काठमाडौं । लक्ष्मी बैंकको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्न प्रस्ताव गरेको लाभांश लगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभामा राखेको थियो ।
बैंकको हाल ८ अर्ब ९२ करोड ५ लाख चुक्तापूँजी छ । बोनस वितरण पछि बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै साधारण सभाले संस्थापक शेयरधनीका तर्फबाट मनोनित सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।
लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।