धमाधम अग्राधिकार सेयर जारी गर्दै बैंकहरू, यी बैंकले गरे प्रस्ताव

काठमाडौं । बैंकहरूले धमाधम अग्राधिकार ( प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार रहने) सेयर जारी गर्ने प्रस्ताव गर्न थालेका छन् । पूँजीकोषको दबामा रहेका बैंकहरूलाई राष्ट्र बैंकले अग्राधिकार सेयर सेयर जारी गर्न पाउने बाटो खोलिदिएसँगै धमाधम प्रस्ताव गर्न थालेका हुन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि पूँजीकोषका कारण केही बैंकहरूले कर्जा विस्तार गर्न नसक्ने भएपछि राष्ट्र बैंकले लचकता अपनाउँदै गत असार १२ गते बैंकहरूलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर (पर्पेचुअल नन-क्युमुलेटिभ प्रिफरेन्स सेयर) जारी गर्न दिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पूँजीकोषको दबाब भएका बैंकहरूले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव अघि बढाएका हुन् ।

राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ । त्यस्तै, राष्ट्र बैंकले गत वर्षदेखि ‘काउन्टर साइक्लिकल बफर’ लागू गर्दै २०८१ असार मसान्तसम्म थप ०.५ प्रतिशत पूँजीकोष कायम गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, चालु आवमा काउन्टर साइक्लिकल बफर शून्य प्रतिशत नै कायम हुने राष्ट्र बैंकले जनाएको छ । यस अनुसार चालु आवमा पनि बैंकहरूले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत कायम गरे हुने भएको छ ।

गत असार मसान्तसम्म २० मध्ये १९ बैंकले प्राथमिक पूँजीकोष ८.५ प्रतिशत माथि छ । एनआइसी एशियाको मात्रै प्राथमिक पूँजीकोष सीमाभन्दा तल अर्थात् ८.४४ प्रतिशत मात्रै छ । पूँजीकोष सीमाभन्दा तल रहेका बैंकलाई कर्जा विस्तारमा समस्या हुन्छ । त्यसैले बैंकहरूले तोकिएको पूँजीकोष कायम गर्दै कर्जा विस्तारको बाटो खुलाउन अग्राधिकार सेयर जारी गर्न थालेका हुन् ।

पूँजीकोषमा दबाब भएका बैंकहरूलाई राष्ट्र बैंकले सूक्ष्म निगरानीमा राख्ने गरेको छ । त्यस्तै, उनीहरूकोे व्यावसायिक अवस्थाबारे जानकारी लिन राष्ट्र बैंकले आवश्यक ठानेमा मूल्यांकन लेखापरीक्षण गराउन सक्ने सक्छ । बैंकहरूले पूँजीकोष सम्बन्धी निर्देशन पालना नगरेमा शीघ्र सुधारात्मक कारबाही समेत गर्न सक्ने व्यवस्था छ ।

यी बैंकले गरे प्रस्ताव

हालसम्म ३ वटा वाणिज्य बैंक र एउटा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेका छन् । नबिल, एनएमबी, एनआइसी एशिया र कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेका हुन् ।

नबिल बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ५ अर्ब रुपैयाँ बराबरको ५ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार जारी गर्ने भएको छ । बैंकले उक्त प्रस्ताव भदौ १७ गतेको विशेष साधरण सभाबाट समेत पारित गरिसकेको छ । नबिलले नाफा भएको वर्ष ८ प्रतिशत लाभांश दिने गरी अग्राधिकार सेयर जारी गर्न लागेको हो ।

त्यस्तै, एनएमबी बैंकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता कित्ता अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकले उक्त सेयर व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्तालाई मात्र बिक्री गर्ने जनाएको छ । बैंकका अनुसार उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ८.५ प्रतिशत प्रतिफल पाउने छन् ।

