काठमाडौं । अटो महाकुम्भ मेला ‘नाडा अटो शो २०२४’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । अटो क्षेत्र चलायमान बनाउने उद्देश्यले आयोजित अटो शो ६ दिन अर्थात् भदौ १६ गतेसम्म संचालन हुनछ ।
आटो शोमा २३ वटा चारपाँग्रे कार ब्राण्ड, १८ वटा मोटरसाइकल तथा स्कुटर, १४ वटा लाइट कमर्शियल गरी ५५ ब्राण्डले सहभागिता छ ।
अटो शोमा सस्तो मूल्यदेखि महँगा मूल्यका प्रिमियम कारहरू प्रदर्शमा राखिएका छन् । त्यस्तै, दुईपाँग्रेतर्फ साधरणदेखि एडभेन्चर मोटरसाइकल तथा स्कुटर प्रदर्शनीमा राखिएको छ ।
यसपटकको नाडा शोमा विद्युतीय गाडीको वर्चश्व रहेका छन् । अधिकांश ब्राण्डले विद्युतीय कारलाई नै प्राथमिकतामा दिएका छन् । अटो शोमा ग्राहकलाई आकर्षित गर्न बिक्रेताहरूले नगद छुटदेखि विभिन्न आकर्षक अफरैअफर दिएका छन् ।
अटो शोमा सवारी बिक्रेता मात्र नभई बैंक तथा वित्तीय संस्थाहरूले पनि सहभागिता जनाएका छन् । यसपटकको अटो शोमा ८ वटा बैंक तथा एउटा इन्स्यारेन्स कम्पनीले सहभागिता जनाएका छन् ।
अटो शोमा गाडी किन्न आउने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले पनि सस्तो ब्याजमा ऋण उपलब्ध गराउने आकर्षक स्कीम ल्याएका छन् । बैंकहरूले न्यूनतम ७.९९ प्रतिशतमै गाडी किन्न ऋण दिने भएका छन् । बैंकहरूले स्थिर र परिवर्तनीय दुवै ब्याजदमा कर्जा स्कीम ल्याएका छन् । साथै, सेवा शुलकमा पनि भारी छुट दिएका छन् । केही बैंकले ०.२५ प्रतिशत प्रिमियममै सवारी कर्जा दिने भएका छन् ।
बैंकहरूले पनि गाडी बिक्रेताको जस्तै विद्युतीय गाडीमा कर्जा लगानीलाई प्राथमिकतामा राखेका छन् । बैंकहरूले विद्युतीय सवारीमा ८० प्रतिशत र कम्बस्चन गाडी खरिदमा ५० प्रतिशत ऋण दिन्छन् । अर्थात् ग्राहकले विद्युतीय गाडी किन्दा २० प्रतिशत र कम्बस्चनमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्छ ।
कुन बैंकको कस्तो छ अफर ?
ग्लोबल आइएमई बैंक : ग्लोबल आइएमईले नाडा अटो शोलाई लक्षित गर्दै ईभी किन्ने ग्राहकलाई ७.९९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । बैंकले ५ वर्षका लागि स्थिर ब्याजदर ऋण दिने भएको हो । ५ वर्षभन्दा माथि अवधिका लागि भने ८.४९ प्रतिशत ब्याजदर छ ।
यस्तै, कम्बस्चन गाडीमा ५ वर्षसम्मका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको कर्जा योजना ल्याएको छ । ५ वर्षभन्दा माथिको कर्जा अवधि भए ९.४९ प्रतिशतको स्थिर ब्याजदर रहेको बैंकले जनाएको छ । सेवा शुल्क ०.७५ प्रतिशत रहेको बैंकले जनाएको छ ।
नेपाल इन्भष्टमेन्ट मेगा : यस बैंकले ईभी किन्न आधारदरमा १ प्रतिशत प्रिमियम थप गरी कर्जा दिने योजना ल्याएको छ । ७ वर्षको अधिकतम अवधि रहेको कर्जामा ०.५ प्रतिशत सेवा शुल्क रहेको छ ।
५० लाखभन्दा सानो कर्जामा भने कर्जा अवधि ५ वर्षसम्म मात्रै रहेको छ । इन्धनबाट चल्ने गाडीमा भने आधार दरमा २ प्रतिशत प्रिमियम रहेको बैंकले जनाएको छ । यसमा पनि सेवा शुल्क भने ०.५ प्रतिशत छ । इन्भेष्टमेन्टको बेसरेट ७.८२ प्रतिशत रहेको छ ।
लक्ष्मी सनराइज बैंक : लक्ष्मी सनराइजले ईभी किन्ने ग्राहकलाई ८.९९ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने जनाएको छ । उक्त ब्याजदरमा ७ वर्षको लागि फाइनान्सिङ सुविधा दिएको छ । त्यस्तै, इन्धन सवारीमा ८.२५ प्रतिशतको आधारदरमा १.५० प्रतिशत प्रिमियम थप गरेर ९.७५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भएको हो ।
नबिल बैंक : नबिलले पनि ५ वर्ष र ७ वर्षका लागि स्थिर ब्याजदरमा फरक–फरक अफर ल्याएको छ । ५ वर्षको कर्जा ८.२५ प्रतिशत ब्याजदर र ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने छ । यो अफर कर्जा विद्युतीय र इन्धन दुवै सवारीसाधनमा लागू हुने बैंकले जनाएको छ ।
त्यस्तै, ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदरमा स्थिर कर्जा उपलब्ध गराउने भएको हो । यसमा पनि सेवा शुल्क ०.७५ प्रतिशत मात्रै लाग्ने नबिलले जनाएको छ ।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रले नाडा अटो शोमा गाडी खरिद गर्नेलाई ९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने भएको छ । अधिकतम ८ वर्षका लागि यस्तो कर्जा उपलब्ध गराउने बैंकले जनाएको छ । यस्तै, बैंकले विद्युतीय सवारी साधनको खरिदमा ६ वर्षसम्मको लागि फाइनान्सिङ सुविधा दिने जनाएको छ । बैंकले ०.२५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाएको छ ।
सानिमा बैंक : सानिमाले ईभी किन्न ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । बैंकले सवारी कर्जामा ०.२५ प्रतिशत मात्रै सेवा शुल्क लिने जनाएको छ ।
हिमालयन बैंक : हिमालयनले इन्धन गाडी किन्ने ग्राहकलाई बेसरेटमा ०.६५ प्रिमियम थपेर ऋण उपलब्ध गराउने भएको छ । बैंकको बेसरेट ८.८६ प्रतिशत छ । सो अनुसार ९.५१ प्रतिशतमा सवारी कर्जा उपलब्ध गराउने भएको छ ।
त्यस्तै, हिमालयनले विद्युतीय सवारी खरिदका लागि ०.५० प्रतिशत प्रिमियममै कर्जा दिने भएको छ । यस अनुसार बैंकले ईभी किन्न ९.३६ प्रतिशतमै कर्जा उपलब्ध गराउने भएको हो । बैंकले ०.५ प्रतिशत सेवाशुल्क लिने जनाएको छ ।
महालक्ष्मी विकास बैंक : विकास बैंकतर्फ एक मात्र सहभागी महालक्ष्मी विकास बैंकले व्यक्तिगत सवारीसाधन किन्नेलाई ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ । यो ब्याजदर २ वर्षसम्मको लागि लागू हुने बैंकले जनाएको छ ।