काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
यसअघि वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०८०र८१ को अन्त्यसम्ममा यस्तो बफर ०.५ प्रतिशत कायम गर्नुपर्ने प्रावधान रहेकामा केन्द्रीय बैंकले चालु आवको साउनदेखि लागू हुने गरी शून्य प्रतिशत कायम गरेको हो ।
यससँगै पूँजीकोषको दबाबमा परेका बैंकहरुलाई राहत मिलेको छ । काउन्टर साइक्लिक बफर शून्य प्रतिशत कायम हुँदा कर्जा विस्तार क्षमता बढ्ने भएको हो । राष्ट्र बैंकको व्यवस्था अनुसार बैंकहरूले जोखिम सम्पत्तिको तुलनामा प्राथमिक पूँजी अनुपात न्यूनतम ८.५ प्रतिशत र कुल पूँजीकोष अनुपात ११ प्रतिशत कायम गर्नुपर्छ ।
साथै २०८४ साल असार मसान्तसम्ममा बैंकहरुले न्यूनतम १५ प्रतिशत कर्जा लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । जसमा यसअघि रु एक करोडभन्दा कम रकमका कर्जा उल्लेख भएकामा संशोधन गरी रु दुई करोड कायम गरिएको छ ।
यसबाट लघु, घरेलु तथा साना एवम् मझौला उद्यमका क्षेत्रमा थप कर्जा प्रवाह भइ आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।