काठमाडौं । शेयर बजारमा उछाल आएको छ । हिजो सामान्य सुधार देखिएको बजारमा आज दोहोरो अंकको बढोत्तरी आएको छ । सूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ । आज कारोबार रकमा पनि करिब २२ करोडले बढेको छ ।
मंसिर तेस्रो सातादेखि लगातार ६१ अंकले बढेको बजारमा गतसाता करिब २० अंकको करेक्शन भएको थियो । बजारले गति लिँदै गएपछि लगानीकर्ता थप उत्साहित र आशावादी भएका छन् ।
शेयर बजार मापक सूचक नेप्से आज १७.७७ अंकले बढेर ११६८.५८ विन्दुमा पुगेको छ । आज १७७ कम्पनीको ५९ करोड ५७ लाख ६४ हजार ५४४ रुपैयाँ बराबरको कारोबार भएको छ । १७ लाख ५४ हजार ३६३ कित्ता शेयर किन बेच भएका छन् ।
आज कारोबार भएका १२ वटा समूहमध्ये सामूहिक लगानी कोष समूहबाहेक बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । सामूहिक लगानी कोषको सूचक ०.०९ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १७०.८८ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा आज पनि शिवम् सिमेन्टको शेयर शीर्ष स्थानमा रह्यो । यसको ५ करोड ८५ लाख ६० हजार १५२ रुपैयाँको कारोबार भएको छ ।
आज छ वटा कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नागरिक लगानी कोष, एचआइडीसील, सपोर्ट माइक्रोफाइनान्स, शिवम् सिमेन्ट, गुँरास लघुवित्त र सिर्जना फाइनान्सको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । पाँचथर पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै ७.०१ प्रतिशतले घटेको छ ।