बैंकहरूले ८ गुणासम्म बढाए सेयर कर्जा लगानी, यी हुन् आक्रमक रूप ऋण दिने ५ बैंक

काठमाडौं । वाणिज्य बैंकहरू सेयर कर्जा लगानीमा आक्रमक बनेका छन् । अर्थतन्त्रमा आएको संकुचनका कारण अन्य क्षेत्रमा कर्जाको माग नहुँदा बैंकहरू सेयर कर्जा लगानीलाई प्राथमिकतामा राख्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ११.५ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखिएकोमा कर्जाको वृद्धिदर ५.८ प्रतिशतमै सीमित भएको थियो । तर, मार्जिन प्रकृति (सेयर कर्जा)को कर्जा लगानी भने लक्ष्यभन्दा डेढ गुणा धेरै भएको छ ।

गत आवमा सेयर धितो कर्जा लगानी १८.१ प्रतिशतले बढेको छ । १ वर्षमा सेयर कर्जा १३ अर्ब ७८ करोड रुपैयाँले बढेर ९० अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्ला दुई वर्षमा ३० अर्बले घटेको मार्जिन कर्जा गत वर्ष राष्ट्र बैंकको नीतिगत लचकतापछि ह्वात्तै बढेको हो ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

राष्ट्र बैंकले गत वर्षदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकुश क्रमशः हटाउँदै लगेको थियो । सोही कारण सेयर कर्जाको माग र लगानी बढेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको थियो । त्यस्तै, गत आवमा त्यसको सीमा बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको थियो । चालु आवको मौद्रिक नीतिबाट संस्थागततर्फको २० करोडको सीमा पनि खारेज गरिदिएको छ ।

त्यस्तै, राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार पनि घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, बैंकिङ प्रणालीमा कायम अधिक तरलता र घट्दो ब्याजदरका कारण पनि सेयर कर्जा बढेको हो । कर्जाको माग नभएपछि बैंकहरूले महिनैपिच्छे ब्याजदर घटाइ रहेका छन् । अधिकांश बैंकले कात्तिकदेखि नै निक्षेपको ब्याजदर घटाएका छन् । जसकारण बैंकको लागत घट्न गई कर्जाको ब्याजदर समेत घटेको छ । अहिले बैंकहरूको औसत बेसरेट नै एकल अंकमा झरिसकेको छ । बार्गेनिङ गर्न सक्ने ग्राहकले १० प्रतिशत हाराहारीमै ऋण पाउने अवस्था छ । अर्थतन्त्रमा आएको सुधारले पनि लगानीकर्तालाई ऋण लिएर लगानी गर्न मनोबल बढेको देखिन्छ ।

८ गुणासम्म बढाए सेयर कर्जा लगानी

गत आवमा वाणिज्य बैंकहरूले सेयर कर्जा लगानी ८ गुणासम्म बढाएका छन् । हाल संचालनमा रहेको २० मध्ये १९ बैंकले सेयर कर्जा लगानी गर्छन् । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टर्डले भने सेयर कर्जा नै लगानी गर्दैन् । १९ मध्ये १३ बैंकले सेयर कर्जा लगानी बढाएका छन् भने ६ वटाले घटाएका छन् ।

गत वर्ष नेपाल एसबीआई बैंकले सेयर कर्जा लगानी ७३९.९६ प्रतिशतले वृद्धि गरेको छ । २०८० असार मसान्तसम्म २ करोड ४० लाख सेयर कर्जा लगानी गरेको एसबीआइले २०८१ असार मसान्त आइपुग्दा बढाएर २० करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।यद्यपि, रकमका आधारमा भने एसबीआइले गत वर्ष पौने १८ करोड रुपैयाँ मात्रै सेयर कर्जा दिएको छ ।

त्यस्तै, गत वर्ष एनआइसी एशिया पनि सेयर कर्जा लगानीमा आक्रमक बनेको छ । एनआइसी एशियाले सेयर कर्जा लगानी झण्डै ४ गुणा अर्थात् २८६.१६ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षसम्म कुल १ अर्ब २ करोड सेयर कर्जा लगानी गरेको एनआइसी गत वर्षसम्म मात्रै २ अर्ब ९२ करोड कर्जा दिएको छ ।

त्यसैगरी, एभरेष्ट र नेपाल बैंक बैंक पनि सेयर कर्जा लगानीमा आक्रमक बनेका छन् । गत वर्ष एभरेष्ट बैंकले सेयर कर्जा लगानी ९०.२४ प्रतिशत र नेपालले ७१.८३ प्रतिशतले वृद्धि गरेका छन् । गत असारसम्म एभरेष्टले २ अर्ब २ करोड र नेपालले ६ अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।

त्यसैगरी, गत वर्ष सिद्धार्थले ४२.१४ प्रतिशत, कृषि विकासले ३९.९५ प्रतिशत, सिटिजन्सले ३६.४६ प्रतिशत, प्राइम कमर्शियलले २६.०२ प्रतिशत, सानिमाले २५.५९ प्रतिशत, नबिलले २२.७५ प्रतिशत, ग्लोबल आइएमईले १९.८० प्रतिशत, कुमारीले १०.३८ प्रतिशत र राष्ट्रिय वाणिज्यले १.७४ प्रतिशतले सेयर कर्जा लगानी बढाएका छन् ।

रकमका आधारमा नबिल बैंकले सबैभन्दा धेरै ११ अर्ब ४२ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेको छ । त्यस्तै, ग्लोबल आइएमई साढे ७ अर्ब, नेपाल ६ अर्ब ७८ करोड र सिद्धार्थले ५ अर्ब ७८ करोड सेयर कर्जा लगानी गरेका छन् ।

६ बैंकले भने घटाउँदै

गत आवमा १३ वाणिज्य बैंकले सेयर कर्जा लगानी बढाउँदा ६ बैंकले भने उल्टो घटाएका छन् । माछापुच्छ्रे, एनएमबी, लक्ष्मी सनराइज, हिमालयन, प्रभु, एनएमबी र इन्भेष्टमेन्ट मेगा बैंकले सेयर कर्जा लगानी घटाएका हुन् । यी बैंकहरू नयाँ सेयर कर्जा लगानीभन्दा असुलीमा केन्द्रित भएका छन् ।

यस अवधिमा इन्भेष्टमेन्ट मेगाले सबैभन्दा धेरै १ अर्ब १९ करोड रुपैयाँ सेयर कर्जा असुली गरेको छ । यस्तै, प्रभुले एनएमबीले ४५ करोड, हिमालयनले ८६ करोड, लक्ष्मी सनराइजले ३३ करोड, माछापुच्छ्रेले १५ करोड सेयर कर्जा असुली गरेका छन् ।

 

एनआइसी एशियाले ल्यायो 'स्काइ क्लब कार्ड’, यती एयरलाइन्सको टिकटमा १०% छुट पाउने Read Previous

एनआइसी एशियाले ल्यायो 'स्काइ क्लब कार्ड’, यती एयरलाइन्सको टिकटमा १०% छुट पाउने

रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड Read Next

रोकिएन सुनको मूल्य वृद्धि, फेरि बनायो नयाँ रेकर्ड