काठमाडौं । सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्ने ६.५७ प्रतिशत नगद लाभांश पारित गरेको छ ।
साथै सभाले २०७६/७७ को लेखा परीक्षण गर्नको लागि एनबीएसएम एण्ड एशोसिएटस्लाई लेखापरीक्षकमा नियुक्त गरेको छ । यस्तै बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति (एक्विजिसन ) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०२ र एटीएम संख्या ७६ पुगेको छ ।