गत वर्ष तोकिएको पूँजीकोष कायम गर्न नसकेको एनआइसी एसिया बैंकले पनि ५ अर्ब बराबरको अग्राधिकार सेयर जारी गर्न नेपाल राष्ट्र बैंकसँग अनुमति मागेको छ । एनआइसीले वार्षिक ८.५ प्रतिशत लाभांश दिने गरी उक्त सेयर जारी गर्न लागेको हो ।

विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको असार १७ गतेको बैठकले प्रतिकित्ता १०० रुपैयाँ दरले ३५ करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

कामनाले उक्त अग्राधिकार सेयरमा लगानी गर्नेले वार्षिक ९ प्रतिशत प्रतिफल पाउने छन् । यद्यपि, नाफा कमाएको वर्ष मात्रै लाभांश दिने बैंकले जनाएको छ । पूँजीकोषको दबाबमा रहेको अन्य केही बैंकहरूले पनि अग्राधिकार सेयर जारी गर्ने तयारी गरिरहेका छन् ।

के हो अग्राधिकार सेयर ?

अग्राधिकार (प्रिफरेन्स) सेयर भनेको कम्पनीमा प्रतिफल तथा पूँजी फिर्तामा अग्र अधिकार हुने सेयर हो । कम्पनीले नाफाबाट पहिला अग्राधिकार सेयरधनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण सेयरधनीलाई लाभांश बाँड्छ । साधरण सेयरमा वार्षिक लाभांश दर घट/बढ भइरहन्छ भने अग्राधिकार सेयरमा पहिला नै वार्षिक लाभांशदर तोकिएको हुन्छ । यद्यपि कम्पनीले नाफा कमाउन सकेन भने अग्राधिकार सेयरधनीले पनि लाभांश पाउँदैनन् ।

यस्तै, कम्पनी विघटन हुने अवस्थामा पनि सम्पत्तिमा पहिलो अधिकार अग्राधिकार सेयरधनीलाई हुन्छ । अग्राधिकार सेयर संस्थाको पूँजीको रूपमा रहने भएता पनि यस्ता सेयरधनीले संस्थाको साधारण सभामा मत हाल्ने अधिकार भने रहँदैन ।

अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने, प्रतिफल जम्मा हुने, विनिमय गर्न मिल्ने, अनन्तकालसम्म रहने लगायत विभिन्न किसिमका हुन्छन् ।

कस्ता बैंक तथा वित्तीय संस्थाले जारी गर्न पाउँछन् ?

अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले १ दर्जन शर्तहरू तोकेको छ । बैंकहरूले अग्राधिकार सेयर जारी गर्दा भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित गर्नुपर्ने, इजाजतपत्रप्राप्त संस्था स्वयंले निष्काशन गर्नु पर्ने, यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने, कुनै पनि सुरक्षण नराखी निष्काशन गर्नुपर्ने, यो सेयरमा लााभांश वितरण गर्नेरनगर्ने स्पष्ट खुलाउनुपर्ने, लाभांश दिने भए लाभांशदर विवरणपत्रमा स्पष्ट खुलाउनुपर्ने छ ।

त्यसैगरी, अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँड हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्ने, अन्य सञ्चित कोषबाट खर्च गर्न नपाउने, अग्राधिकार सेयर जारी गर्दा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाउनुपर्नेछ ।

त्यस्तै, अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवं अन्य साधारण साहुभन्दा पछि मात्र हुने, क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ लागू भएका संस्थाले मात्र जारी गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

उच्च विद्युत् चुहावट हुनेमा कर्णाली पहिलो, मधेस दोस्रो स्थानमा Read Previous

उच्च विद्युत् चुहावट हुनेमा कर्णाली पहिलो, मधेस दोस्रो स्थानमा

सुपर त्रिशूली हाइड्रोपावरले बनायो त्रिशूली नदी माथि बेलिब्रिज, गोरखा र चितवन जोडिए Read Next

सुपर त्रिशूली हाइड्रोपावरले बनायो त्रिशूली नदी माथि बेलिब्रिज, गोरखा र चितवन जोडिए