खेर जाने कफीको बोक्राबाट गाडीकाे पार्टपुर्जा

विश्वको सबैभन्दा ठूलो फाष्ट फुट चेन रेष्टुरेन्ट म्याकडोनाल्डले वर्षको ६ करोड २० लाख पाउण्ड कफीको दानाको बोक्रा उत्पादन गर्छ । यस्ता बोक्रा कफीको बियाँ भुट्ने समयमा निस्कने पदार्थ हो । यस्तो बोक्रो केही समय अघिसम्म सिधै फालिन्थ्यो । तर, अहिले चर्चित गाडी निर्माता कम्पनी फोर्डले गाडीको पार्टपुर्जा बनाउन यो पदार्थको प्रयोग गर्न थालेको छ ।

 

सन् २०१७ मा अमेरिकामा १४ करोड टन ठोस पदार्थ फोहरको रुपमा फ्याँकिएको थियो । यस्तो फ्याँकिएको वस्तुले कार्वन डाइअक्साइड लगायत पर्यावरणलाई नकारात्मक प्रभाव पार्ने ग्याँसहरु उत्र्सजन गर्ने वैज्ञानिकहरु बताउँछन् । तर, अब भने कफीको बोक्रा जस्तो पदार्थ फोहरको रुपमा फ्याँकिनुपर्ने छैन ।

 

फोर्डले पहिल्यै देखिनै गोलभेंडा, गहुँ, जिन्स बनाउने पदार्थ लगायतबाट निस्कने  विभिन्न पदार्थको प्रयोगबाट गाडीको पार्टपुर्जा बनाउन शुरु गरिसकेको थियो । उनीहरुको अनुसन्धान टोलीले कफीको बियाँको बोक्राबाट पनि कारको पार्टपुर्जा बनाउन सकिने पत्ता लगाएको थियो । बियाँबाट हेडलाइट, कार ब्याट्रि आदि उच्च तापक्रम थेग्न सक्ने पार्टपुर्जा बनाउन सकिने उनीहरुको निष्कर्ष छ ।

 

बियाँको बोक्रालाई उच्च तापक्रममा तताएर प्लास्टिक लगायत अन्य वस्तुसँग मिसाएपछि विभिन्न आकारमा ढाल्न सकिने पदार्थ तयार हुन्छ । र, यसले फोर्डका गाडीहरुलाई निक्कै फाइदा हुने उनीहरुको बुझाइ छ ।

 

अहिले फोर्डको हेडलाईट टाल्क नाम गरेको धातुबाट बन्ने गरेको छ, जसको उत्खनन जरुरी छ । तर, अब बियाँको बोक्राले टाल्क धातुको प्रयोगलाई कम गराउनेछ र कारको उक्त पुर्जाको तौल २० प्रतिशतले कम गराउनेछ । बियाँको बोक्राबाट बन्ने पुर्जाले गुणस्तर र टिकाउपनमा कुनै कसर नछाड्ने उनीहरुको बुझाई छ ।

 

कसरी फोर्डले कफीको बियाँको बोक्राबाट हेडलाइट बनाउँदैछ ?

 

उत्तरी अमेरिकाको कफी धेरै फल्ने ठाउँबाट यसको शुरुवात हुन्छ । बियाँहरु बटुलेपछि त्यसलाई भुटिन्छ । भुट्दा बियाँको बोक्राहरु बाहिर निस्कन्छन् । यस्ता बोक्राहरु क्यानडीयन बायोटेक्नोलोजी कम्पनीमा लगेर प्लास्टिक लगायत अन्य पदार्थहरुसँग मिसाइन्छन् ।

 

यसरी मिसाइएको पदार्थलाई भ्यारोक नाम गरेको कम्पनीमा लगेर हेडलाइटको आकारमा ढालिन्छ । प्रत्येक हेडलाइटको आकार ल्याउनलाई ३० देखि ६० सेकेण्डसम्मको समय लाग्छ । त्यसपछि त्यसको जिम्मा फोर्डलाई लगाइन्छ, जसले आफ्नो गाडीमा त्यसको प्रयोग गर्छ ।

 

फोर्डले सन् २०१९ देखि आफ्नो एक मोडलमा यस्तो हेडलाईटको प्रयोग गर्न थालेको छ । अन्य मोडलहरुको पनि यस्तै हेडलाइटहरुको प्रयोग गर्दै जाने फोर्डको भनाइ छ ।

 

फोर्ड र म्याक्डोनाल्डले परम्परागत प्लास्टिकलाई विस्थापित गर्दै रिसाइकल्ड प्लास्टिकको प्रयोग गर्ने भनेर योजना बनाएका छन् । फोर्ड सन् २०३५ सम्म आफ्ना सबै गाडीहरुमा रिसाइकल्ड प्लास्टिकको मात्र प्रयोग गर्ने योजनामा केन्द्रीत रहेको छ । फोर्ड आगामी दिनमा म्याक्डोनाल्डबाट निस्कने आलु र सुन्तलाको बोक्रालाई पनि प्रयोगमा ल्याउने बारेमा अनुसन्धान गरिरहेको छ ।

 

के थाहा, हामी कुनै दिन खाद्य पदार्थबाट निस्केका वस्तुहरुबाट मात्र बनेको गाडी पो चलाउने छौं कि ?

-एजेन्सी

एचआइडीसीएलको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि आउँदै Read Previous

एचआइडीसीएलको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि आउँदै

शेयर बजारमा उछाल, सूचक दोहोरो अंकले बढ्दा कारोबार २२ करोडले बढ्यो Read Next

शेयर बजारमा उछाल, सूचक दोहोरो अंकले बढ्दा कारोबार २२ करोडले बढ्यो