सुपर त्रिशूली हाइड्रोपावरले बनायो त्रिशूली नदी माथि बेलिब्रिज, गोरखा र चितवन जोडिए

सांकेतिक तस्वीर

मुग्लिन । गोरखाको गण्डकी गाउँपालिका–१ बुटार र चितवनको इच्छाकामना गाउँपालिका-३ चुमखोलालाई जोड्ने त्रिशूली नदीमाथि बनेको मोटरेबल बेलिब्रिज सञ्चालनमा आएको छ ।

गोरखा सडक योजनाको समन्वयमा बुटारमा निर्माणाधीन १०० मेगावाट क्षमताको सुपर त्रिशूली जलविद्युत् आयोजनाका निर्माण कम्पनी ब्लु इनर्जी प्राइभेट लिमिटेडले उक्त बेलिब्रिज निर्माण गरिएको हो ।

आयोजनाका लागि आवश्यक सामान ढुवानीका लागि निर्माण गरिएको उक्त बेलिब्रिजको गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बुधबार संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।

झोलुङ्गे पुलबाट उत्पादित कृषिजन्य सामग्री ल्याउनुपर्ने बाध्यता रहे पनि अबका दिनमा गाडीबाटै ढुवानी गर्न सकिने भएपछि गण्डकी गाउँपालिकाका स्थानीयलाई सहज भएको छ ।

इच्छाकामनाका विद्यालयमा अध्ययनका लागि गण्डकी गाउँपालिकाका तल्लो भेगका बालबालिकालाई विद्यालय आउन थप सहज पनि भएको छ । सो कम्पनीका निर्देशक निरञ्जन रेग्मीले रु १६ करोड १४ लाख खर्चेर पुल निर्माण गरिएको बताए।

उनका अनुसार पुलको लम्बाइ ११६ मिटर र चौडाइ ४.२ मिटर रहेको छ । यो बेलिब्रिज २० टन भारवहन क्षमताको रहेको छ । एकपटकमा एउटा गाडी मात्र आवतजावत गर्न मिल्ने उनले बताए ।

उनले यो बेलिब्रिजले यहाँका स्थानीयको समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कम्पनीको सामान मात्र ढुवानी गर्न नभई स्थानीयलाई सहजता भएको बताए । उनले हाइड्रोपावर निर्माणसँगै इच्छाकामना र गण्डकी गाउँपालिकाको विकासमा कम्पनीले सहयोग गर्ने प्रतिबद्धता जनाए । रासस

धमाधम अग्राधिकार सेयर जारी गर्दै बैंकहरू, यी बैंकले गरे प्रस्ताव Read Previous

धमाधम अग्राधिकार सेयर जारी गर्दै बैंकहरू, यी बैंकले गरे प्रस्ताव

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको भेट Read Next

राष्ट्रपति पौडेलसँग सार्क मुलुकका प्रमुख निर्वाचन अधिकारीको भेट