रुपैयाँ मात्रै बीमा शुल्क संकलन गरेका छन् । यो कुल व्यवसायकको ०.२० प्रतिशत मात्र हो । यद्यपि, पछिल्ला महिनाहरूमा लघु जीवन बीमा कम्पनीहरूले व्यवसाय क्रमशः बढाउँदै लगेका छन् ।
साउनमा गार्डियन माइक्रो लाइफले १ करोड ८८ लाख, क्रेष्ट माइक्रो लाइफले १ करोड ३० लाख र लिबर्टी माइक्रो लाइफले ५१ लाख ७७ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।