काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ ५ गते सुनको भाउ प्रतितोला १ लाख ५३ हजार रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५१० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेर १८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।